Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsप्रचण्ड नेपाल समूहकी नेतृ झाँक्रीको गिरफ्तारी, सरकारको चौतर्फी आलोचना

प्रचण्ड नेपाल समूहकी नेतृ झाँक्रीको गिरफ्तारी, सरकारको चौतर्फी आलोचना


काठमाडौं । नेकपा (प्रचण्ड–नेपाल) समूहकी नेतृ रामकुमारी झाँक्री राज्य विरुद्धको कसुरमा पक्राउ परेकी छन् । प्रहरीले नेतृ झाँक्रीलाई शंखमुलस्थित उनको निवासमै पुगेर पक्राउ गरेको हो । उनीमाथीको पक्राउ नै गैह्र कानुनी रहेको पाइएको छ ।

मुलुकी अपराध संहिताको धारा ५८ मा राष्ट्रपति वा संसदलाई धम्की दिन नहुने उल्लेख गरिएको छ। धारा ५८ को उपदफा १ का अनुसार कसैले नेपालको राष्ट्रपति वा संसदलाई संविधान तथा कानून बमोजिम गर्नु पर्ने कार्य सम्पादन गर्नबाट रोक लगाउन वा वञ्चित गर्न वा कुनै खास तरिकाबाट कार्य सम्पादन गर्न वाध्य गराउन कुनै किसिमको बल प्रयोग गरी वा नगरी कुनै किसिमको धम्की दिन, डर वा त्रास देखाउन वा अन्य कुनै किसिमले दबाव दिन हुँदैन भन्ने उल्लेख छ । उपदफा १ बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई सात वर्षसम्म कैद र सत्तरी हजार रुपैयाँँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ ।

तर झाँक्रीमाथी लगाइएको अभियोगमाथी नै चौतर्फी बिरोध र प्रश्न उठिरहँदा पक्राउ नै कानून सम्मत नभएको पाइएको छ । मुलुकी फौजदारी कार्यविधि ऐन २०७४ को दफा ५८ अनुसार कुनै पनि व्यक्तिलाई पक्राउ गर्नु पूर्व अपराध महाशाखा वा प्रहरीको कुनैपनि संगठनले मुद्दा हर्ने अदालतसँग अनुमति लिनु पर्छ । तर प्रहरीको अपराध महाशाखाले झाँक्रीलाई पक्राउ गर्नु पूर्व जिल्ला अदालत काठमाडौँसँग अनुमति नै लिएको छैन । जिल्ला अदालत काठमाडौँका श्रेष्ठेदार भीमबहादुर निरौलाले झाक्री पक्राउ गर्न प्रहरीको कुनै निकायबाट अनुमति लिनको लागि निवेदन नदिएको जानकारी दिए । कानून अनुसार प्रहरीले अदालतको अनुमति नलिइकन तत्काल पक्राउ गर्नुपर्ने मुद्दाहरु पनि हुन्छन्, कुनै व्यक्ति देश छोडेर भाग्ने अवस्था रहे मात्रै यो लागू हुन्छ । तर झाक्रीलाई निवासमै पुगेर हतार हतार गर्दै किन पक्राउ गर्न लगाइयो यसको चौतर्फी बिरोध सुरु भएको छ ।

गिरफ्तारी दिनुअघि नेतृ झाँक्री के भनिन ?
संविधान लोकतन्त्र र जनताको शासनको रक्षाका लागि आन्दोलिन हुने क्रममा व्यक्त गरेका विचारहरुका आधारमा केपी ओली नेतृत्वको सरकारले अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाएको गिरफ्तारी दिदैगर्दा नेतृ झाँक्रीले आरोप लगाइन् ।
‘हामीले कहिले नखोसिने लोकतन्त्रका लागि लडेका थियौँ । धेरै कुरा पायौँ भन्ने लागेको थियो । तर आफू नै आवद्ध पार्टीका नेताको तथा प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदमको विरोध गर्दा यो उपहार पाएँ ।’ उनले भनिन् । तीन वर्ष पहिले कम्युनिष्ट पार्टीले बहुमत ल्याएर सरकार बनाउने संसदीय दलको सदस्य आफू भएको दाबी गर्दै उनले त्यही दलबाट निर्वाचित प्रधानमन्त्रीको असंवैधानिक आक्रमणबाट भएको प्रतिगमनको विरोध गर्दा व्यक्त विचारका आधारमा ममाथि राज्य विरुद्धको कसुर लगाइनु अभिव्यक्ति स्वतन्त्रतामाथीको प्रहार भएको झाँक्रीको दाबी छ ।

नेकपा अध्यक्ष प्रचण्डले यस्तो भने
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रामकुमारी झाँक्री पक्राउ गरेर केपी ओली नेतृत्वको सरकारले आफ्नो चरित्र देखाएको बताएका छन् । राष्ट्रपतिको बारेमा बोलेको भन्दै हिजो नै पक्राउ गर्न खोजेको सरकारले आज गिरफ्तारी गरेको बारे पार्टीले छिटै निर्णय गर्ने उनको दाबी थियो । रामकुमारी झाँक्री पक्राउ गर्नु भनेको कम्युनिष्ट पार्टीको निम्ति चुनौती हो । तत्काल रिहाईको माग गरेका अध्यक्ष प्रचण्डले उत्पिडित जातिमाथि, लोकतन्त्रमाथिको हमला सफल हुन नदिने जिकिर गरे ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले रामकुमारी झाँक्रीलाई पक्राउ गरेर सरकारले आफ्नो अधिनायकवादी चरित्र उदाङ्गो पारेको बताएका छन् । झाँक्रीलाई पक्राउ गर्नु संविधानले व्यवस्था गरेको नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि नाङ्गो हस्तक्षेप भएको उनको जिकिर छ ।

नेकपा नेता योगेश भट्टराई, नेतृ पम्फा भुषाल, जनार्दन शर्मा तथा नेपाली कांग्रेसका युवा नेता गगन थापाले समेत नेतृ झाँक्री गिरफ्तारीको चर्को बिरोध गरेका छन् । उनीहरुले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा बोल्न पाउने अधिकार सबैको भएको भन्दै देशलाई मुडभेटमा लगेर कसैको निहित स्वार्थ पुरा गराउने सपना नदेख्न उनीहरुले चुनौती दिएका छन् । नेता थापाले त कर्तव्य निर्वाह गर्न छाड्ने र असंबैधानिक कदम चाल्नेले झ्यालखानामा हालेर तर्साउन नसक्ने भन्दै सत्यको पक्षमा बोल्नेहरुलाई थुन्न झ्यालखाना थप्न चुनौती दिएका छन् ।

हालै गोरखा आयोजित एक कार्यक्रममा झँक्रीले राष्ट्रपति विरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको आरोप उनीमाथी लगाइएको छ । झाँक्रीको निवासबाहिर ठूलो संख्यामा भेला भएका कार्यकर्ताहरुले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्को नाराबाजी गरेका थिए । उनीहरुले आफूहरु छातीमा गोली थाप्न तयार रहेको भन्दै सरकार राष्ट्रपति र प्रधामन्त्रीको नामै लिएर नाराबाजी गरेपछि भीड छिचोलेर निकाल्न प्रहरीलाई हम्मे हम्मे परेको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6