एनपिएल अष्ट्रेलियाको पाँचौं संस्करणमा कृष्ण कार्की सबैभन्दा महँगा खेलाडी
सिड्नीमा आयोजना हुने नेपाल प्रिमियर लिग (एनपिएल) अष्ट्रेलिया पाँचौं संस्करणमा कृष्ण कार्की सबैभन्दा महँगा खेलाडी बनेका छन्।
पाँचौँ संस्करणको तयारीस्वरूप सम्पन्न खेलाडी अक्सनमा कृष्ण कार्की २ हजार २ सय अष्ट्रेलियन डलरमा अनुबन्धित हुँदै सबैभन्दा महँगा खेलाडी बने। साहिल खान २ हजार १ सय अष्ट्रेलियन डलरमा अनुबन्धित हुँदै दोस्रो सर्वाधिक मूल्यका खेलाडी बनेका छन्।
योसँगै यस सिजनदेखि मार्कक्यु होम्स रारा रोयल्स थपिएसँगै प्रतियोगितामा सहभागी टोलीको संख्या ४ बाट ५ पुगेको छ। गत सिजनमा नेपाली राष्ट्रिय टोलीका सन्दीप लामिछाने र अविनाश बोहराले प्रतियोगितामा सहभागिता जनाएका थिए।
त्यस्तै, पाकिस्तानी समुदायका इरफान जुनियर र भारतीय समुदायका हरजाश सिंहले पनि प्रतियोगितामा खेलेका थिए।
यस सिजनको प्रतियोगिता अगस्टको दोस्रो सातादेखि सुरु हुने जनाइएको छ। एनपिएल अष्ट्रेलियाका व्यवस्थापक राम श्रेष्ठले प्रतियोगिताले अष्ट्रेलियामा नेपाली समुदायको क्रिकेटलाई नयाँ उचाइमा पुर्याउँदै गएको बताए।
‘खेलाडी अक्सन सफलतापूर्वक सम्पन्न भएको छ। अब सबैको ध्यान अगस्टको दोस्रो सातादेखि सुरु हुने प्रतियोगितातर्फ केन्द्रित भएको छ,’ उनले भने, ‘यस पटक अझ प्रतिस्पर्धात्मक र व्यवस्थित लिग आयोजना गर्ने तयारी गरेका छौं।’















तपाईको प्रतिक्रिया