Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsफुट्यो नेकपा, ओली र प्रचण्ड–नेपालमा को अधिकारिक ?

फुट्यो नेकपा, ओली र प्रचण्ड–नेपालमा को अधिकारिक ?


पुण्यप्रसाद धमला, काठमाडौं । नेपालमा कम्युनिष्ट आन्दोलनले ५७ वर्ष पुरा गर्दैगर्दा अधिकांश कालखण्डमा कम्युनिष्ट घटकहरु टुटफुट र बिग्रहमा रमाएको पाइन्छ । लामो टुटफुट र बिग्रहको बाटो सच्याउने उद्घोषसहित २०७५ मा जेठ ३ मा दुई ठूला वाम घटक (नेकपा एमाले र माओवादी केन्द्र) बीच भएको पार्टी एकीकरण २९ महिना नपुग्दै दुई टुक्रामा विभाजित बनेको छ ।

एकता प्रक्रिया नै पुरा गर्न नसकेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मंगलबारदेखि दुई टुक्रामा विभाजित देखिएको हो । विभाजनसँगै एउटा पार्टीको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्दा अर्को पार्टीको नेतृत्व पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपालले संयुक्त रुपमा लिएका छन् । पार्टी एकता गरेर देशलाई स्थायीत्वसहिको विकास दिने प्रतिबद्धताको बलमा २०७४ को निर्वाचनबाट प्रचण्ड बहुमत पाएको नेकपा अब औपचारिकरुपमै विभाजित बनेको छ । नेकपाले प्रतिनिधिसभाका २७५ मध्ये १७४ र छवटा प्रदेशमा दुई तिहाइ बढी मतसहित सरकारको नेतृत्व गरेपनि पार्टी एकता लामो समय टिक्दैन भन्ने कतिपयको आँकलनलाई शिर्ष नेताहरुको टकराबले पुरा गरिदिएको छ ।

नेकपा विभाजनको रुप एकीकरण भन्दा अलिक भिन्न देखिएको छ । एकातिर ओली अध्यक्षको भूमिकामा एक्लै देखिनु र अर्कातिर प्रचण्ड–माधवले संयुक्त नेतृत्व लिनुलाई धेरैले पूर्वएमाले दुईतिर विभाजन भएको रुपमा विश्लेषण गरेका छन् । ओली र प्रचण्ड–नेपाल पक्षले मंगलबार गरेको आफूनिकट केन्द्रीय नेताहरुको भेलाको दृश्यले पनि एकता भंग भएको नभई एमाले नै विभाजित हुन पुगेको प्रमाणित गरेको छ ।

केपी ओलीतर्फ लेखराज भट्ट, टोपबहादुर रायमाझी र मणि थापा मात्रै पूर्वमाओवादी पृष्ठभूमिका उच्च तहका नेता देखिदा प्रचण्ड र माधव नेपाल समूहमा भने ठूलो संख्यामा पूर्वएमाले पृष्ठभूमिका नेताहरु लागेका छन् । मंगलबार भएको केन्द्रीय नेताहरुको भेलामा माधव नेपाललाई अध्यक्षको प्रस्ताव गर्ने पूर्वप्रधानमन्त्री झलनाथ खनाल तीनपटक पूर्वएमालेलाई नेतृत्व गरिसकेका नेता हुन् । ओलीसँग सम्बन्ध विच्छेद गर्न तयार रहेका यी नेताहरु केही अपवादबाहेक माधव नेपाल निकटका छन् । औपचारिक रुपमै समानान्तर बैठक डाकेर एकअर्काले आफू बैधानिक भएको दाबी गर्न थालेसँगै नेकपाको एकिकृत अस्थित्व मेटिएको छ ।

संगठन, नाम र निर्बाचन चिन्हमा दुबै पक्षको दाबी
प्रधानमन्त्री ओलीको शिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपाले बिभाजनको औपचारिकता पाएको छ । नेकपाको मुलधार भएको दाबी सहित अहिले केपी ओली र प्रचण्ड–नेपाल समूहले पार्टीको संगठनात्मक संरचना, नाम र निर्वाचन चिन्हमा आ–आफ्नो दाबी पेश गरेका छन् । अहिलेको अवस्थाले नेकपा फुटेको तर संगठनात्मक संरचना, नाम र निर्बाचन चिन्ह मात्रै अलग गर्न बाँकी रहेको देखाएको छ । पार्टीको नाम टुंगो नलागेसम्म निर्वाचन चिन्हबारे प्रष्ट हुने छैन । यसको आधिकारिकता निर्वाचन आयोगमार्फत हुने देखिएको छ ।

दुई गुटको निर्णय र आगामी रणनीति
नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठकले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पहिलो अध्यक्ष दाबी गर्ने केपी शर्मा ओलीलाई अनुसासनको कारबाही गर्दै रिक्त अध्यक्षको ठाउँमा माधवकुमार नेपाललाई चयन गरेको छ । वरिष्ठ नेता झलनाथ खनाल नेपालका प्रस्तावक बनेका छन् । ओलीमाथी अनुसासनको कारबाहीसँगै प्रचण्ड नेपाल पक्षमा केन्द्रिय कमिटिको सर्वसम्मत निर्णयले माधव नेपाललाई अध्यक्ष चयन गरेको छ । बैठकले अविलम्ब संसदको अधिवेशन आह्वान गर्न र संसदको नियमित काम सञ्चालन गर्न माग गरेको छ । संसद विघटनको निर्णयविरुद्ध संघर्ष गर्ने निर्णय पनि गरेको छ । यो बैठकमा नेकपाका ४४७ सदस्यीय केन्द्रीय कमिटीका ३१५ जना सहभागी भएको दाबी गरिएको छ । प्रचण्ड–नेपाल समूहले केन्द्रीय कमिटीको अर्को बैठक बिहीबार साढे ११ बजे बोलाएका छन् ।

अर्कोतर्फ नेकपा विभाजित नभएको र आफूहरु विभाजनको अपजस बोक्न तयार नभएको जस्तो देखाउनेगरि प्रधानमन्त्री एवं नेकपाका प्रथम अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महाधिवेशन आयोजक समिति घोषणा गरेका छन् । साविकको केन्द्रीय कमिटीमा ओलीले आफू अनुकुलका ५५६ जना थपेर १९७ जना पछि थप्नेगरी खाली राखेर १ हजार १९९ जनाको महाधिवेशन आयोजक समिति प्रस्ताव गरेका छन् । ओलीले भने कसैलाई कारबाही नगर्ने, पार्टी नफुटाउने जिकिर गरेका छन् । प्रवक्ताको जिम्मेवारी नारायणकाजी श्रेष्ठबाट खोसेर प्रदिप ज्ञवालीलाई दिइएको छ । मंसिर २ गते महाधिवेशन गरेर नयाँ पुस्तामा नेतृत्व सुम्पिने दाबी ओलीले गरेका छन् ।

प्रधानमन्त्री एवं अध्यक्ष ओलीसँगै प्रचण्ड–नेपाल पक्ष समेत पार्टी फुटको जिम्मेवारी लिन तयार देखिएका छैनन । बरु दुबैले नेकपाको नाम, बिधान र चुनाव चिन्हमाथीको दाबीलाई बैधानिकता दिने प्रयासलाई जारी राखेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6