Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : पढ्नैपर्ने यी प्रमुख खबर

नेपाल अपडेट : पढ्नैपर्ने यी प्रमुख खबर


काठमाडौं । कोभिडको जोखिम, विदेशमा समस्यामा परेका सबै नेपालीको उद्धारमा संसदिय समितिले दिएको दबाब, कोरोना प्रभावित सबै क्षेत्र खुलाउने तयारी, विश्व बैंकबाट करोडौँको परियोजना स्विकृत तथा चितवनको गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणका लागि महानगरको सहयोग लगायत प्रमुख पाँच खबर यस्ता छन् ।

कोरोना अपडेट
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय १३ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७६ हजार २ सय ५८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ७ सय ९१ जना देशका विभिन्न अस्पतालबाट डिस्चार्ज भएसँगै कोरोना जित्नेहरुको संख्या ५५ हजार ३ सय ७१ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या २० हजार ३ सय ९६ पुग्दा ५ हजार ७ सय ७८ जना क्वारेन्टिनमा छन् । पछिल्लो २४ घण्टामा १० हजार ८ सय ९१ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ सय ९१ पुगेको छ ।

विदेशमा समस्यामा परेका सबै नेपालीको उद्धार गर्नु
संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले गैरकानुनी बाटोबाट विदेश गएका नेपालीहरुको समेत उद्धार गर्न सरकारलाई निर्देशन दिएको छ । विदेशमा अप्ठेरोमा परेका नेपालीको उद्धार गर्दा गैरकानुनी बाटोबाट गएकाहरुलाई प्राथमिकता नदिइएको भन्दै संसदीय समितिले उनीहरुलाई पनि तत्काल उद्धार गर्न निर्देशन दिएको हो । समितिले गृह, श्रम र परराष्ट्र मन्त्रालयलाई गैरकानुनी बाटोबाट विदेश पठाउने व्यक्ति र संस्थालाई मानवओसारप्रसार सम्बन्धी प्रचलित कानुन बमोजिम कडा कारबाही गर्न समेत निर्देशन दिएको छ । स्वदेश फिर्ता गर्ने सम्बन्धी निर्देशिका २०७७ संशोधन गरेर एकचोटी श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकाहरु जुनसुकै कारणले विदेशमा अलपत्र परे पनि वैदेशिक रोजगार कल्याणकारी कोषको रकम प्रयोग गरी स्वदेश फर्काउन समितिले भनेको छ । विदेशबाट नेपाली फर्काउन उडान संख्या थप्न पनि समितिले सरकारलाई निर्देशन दिएको छ ।

कोभिडका कारण बन्द सबै क्षेत्र खुलाउने तयारी
सरकारले कोरोना भाइरस (कोभिड–१९) का कारण बन्द रहेका सबै क्षेत्रलाई खुला गर्ने तयारी गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)को निर्देशक समितिले बन्द रहेका क्षेत्रहरु सञ्चालन गर्ने सम्बन्धमा प्रस्ताव ल्याउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएर सबै क्षेत्र खुलाउने तयारी गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले खोल्न बाँकी रहेका सेवाहरुबारे सम्बन्धित मन्त्रालयले विस्तृत अध्ययन गरेर त्यसको स्थिति के छ र के कसरी सञ्चालन गर्न सकिन्छ भन्ने बारे प्रस्ताव तयार गर्ने र छलफलबाट निर्णयमा पुग्ने जानकारी दिनुभयो । अहिले विद्यालय तथा शैक्षिक संस्थाहरु, समूहमा खेलिने खेल तथा त्यसको प्रशिक्षण, मनोरञ्जन स्थल तथा सिनेमा हल, सैलुन, व्युटीपार्लर तथा जिम, धार्मिक स्थल लगायतका क्षेत्र बन्द छन् ।

विश्व बैंकबाट १७ अर्ब ६४ करोडको परियोजना स्विकृत
विश्व बैंकले मंगलबार नेपालको शहरी सेवा प्रवाह सुधार तथा पूर्वाधार विकास सम्बन्धी १ सय ५० मिलियन डलर (१७ अर्ब ६४ करोड रुपैयाँ) बराबरका परियोजना स्वीकृत गरेको छ । विश्व बैंकले संघीयता कार्यान्वयन प्रभावकारी बनाउने उद्देश्यसहित यी परियोजना स्वीकृत गरिएको जानकारी दिएको हो । नगरपालिकाहरुको क्षमता अभिवृद्धि र पूर्वाधार विकासमा यो सहायता उपयोग गरिनेछ । विश्व बैंकका नेपाल, श्रीलंका तथा माल्दिभ्सका लागि निर्देशक फारिस हदद जार्भोसले तिब्र शहरीकरण, संघीयता र कोभिड १९ को सन्दर्भमा नेपाली शहरी इलाकाबाट हुने सेवा प्रवाहलाई प्रभावकारी बनाउन र महामारीको प्रभाव कम गर्न समेत यी परियोजना महत्वपूर्ण हुने उल्लेख गरेका छन् । पूर्वी तराईका प्रदेश नं १ र २ का नगरपालिका तथा पश्चिममा गण्डकी प्रदेश र प्रदेश नं ५ का नगरपालिकाहरुमा परियोजना केन्द्रित हुने विश्व बैंकले जनाएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई महानगरको ५० लाख
निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि भरतपुर महानगरपालिकाले ५० लाख हस्तान्तरण गरेको छ । महानगरपालिका प्रमुख रेनु दाहालको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसलाई रङ्गशाला निर्माणका लागि ५० लाखको चेक हस्तान्तरण गर्नुभएको हो । महानगरपालिकाले आन्तरिक स्रोतबाट विनियोजित ४ करोड मध्ये पहिलो चरणमा ५० लाख प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत जोशीले जानकारी दिनुभयो । क्रिकेट रङ्गशाला कोरोना कहरका बीचमा पनि तीव्र गतिमा अगाडि बढिरहेको बताउँदै निर्माण प्रगतिका आधारमा विनियोजित मध्येको रकम थप्दै लग्ने योजना महानगरले बनाएको छ । महानगरपालिका प्रमुख दाहालले फाउण्डेसनले सन्तोषजनक ढङ्गले निर्माणको काम अगाडि बढाइरहेकोमा खुशी व्यक्त गर्नुभयो । भरतपुर महानगरपालिका वडा नम्बर १५ रामपुरमा रङ्गशाला निर्माणको काम भइरहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6