Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियाका कांग्रेसीको कलह, उपद्रोको पनि हद हुन्छ नि !

अष्ट्रेलियाका कांग्रेसीको कलह, उपद्रोको पनि हद हुन्छ नि !


ब्रिजवेन/म खासै राजनीतिक विषयमा लेख्दिन । नेपाल छदा एक दशक बढी दुइ ठुला टेलिभिजनमा खोज र अपराध सम्बन्धी पत्रकारिता गरेकाले समाजमा लुकेका र लुकाइएका विषयहरु मेरो प्राथमिकतामा पर्छन । त्यसो भन्दैमा राजनीतिमा चासो नहुने भने होइन । अष्ट्रेलियामा नेपाली कांग्रेसको विचार बोक्ने अर्थात आफुलाई प्रजातान्त्रिक ठान्नेहरुको संख्या उल्लेख्य छ । तीनै प्रजातन्त्रका हिमायती ठान्नेहरुको माउ पार्टीको भगिनी संस्था जनसम्पर्क समिति अष्ट्रेलिया भने एक दशकदेखि दुइ चिरामा बाडिएको छ । यो विषय त नयाँ पनि होइन, खासै जनचासो पनि छैन । तर, अघिल्लो हप्ता जे भयो त्यो भने गज्जब छ । त्यसैले लेख्दैछु । कांग्रेसीजनको कलह अहिले उपद्रोमा परिणत भएको छ ।

संस्था एक, सभापति दुइ

जनसम्पर्क समिति अष्ट्रेलियाले हालै आफ्नो चौथो महाधिवेशन सम्पन्न गरेको छ । सामान्य अवस्थामा महाधिवेशनले एक सभापतिसहित एउटा कार्यसमिति छनोट गर्नुपर्ने हो । तर, डिसेम्बर ५ तारिखमा अष्ट्रेलियामा दुइ वटा सभापति मात्रै होइन, यो संस्थाको दुइ छुट्टा छुट्टै कार्यसमिति चयन भएको छ ।

आफुलाई आधिकारिकको ट्याग भिराउने कृष्ण गिरी पक्षको जनसम्पर्क समितिको सभापतिमा सिड्नीका सुरेश गुरुङ सभापति छनोट भएका छन् भने ७० प्रतिशत भन्दा बढी कांग्रेसीको साथ रहेको दाबी गर्ने अर्को जनसम्पर्क समितिको सभापतिमा भने मेलवर्नका सोम गुरुङ सभापति छानिएका छन् । सुरेश सभापति भएको समितिमा कृष्ण गिरी प्रमुख संरक्षण छन् । त्यस्तै सोम गुरुङको टिममा भने अष्ट्रेलियामा कांगे्रसीको पगरी गुथेका अधिकांश चिनिएका अनुहार छन् । यी मध्ये अष्ट्रेलियाका खास जनसम्पर्क समिति कुन हो ?

सदस्यतामा किर्ते, आधिकारिकताको लडाई

नेपाल ट्युबसंग कुरा गर्दै समितिका निवर्तमान सभापति कृष्ण गिरीले पार्टीको आधिकारिकता पाएको तथा विधी विधान अनुसार नै अधिवेशन सम्पन्न भएकाले आफ्नो समुह नै आधिकारिक भएको दावी गर्नुभयो । त्यस्तै आफ्नो समितिको अधिवेशनको उद्घाटन समेत पार्टी अध्यक्ष तथा प्रधानमन्त्री शेरवहादुर देउवाले गर्नुभएकाले आधिकारिकता कता छ भन्ने स्पष्ट हुने समेत गिरीको भनाई छ । उता नयाँ समितिको सभापति सोम गुरुङले भने गिरी समुहले आफ्नो पक्षका लाई मात्रै सक्रिय सदस्यता वितरण गरि अरु कसैलाई थाहा नै नदिई एकलौटी रुपमा पदाधिकारी छनोट गरेकाले नयाँ समिति बनाउनु परेको बताउनुभयो ।

विधान बमोजिम अधिवेशनमा मत हाल्नका लागि सक्रिय सदस्य हुनुपर्छ । सोम गुरुङका अनुसार कृष्ण गिरी समुहले १२ सय जनाले सदस्यता आवेदन दिएपनि आफ्नो पक्षका ५ सय ६० जनालाई मात्रै सदस्यता वितरण गरेको छ । कांगे्रसको विचार बोक्ने ठुलो जमातलाई सक्रिय सदस्यता नै नदिई एकलौटी गर्न थालेपछि बाध्य भएर अर्को समिति गठन गर्नु परेको गुरुङको भनाई छ । पार्टीबाट आधिकारिकता प्रमाणित गर्न केही दिनमा आफुहरु नेपाल जाने समेत गुरुङको भनाई छ । पार्टीले पनि अष्ट्रेलियाका कांगे्रसीजनको भावना बुझेर आधिकारिकता दिनेमा आफु ढुक्क रहेको गुरुङको भनाई छ ।

