Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsमुख्य खबर : प्रधानमन्त्री ओली घेराबन्दीमा,सलह र कोरोना कहरकाबीच पर्यटनमा चासो

मुख्य खबर : प्रधानमन्त्री ओली घेराबन्दीमा,सलह र कोरोना कहरकाबीच पर्यटनमा चासो


काठमाडौं । कोरोना र सलहको प्रकोपकाबीच सत्तारुढ दल नेकपामा रडाको मच्चिएको छ । प्रधानमन्त्री ओली अन्तिम समयसम्म भिड्ने तयारीमा देखिदा शिर्ष नेताहरु हटाउने पक्षमा छन् । अर्कोतर्फ नेपाली सेनाका दुई अधिकृत कारबाहीमा परेका छन् । नेपालको हिमाली पहाडी पदयात्राबारे विदेशी पर्यटकले चासो देखाउँदा सरकार भने अलमलमा देखिन्छ । जुलाई १ मा नेपालमा प्रथमिकता पाएका प्रमुख ५ खबरहरु यस्ता छन् ।

नेकपामा रडाको, प्रधानमन्त्री संकटमा
प्रधानमन्त्री केपी शर्मा ओली पार्टी र सरकार सञ्चालनमा स्वेच्छाचारी भएको भन्दै नेकपाका शिर्ष नेताहरुले बलियो गुटबन्दी गरेका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षका नेताहरुको भेलाले पार्टी र सरकार सञ्चालनमा अध्यक्ष केपी शर्मा ओलीको स्वेच्छाचारिता अन्त्य गर्ने निष्कर्ष निकालेको हो । सत्तारुढ नेकपाभित्रको विवाद उत्कर्समा पुगेसँगै प्रधानमन्त्री ओली आफू निकट मन्त्री नेतासँगको भेलामा व्यस्त देखिएका छन भने अध्यक्ष दाहाल, बरिष्ठ नेता नेपाल, झलनाथ खनाल, बामदेव गौतम, भीम रावल लगायतका नेताहरुले छुट्टै मोर्चाबन्दी थालेका छन् ।

नेपाल–दाहाल पक्षीय नेताहरु अब ओलीको नेतृत्वमा सरकार र पार्टी सञ्चालन हुन नसक्ने निष्कर्ष सहित राजीनामालाई बटम लाइन बनाएका छन् । पार्टी र सरकार सञ्चालनमा ओलीको स्वइच्छाचारिताको अन्त्य हुनुपर्ने, पार्टी विधि प्रक्रियाबाट अघि बढ्नुपर्छ भन्नेमा ४५ स्थायी समिति सदस्य मध्ये ३० जना देखिएका छन् । प्रधानमन्त्री ओली विरुद्ध एकजुट भएका नेताहरु पर्टी फुटाउन नदिनेगरी बाँकी कदम चाल्ने योजनामा छन् । यता प्रधानमन्त्री ओलीले समेत आफू निकटका मन्त्री तथा नेताहरुको भेला गराएर अन्तिम समयसम्म लड्ने निष्कर्ष निकालेका छन् । नेकपाको रडाकोले थप द्धन्द्ध निम्त्याउँछ वा साम्य हुन्छ, अहिले नै यसै भन्न् अवस्था छैन ।

बढ्दै सलहको प्रकोप
असार १३ अर्थात शनिबारबाट सलह नेपाल प्रवेश गरेकोमा आइतबार र सोमबार समेत थप झुण्ड भित्रिएको छ । अहिले नेपालमा करिब ३५ लाख हाराहारिमा सलह भित्रिएको अनुमान प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले गरेको छ । यतिनै सलह आएको छ भन्ने एकिन भने गर्न सकिएको छैन । मरुभुमी सलहका रुपमा चिनिने, लाखौँ करोडौँको संख्यामा समूहमा हिड्ने यो किरा चिसोमा बस्न नसक्ने भनिएपनि हिमालपारिको जिल्ला मुस्ताङसहित ५२ बढी जिल्लामा विस्तार भएको छ । भारतबाट प्रवेश गरेको सलह तराई, पहाड हुँदै हिमाली जिल्लासम्म पुगेको देखिन्छ । यसको जोखिम देशको पश्चिमका जिल्लाहरुमा सबैभन्दा बढी छ । पानी परिरहँदा सबै सलहको झुन्ड खेतबारीमा पुगेको छैन ।

सोमबार साँझ रुपन्देहीमा प्रवेश गरेको झुन्ड अहिलेसम्मकै ठूलो पहिचान भएको छ । उक्त झुन्डमा २०, २५ लाखको संख्यामा सलह रहेको अनुमान गरिएको छ । केही जिल्लाको मकै बाली, केरा, तरकारी लगायतका खेतीमा क्षती पुगेपनि अहिले नै बालिनालीमा सलहको ठूलो क्षति र जोखिम देखिएको छैन । गत शनिवार भारतको विहार हुँदै नेपाल प्रवेश गरेको सलह असार १३ गते नै बारा, पर्सा, सर्लाही, मकवानपुर, सिन्धुली, रुपन्देही, कपिवस्तु, पाल्पामा फैलिएको थियो । १४ गते महोत्तरी, स्याङ्जा, दाङ, कपिलवस्तु, कास्की, पाँचथर, उदयपुर खोटाङमा पुगेकोमा असार १५ गते चितवन, रामेछाप, काभ्रे, काठमाडौं उपत्यका, प्युठान, गुल्मी, कैलाली, रोल्पासम्म फैलियो ।

