Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअमेरिकी राष्ट्रपतिमा बाइडेनको जित निश्चित

अमेरिकी राष्ट्रपतिमा बाइडेनको जित निश्चित


गणेश थापा/क्यालिफोर्निया

संयुक्त राज्य अमेरिकाको नयॉ राष्ट्रपतिमा जो बाइडेनको जित सुनिश्चित भएको छ । ब्याटलग्राउण्ड मानिएको राज्य मिसिगनमा बाइडेनले जित हासिल गरेसँगै अमेरिकाको ४६औं राष्ट्रपतिमा बाइडेनको नाम अब निश्चित प्रायः छ । १६ इलेक्टोरल मत रहेको सो राज्यमा केहीवेर अगाडि सम्पन्न मतगणनाको अन्तिम नतीजा बाइडेनको पक्षमा आएको छ । योसँगै उनले कूल २६४ इलेक्टोरल मत प्राप्त गर्दा विपक्ष उम्मेदवार वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले २१३ इलेक्टोरल मत हासिल गरेका छन् ।

अमेरिकामा राष्ट्रपति चयनका लागि मंगलवार आमनिर्वाचन सम्पन्न भएको थियो । चुनावी मैदानमा उत्रेका दुई उम्मेदवार वर्तमान राष्ट्रपति ट्रम्प र पूर्व उपराष्ट्रपति बाइडेन बीच भएको निकै कडा प्रतिस्पर्धामा बाइनेडले बाजी मार्ने पक्कापक्की भएको छ । अमेरिकामा इलेक्टरल कलेज प्रणाली (निर्वाचक मण्डल) को माध्यमबाट नयॉ राष्ट्रपति निर्वाचित हुने संवैधानिक व्यवस्था रहेको छ । कूल ५३८ मत रहेको इलेक्टरल कलेजबाट चुनाव जित्नका लागि उम्मेदवारलाई कम्तीमा पनि २७० मतको आवश्यकता पर्दछ । राष्ट्रपतिमा जित हासिल गर्नका लागि अब बाइडेनलाई ६ इलेक्टोरल मतको खॉचो छ । डेमोक्रेटिक पार्टीको पकडक्षेत्र मानिएको राज्य नेभादामा बाइडेनको जित निश्चित भएको बताइएको छ ।

उक्त नेभादा राज्यको कूल ६ इलेक्टोरल मतसहित उनलाई चुनाव जित्न आवश्यक २७० इलेक्टोरल मत सहज रूपमा प्राप्त हुने हुँदा बाइडेनको जित निश्चित भएको डेमोक्रेटिक नेताहरूले उल्लेख गरेका छन् । नोवेल कोरोना भाइरसको महामारीकै बीच सम्पन्न भएको यस राष्ट्रपतीय निर्वाचनको पूर्वसन्ध्यामा विभिन्न स्वतन्त्र संघसंस्था तथा मिडिया हाउसहरूले आ-आफ्नै तौलतरिका र पक्षबाट सार्वजनिक गरेको मत सर्वेक्षणमा दुवै उम्मेदवार बीच ९ देखि १२ अंकसम्मको भिन्नता देखाइएकोमा अहिले जारी मतपरिणामा भने यो लोकप्रिय मतको दुरी दुवैबीच करीव २ अंकको वरपर सीमित छ ।

यसैबीच २००८ मा राष्ट्रपतीय निर्वाचनमा बाराक ओबामाले प्राप्त गरेको सर्वाधिक धेरै लोकप्रिय मतको रेकर्डलाई बाइडेनले तोडेका छन् । पछिल्लो विवरण अनुसार बाइडेनको लोकप्रिय मतको संख्या ७ करोड कटेको छ भने त्यसवेला ओबामाले हासिल गरेको लोकप्रिय मत सात करोड पार भएको थिएन । अब बाइडेनलाई नेभादाको ६ मत प्राप्त हुँदा मत गन्न बॉकी राज्यहरू पेन्सिलभेनिया, नर्थ क्यारोलिना, जर्जिया र अलस्काको सवै मत ट्रम्पको पक्षमा गएपनि यो चुनाव जित्नलाई पर्याप्त हुने छैन । पछिल्लो समय मत गणना भएका यी कडा प्रतिस्पर्धात्मक राज्यहरूको मतगणनालाई रोक्न माग गर्दै ट्रम्पले अदालतमा मुद्दा दायर गरेपनि नतिजामा भने फरक नपर्ने बताइएको छ ।

यता प्राप्त ताजा रिपोर्टबमोजिम बाइडेनको अवस्था ५० प्रतिशत माथि पुग्दा रिपब्लिकन उम्मेदवार ट्रम्पको ४८ प्रतिशत रहेको छ । ब्याटलग्राउण्डका रूपमा हेरिएको टेक्सस र फ्लोरिडामा राष्ट्रपति डोनाल्ड ट्रम्पले जितेका छन् । यद्यपि निर्वाचनको अन्तिम परिणाम आउन केही दिनलाग्न सक्ने बताइएको छ ।

कोरिडोर-१९ का कारण उत्पन्न प्रतिकूल अवस्थालाई ध्यानमा राख्दै निर्वाचन बोर्डले चुनावको दिनभन्दा अगाडि नै भोट हाल्ने व्यवस्था (अर्ली भोटिगं) गरेअनुसार झण्डै १० करोड मानिसले हुलाकको माध्यम तथा स्वयं उपस्थित भई चुनाव दिनभन्दा पहिले नै मतदान गरिसकेका थिए ।

अमेरिकामा यसपटक १५ करोड हाराहारीमा मतदान भएको बताइएको छ । करीव ३३ करोड जनसंख्या रहेको अमेरिकामा मताधिकार प्राप्त १८ वर्ष माथिका नागरिकको संख्या २४ करोड बढी रहेको विभिन्न रिपोर्टहरूमा उल्लेख गरिएको छ । यसपटकको राष्ट्रपतीय निर्वाचनमा झण्डै ५० हजार नेपालीले समेत मतदान गरेको अनुमान गरिएको छ ।

संसारलाई प्रभाव पार्नसक्ने सर्वशक्तिमान राष्ट्र अमेरिकाको यस निर्वाचनलाई राष्ट्रीय तथा अन्तर्राष्ट्रीय क्षेत्रमा सर्वाधिक चासो र महत्वका साथ हेरिएको छ । आगामी ४ वर्षे कार्यकालका लागि ह्वाइटहाउस प्रवेशको अनुमति कस्लाई प्राप्त हुने हो त्यो भने आधिकारिक रूपमा घोषणा गर्न बॉकी नै छ ।

यस निर्वाचनलाई ७४ वर्षिय वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो कार्यकाल दोहोरियाएर जनतामाझ सकारात्मक छाप छाड्दै राजनेताको छवि निर्माण गर्ने दिशामा उपयोग गरेको देखिन्छ भने आफ्ना प्रतिद्वंद्वीभन्दा झण्डै ३ वर्ष पाका उम्मेदवार जो बाइडेन सक्रिय राजनीतिमा सामेल भएको करीव ४० वसन्तपछि राष्ट्रको सर्वोच्च कार्यकारी पदको ४६औं नम्वरमा आफ्नो नाम दर्ता गरी जीवनको उत्तरार्द्धलाई अविस्मरणीय बनाउन लागिपरेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6