Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : यी हुन्,प्रमुख पाँच खबर

नेपाल अपडेट : यी हुन्,प्रमुख पाँच खबर


काठमाडौं । अधिकांश जिल्लाहरुमा लकडाउन भएकै समयमा कोरोना संक्रमण र मृत्युदर बढ्दो क्रममा देखिएको छ । कुमारीको रथ यात्रा प्रभावित हुँदा थप महामारी रोक्न भन्दै विभिन्न कदमहरु चालिएका छन् । यस्ता छन पछिल्ला प्रमुख पाँच खबर ।

उपत्यकामा एकसाता लम्बियो निषेधाज्ञा
करिब दुई सातादेखि जारी रहेको काठमाडौं उपत्यकाको निषेधाज्ञा फेरी एकसाता लम्बिएको छ । गृह मन्त्रायलसँग छलफल गरेपछि उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा थप्ने निर्णय गरेका हुन् । तेस्रो पटक थप एकसाता निषेधाज्ञा लम्ब्याउने निर्णय गरिएसँगै अब, काठमाडौं उपत्यकामा भदौ २४ सम्म सुनसान हुने भएको छ । अब निर्माण सामग्री ढुवानी र होटल, रेष्टुरेण्टको ‘टेक अवे’ सेवा खुल्ला हुनेछ । भन्सार तिरेका गाडी र मोटरसाईकल काठमाडौं उपत्यकामा ल्याउन छुट दिइएको छ । स्वास्थ्य मापदण्ड पुरा गरेर कारखाना भित्रै मजदुर राख्नेगरी उद्योग धन्दा संचालन गर्न पाउने निर्णय गरिएको छ । खाद्यान्न र अत्यावश्यक सेवा विहान ११ बजेसम्म खोल्न छुट दिइएको छ । थप गरिएको निषेधाज्ञा अवधिमा आइसोलेशन सेन्टर बढाउने, कन्ट्याक्ट ट्रेसिङ र टेष्टको दायरा बढाउने स्थानीय प्रशासनले जानकारी दिएका छन् ।

बढ्दै शहरकेन्द्रित संक्रमण र मृत्युदर
पछिल्लो २४ घण्टामा १ हजार १ सय २० जना संक्रमित थपिएसँगै देशभर कुल संक्रमितको संख्या ४१ हजार ६ सय ४९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ सय २० महिला र ८ सय पुरुष संक्रमित थपिएका हुन् । काठमाडौं उपत्यकामा थप ३ सय ८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा ३ सय ५०, ललितपुरका २९ र भक्तपुरका ९ जना रहेका छन् । यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १ सय ८ पुग्दा संस्थागत आइसोलेशनमा १० हजार ४ सय ९३ र होम आइसोलेशनमा ७ हजार ६ सय १५ जना रहेका छन् । पछिल्लो २४ घण्टामा १ हजार १ सय १२ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएसँगै कोरोना जित्नेहरुको संख्या २३ हजार २ सय ९० पुगेको छ । पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएसँगै मृतकको संख्या २ सय ५१ पुगेको छ ।

उपत्यका प्रवेश गर्न पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य
उपत्यकाका तीन जिल्ला प्रवेश गर्न अब कोरोना परिक्षणको पीसीआर नेगेटिभ रिपोर्ट पेश गर्नुपर्ने भएको छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले बुधबार एकै व्यहोराको निषेधाज्ञाको आदेश जारी गर्दै अत्यावश्यक कामका लागि काठमाडौं उपत्यका प्रवेश गर्दा पीसीआर रिपोर्ट अनिवार्य नेगेटिभ भएको हुनुपर्ने व्यवस्था गरी प्रबेशमा थप कडाई गरेका हुन् । औषधि, खाद्यवस्तु, पेट्रोलियम पदार्थ, तरकारी, फलफूल, दूध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टिन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन, अस्पताल आउने जाने बिरामी, दाहसंस्कारका लागि अनिवार्य सहभागी हुनुपर्नेजस्ता कामलाई सरकारले अति आवश्यक सेवामा राखेको छ । जिल्ला प्रशासनको निर्णयअनुसार यी कामका लागि काठमाडौं उपत्यका आउनेले पनि अनिवार्य पीसीआर नेगेटिभ भएको रिपोर्ट पेश गर्नुपर्नेछ ।

नयाँ श्रम स्विकृतीका लागि एनओसी अनिवार्य
वैदेशिक रोजगारीमा जान चाहने नयाँ श्रमिकले श्रम स्विकृती लिन रोजगारदाता कम्पनीको नो अब्जेक्सन सर्टिफिकेट(एनओसी) पेश गर्नुपर्ने भएको छ । वैदेशिक रोजगार कार्यालयले बुधबार एक सुचना जारी गर्दै नयाँ श्रम स्विकृतीका लागि रोजगारदाता कम्पनीले आफ्नो आधिकारिक इमेलबाट हालै जारी भएको एनओसी वैदेशिक रोजगार कार्यालयलाई पठाएको हुनुपर्ने शर्त राखेको हो । सरकारले भर्खरै मात्र नयाँ श्रम स्विकृती दिने निर्णय गरेको थियो । लकडाउन र कोरोना भाइरसको महामारीका कारण वैदेशिक रोजगारीका प्रमुख गन्तव्य मुलुकमा हजारौँ नेपाली अलपत्र भइरहेका बेला वैदेशिक रोजगारीका लागि पुन श्रम स्विकृती लिनेको संख्या पनि उल्लेख्य देखिएको छ ।

कोरोना महामारिका कारण प्रतिकात्मक रथ तानेर मनाइयो इन्द्रजात्रा
काठमाडौँको प्रसिद्ध इन्द्रजात्रा थोरै मानिसको बिचमा कुमारीको प्रतिकात्मक रथ तानेर सम्पन्न गरिएको छ । कोरोना महामारीले स्थगीत भएको जात्रालाई स्थानीयले सामान्य रुपमा प्रतिकात्मक रथ तानेर सम्पन्न गरेका हुन् । ८ दिन ९ रात लामो हुने कुमारी जात्राका क्रममा स्थानीयले कम मानिसको सहभागितामा प्रतिकात्मक रथ बनाएर बस्ती परिक्रमा गराएका थिए ।

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6