केही स्थानमा खेतीबाली नस्ट गरेपनि बाँकी स्थानमा जंगलमा बसेको आधारमा विज्ञ टोलीले थप उडानको टे«सिङ गरिरहेको छ । बुधबार तथा बिहिबार समेत भारतबाट थप झुण्ड नेपाल भित्रिनेतर्फ प्लान्ट क्वारेन्टिन तथा विशादी व्यवस्थापन केन्द्रले सतर्क रहन अनुरोध गरेको छ ।

बढ्दै संक्रमण, ४६५६ जनाले जिते कोरोना
पछिल्लो २४ घण्टामा उच्च रेकर्ड बनाउँदै १ हजार ४६२ जना कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज भए । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४ हजार ६५६ पुगेको छ । मंगलबार ६० जनाले कोरोना जितेका थिए । बुधबार अर्थात जुलाई १ तारेखमा ४८२ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ ।

१४ हजार बढी संक्रमितमध्ये २ हजार ६१ जना १८ वर्षमूनिका संक्रमित रहेको र सुदूरपश्चिममा अहिलेसम्म १ सय ७५ जना संक्रमित ९ वर्षमूनिका छन् । उनीहरु आफ्ना आमाबुबासँग भारतबाट आएका बालकालिका हुन् । पछिल्लो २४ घण्टामा ४ हजार ८ सय ८६ पीपीआर परीक्षण गरिएको छ । अहिलेसम्म देशभर २ लाख ३३ हजार २ सय २७ पीसीआर परीक्षण भएको छ । देशभर क्वारेन्टाइनमा ४८ हजार ३ सय ६२ जना रहेका छन् ।

पहाडी र हिमाली पदयात्रामा पर्यटकको चासो
नेपालको पदयात्रा र पर्वतारोहणमा विदेशी पर्यटकले चासो देखाउन थालेका छन् । पर्यटन व्यवसायीहरूका अनुसार कोरोना संक्रमण नियन्त्रण गर्न सफल चीन र युरोपका केही देशका पर्यटकले नेपालको अवस्थाबारे जिज्ञासा राख्न थालेका हुन् । खासगरी घनाबस्ती नभएका पहाडी र हिमाली पदयात्रा मार्गको अवस्थाबारे उनीहरुले सोधखोज गरेका छन् । होटेल संघ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाहका अनुसार दक्षिण एसियामा नेपालप्रति पर्यटकको बढी चासो देखिएको छ ।

लामो समय घरमा बस्नुपर्दा दिक्क भएका विदेशीहरूले नेपालको स्वच्छ, शान्त र एकान्त ठाउँहरू सम्झदै आउने इच्छा जाहेर गर्न थालेका छन् । कोरोना महामारी विश्वव्यापी बनेपछि विश्वका शतप्रतिशत पर्यटक गन्तव्य बन्द भएपनि अहिले कोरोना नियन्त्रण गरेका र नियन्त्रणभित्रै राख्न सफल केही मुलुकले विदेशी यात्रुमाथि लगाएको प्रतिबन्ध हटाउन थालेका छन् । संयुक्त राष्ट्र संघीय विश्व पर्यटन संगठन (यूएनडब्लूटीओ)का अनुसार संसारका ४८ देशले विदेशी पर्यटकमाथिको प्रतिबन्ध हटाएका छन् । यीमध्ये अधिकांश युरोपेली मुलुक छन् । नेपाल भने पर्यटक आगमनमा कडा प्रतिबन्ध कायम राखेको मुलुकको सूचीमै छ ।

सैनिक अधिकृत बर्खास्त
नेपाली सेनाले सहायक रथी सुरेन्द्रसिंह रावल र महासेनानी अनिल खड्कालाई बर्खास्त गरेको छ । आचरण विपरीतको गतिविधिमा संलग्न भएको अभियोगमा सैनिक अदालतले सहायक रथी रावल र महासेनानी खड्कालाई बर्खास्त गरेको हो । जनरल सैनिक समरी अदालतले दुवै अधिकृतमाथि माथिल्लो तहबाट भएको आदेश पालना नगरेको, नीति निर्देशन अवज्ञा गरेको, सैनिक अनुशासन उल्लंघन गरेको लगायतका आचरण विपरित कसुरमा दोषी ठहर गरेको छ ।

बर्खास्त भएका सहायक रथी रावल अमेरिकाबाट भर्खर मात्रै वार कलेज सकेर फर्किएका थिए । महासेनानी खड्का वार कलेजका लागि मनोनयनमा परेका थिए । नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले दुवै अधिकृतलाई सैनिक अदालतको फैशला अनुसार बर्खास्त गरिएको जानकारी दिए । यसअघि गत जेठ ९ गतेमात्रै पाँच सैनिक जनरल सैनिक समरी अदालतबाट कारबाहीमा परेका थिए ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6