Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा बढ्दै कोरोना, यस्तो छ महामारीको कारण र समाधान

नेपालमा बढ्दै कोरोना, यस्तो छ महामारीको कारण र समाधान


काठमाडौं । पछिल्लो समय नेपालमा बढ्दै गरेको कोरोनाको तथ्यांकले अब कोरोना संक्रमणको दर बढ्ने र यसले अझै केही समय नेपालीहरुलाई दुःख दिने आँकलन गरिदैछ । हुन त यो सम्भावनालाई प्रधानमन्त्री केपी शर्मा ओलीले पनि स्वीकार गर्दै थप सतर्क हुन आम देशवासीलाई आह्वान गर्नुभएको छ ।

कोरोना संक्रमणका १२, १५ केस आउँदासम्म स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल र सरकारी स्वास्थ्य विज्ञहरुले दाबी गर्थे नेपालमा एक सय भन्दा बढी कोरोना संक्रमित पुग्न दिन्नौँ, कसैले पनि कोरोनाका कारण मर्नुपर्दैन । तर पछिल्लो डेढ महिनाको कोरोना संक्रमणको ग्राफले यो दाबीलाई गलत साबित मात्रै गरेन, सरकारको कमजोर आँकलनले जोखिम समेत बढाएको छ । जेठ महिनाको १३ दिनमा मात्रै ५ सय ३९ जना कोरोना संक्रमित पहिचान भएको नेपालमा दिनहुँ संक्रमितहरु बढिरहेका छन् । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीमा समेत संक्रमण सर्दा समूदायस्तरमा महामारी फैलिने हो कि भन्नै त्रासदी पैदा भएको छ ।

नेपालमा कोरोना बढ्नुका केही तथ्य र रोकथामका सम्भावित उपाय बारे यहाँ केही तथ्यहरु केलाउने प्रयास गरेका छौँ ।

फागुन ३ देखि चैत २९ गतेसम्म झण्डै २ महिनासम्म संक्रमितको संख्या दोहोरो अङ्कमा ननाघ्दा र मानवीय क्षतिबेगर बन्दाबन्दीको पालना भएकोमा विश्व स्वास्थ्य संगठनले अति जोखिमबाट जोखिमको तहमा प्रगति भएको उल्लेख गर्यो । तर, नयाँ बर्षको पहिलो हप्ता बितेसँगै महामारीको संक्रमण तिब्र गतिमा विस्तार भयो । संक्रमण तिब्र गतिमा बढ्दा जेठ १३ गतेसम्म ७ सय ७२ मा संक्रमण पुष्टि भएको छ भने चार जनाले कोरोनाकै कारण ज्यान गुमाउनुपरेको छ । प्रधानमन्त्री ओलीले छिमेकी मुलुक भारतबाट स्वदेश फर्कने नेपालीहरूको बिनास्वास्थ्य परीक्षण सीमा पार गर्नुपर्ने अवस्थाप्रति आपत्ति जनाएको घटनाले समेत कोरोना बढ्नुको कारण उजागर गर्न खोजेको छ ।

विश्व स्वास्थ्य संगठनको प्रोटोकलअनुरुप घर फर्किनेहरूको सीमा पार गर्नुअघि अनिवार्य परीक्षण हुनुपर्ने भए पनि प्रोटोकलअनुरुप स्वास्थ्य परीक्षणबिना नै नेपालीहरू सीमा पार गरिरहेका छन् । स्वास्थ्य परीक्षण बिना भीडभाड गरेर स्वदेश फर्किनुपर्ने नेपालीहरुको बाध्यताले महामारीलाई समुदायस्तरमा फैल्याएको आँकलन सरकारसँगै यतिबेला आम नागरिकले गरिरहेका छन् । अहिले मुलुक बाहिर रहेका घर फर्कने चाहने नेपालीहरूको संख्या बढेको भन्दै नेपालीहरू ठूलो संख्यामा कार्यरत रहेका गन्तव्य मुलुकका सरकार तथा राष्ट्र प्रमुखसँग प्रधानमन्त्री आफैले गम्भीर संवाद मार्फत अप्ठ्यारोमा परेका नेपालीहरूलाई सहयोग गर्ने विषयमा निश्चिन्त पारेको दाबी गरिरहनु भएको छ । तर अझैपनि भारतबाट दैनिक दशौँ हजार नेपालीहरु स्वदेश फर्किरहेका छन् ।

अहिले पनि क्वारेन्टाइनमा ५५ हजार बढी रहेका छन् । क्वारेन्टाइनमा बस्नेहरु प्राय भारतबाट आएकाहरु नै छन् । अझ पछिल्लो समय करिब ५० संक्रमित बाहेक अधिकांश भारतबाट स्वदेश फर्किएकाहरु नै छन् । केही केही स्थानमा खुल्ला सीमाको फाइदा उठाउँदै लुकिछिपि आउनेहरुका कारण संक्रमण समूदायस्तरमा सर्ने खतरा छ भने थुप्रै स्थानमा भद्रगोल क्वारेन्टाइनबाटै संक्रमण बिस्तार हुने देखिएको छ । जनस्वास्थ्यविद डा.रविन्द्रनाथ पाण्डेय नेपालमा कोरोना संक्रमणको दर उच्च देखिनुमा भारतबाट स्वदेश फर्किएका नेपालीहरु भएको बताउँनुहुन्छ । अहिले नै कोरोनाले महामारीको रुप लियो भन्न नमिल्ने डा. पाण्डेयको तर्क छ ।

भारतमा पछिल्लो समय एकै दिन ६ हजार बढीको संख्यामा संक्रमित पहिचान भैरहेका छन् । तिब्र गतिमा फैलिएको संक्रमणले हरेक व्यक्ति एक अर्कालाई संक्रमितको नजरले हेर्नुपर्ने अवस्थामा छन् । त्यही भारतबाट स्वदेश फर्किनेहरुमा पहिचान भैरहेको कोरोना समुदायस्तरमा फैलिने खतरा नेपालमा पनि कायमै रहेको कतिपय स्वास्थ्य क्षेत्रका विज्ञहरु दाबी गरिरहेका छन् । जनस्वास्थ्यविद डा. पाण्डेय भारतबाट आउनेहरुमा सिमित देखिएको कोरोना अपबाद बाहेक समूदाय स्तरमा सरेको नभएपनि भारतबाट आउनेलाई रोक्न वा व्यवस्थित तरिकाले ल्याउन नसक्ने हो भने नेपालका लागि ठूलो खतरा बन्नसक्नेतर्फ सरकारलाई सचेत गराउनुहुन्छ ।

पछिल्लो पटक भारतबाट आउनेहरुमा तिब्र रुपमा पहिचान भैरहेको कोरोना संक्रमण, भीडभाड र भद्रगोल क्वारेन्टाइन, अस्तव्यस्त आइसोलेसन र बन्दाबन्दीमा भैरहेको ओहोरदोहोरले नेपालमा थप महामारी बढाउने हो कि भन्ने चिन्तामा आम नागरिक मात्रै होइन्, स्वयम प्रधानमन्त्री पनि देखिनु भएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6