साउदी जानेलाई नयाँ सिप परीक्षणले व्यवस्थाले अन्योल, ५० डलर शुल्क कसले तिर्ने भन्ने विवाद
काठमाडौं/ साउदी अरबले जुलाई १ देखि नेपालसहित केही मुलुकबाट जाने श्रमिकका लागि अनिवार्य सिप परीक्षण (एसभिपी) लागू गरेपछि नेपाली श्रमिकमा अन्योलता बढेको छ।
यसमा विशेषगरी ५० अमेरिकी डलरको परीक्षण शुल्क कसले तिर्ने भन्ने विषयमा विवाद हो।
साउदी सरकारले निर्माण क्षेत्र, सामान लोड-अनलोड, भारी बोक्ने, ठेला चलाउनेलगायत पाँच प्रकारका श्रमिकका लागि सिप परीक्षण अनिवार्य गरेको छ।
परीक्षणमा उत्तीर्ण भएपछि मात्रै भिसा प्रक्रिया अगाडि बढ्ने व्यवस्था गरेको छ। यसका लागि काठमाडौंमा एसभिपी परीक्षण केन्द्र स्थापना भइसकेको छ।
साउदी सरकार र परराष्ट्र मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेलले परीक्षण शुल्क रोजगारदाता कम्पनीले व्यहोर्नुपर्ने व्यवस्था भएको बताए।
तर वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष डिकबहादुर खत्रीले व्यवहारमा भने रोजगारदाता कम्पनीले शुल्क नतिरेको बताए।
‘सीप परिक्षण गर्न भनेर फेरि श्रमिकमाथि ५० अमेरिकी डलर भार थपिएको छ,’ उनले भने, ‘यो व्यवस्था तत्काल स्थगित गर्न माग गर्दै सम्बन्धित निकायमा ध्यानाकर्षण गराएका छौं।’
यसबीच नेपाल सरकारको टोलीले काठमाडौंस्थित एसभीपी केन्द्रमा अनुगमन गरी केही दिनअघि केन्द्रमा तालाबन्दी गरेको छ।
हाल साउदी रोजगारीमा जान एक नेपाली श्रमिकले विभिन्न शीर्षकमा करिब ४५ हजार रुपैयाँभन्दा बढी खर्च गर्नुपर्ने अवस्था छ। त्यसमा सिप परीक्षण शुल्क पनि श्रमिकले नै तिर्नुपर्ने अवस्था आए आर्थिक भार अझ बढ्ने चिन्ता सरोकारवालाले व्यक्त गरेका छन्।
सरोकारवालाले शुल्क रोजगारदाता कम्पनीबाटै सुनिश्चित गराउने र साउदी सरकारसँग कूटनीतिक पहल गरी समस्या समाधान गर्न नेपाल सरकार सक्रिय हुनुपर्ने बताएका छन्।















तपाईको प्रतिक्रिया