त्यस्तै सोम गुरुङले सदस्यताका लागि ७ सय जनाले बुझाएको २८ हजार डलर पनि गिरीको व्यक्तिगत खातामा राखिएको आरोप लगाउनुभयो । सदस्यता नदिने भएपछि पैसा फिर्ता गर्नुपर्नेमा गिरीले त्यसो नगरेको गुरुङको आरोप छ । उता कृष्ण गिरीले भने नियम पुर्वक आवदेन दिने सबैलाई सदस्यता वितरण गरेको तथा आफ्नो खातामा सदस्यता शुल्कका लागि उठाएको रकम नभएको बताउनुभयो । बरु गिरीले उल्टै अर्को समुहले जनसम्पर्क समितिको सदस्यता वितरण सम्बन्धी गुगल फारम किर्ते गरेर सदस्यता भर्न लगाएको र शुल्क पनि उठाएर हिनामिना गरेको आरोप गिरीले लगाउनुभयो ।

आधिकारिक जनसम्पर्क समितिमा सदस्यताका लागि ७ सय जनाको आवेदन गरेको त्यसमध्ये नियमपुर्वक ५ सय ६० जनालाई सदस्ता बाडिएको भन्दै सदस्यका लागि योग्य नहुनेहरुको शुल्क फिर्ता गर्ने पकृया सुरु भएको समेत गिरीले बताउनुभयो । नियमपुर्वन गर्दा गर्दै पनि बिद्रोह गरेर अर्को संगठन बनाउनु दुभाग्र्य भएको समेत गिरीको भनाई छ । संस्थाको नाममा किर्ते गर्ने तथा भ्रम सृजना गर्नेहरु विरुद्ध कानुनी लडाई लड्ने समेत गिरीको भनाई छ ।

दुबै समुहका महाधिवेशन प्रतिनिधी छनोट

केही दिनपछि काठमाडौंमा नेपाली कांग्रेसको १४ औं महाधिवेशन हुदैछ । महाधिवेशनमा देशभर र विदेशबाट छनोट भएर आएका प्रतिनिधीले पार्टीको भावी नेतृत्व छान्दछ । अष्ट्रेलियाबाट ७ जना महाधिवेशन प्रतिनिधी छनोट हुने व्यवस्था छ । यहि ७ जना प्रतिनिधी आफ्नो पक्षमा पार्नका लागि नेताहरुले अष्ट्रेलियाको जनसम्पर्क समितिमा प्रभाव बढाउन खोज्छन् ।  अष्ट्रेलियाका दुबै समितिले आफ्नो ७÷७ जना प्रतिनिधी छनोट गरिसकेका छन् । केही त काठमाडौ समेत पुगिसके । अब यी १४ जना मध्ये कुन पक्षकाले भोट हाल्न पाउने हुन ठेगान छैन ।

सोम गुरुङ पक्षले महाधिवेशन र आफ्नो पक्षको नेतृत्वमा भएका गतिविधीका कागजात सहित पार्टी कार्यलयमा पठाइ सकेको छ । त्यस्तै पार्टी नेतृत्वसंग आफ्नो पक्षका लागि मान्यता दिई महाधिवेशन प्रतिनिधीलाई भोट हाल्न दिनका लागि गुरुङ पक्षको टोली केही घण्टामै नेपाल जादैछ । उता कृष्ण गिरीको समुह भने हिजै नेपाल पुगिसकेको छ । आफ्नो पक्षका प्रतिनिधीले भोट हाल्न पाउनेमा आफु विश्वस्त भएको समेत गिरीले बताउनुभयो ।

कसरी होला मिलन ?

अष्ट्रेलियाका कांग्रेसी दुइ ध्रबमा बाडिन थालेको एक दशक हुन लाग्यो । खास गरी आफुलाई पार्टी नेतृत्वले आधिकारिकता प्रदान गरेको दाबी गर्ने कृष्ण गिरी पक्षको कामबाट सन्तुष्ट नभएका अन्य कांगे्रसीले समानन्तर कमिटीहरु बनाउन थालेको पनि लामै भयो । जनसम्पर्क समिति अष्ट्रेलियाका संस्थापक मध्येका एक दिनेश राज जोशीले पार्टीको विधी विधान नाम मात्रको भएको र जसले नेताको चाकडी गर्छ उसैले पद पाउने अवस्था भएकाले यस्तो दिन आएको बताउनुभयो । गिरी पक्षले एकलौटी रुपमा समितिलाई समिति गरेको भन्दै अष्ट्रेलियाका कांग्रेसीहरु उनीहरु रुष्ट बन्दै आएका छन् ।

तर, संस्थापक जोशी भने अझै पनि मिल्ने ठाउ रहेको बताउनुहुन्छ । खासगरी नयाँ कार्यसमितिले रुष्ट रहेका समुहलाई सम्मानजनक रुपमा पद बाडफाड गरेमा दुइ खेमाका कांगे्रसीहरु एक ढिक्का हुनसक्ने संभावना रहेको जोशी बताउनुहन्छ । नयाँ पक्षका सभापति सोम गुरुङले पनि आवदेन दिएकाहरुलाई सदस्यता दिने, केही पदहरुमा सम्मानजनक बाडफाड गर्ने हो भने नव निर्वाचित सभापति सुरेश गुरुङको नेतृत्व स्विकारेर सहमति गर्न तयार रहेको बताउनुभयो । उता कृष्ण गिरीले पनि बाहिर रहेका कांगे्रसीहरुले आफ्नो माग स्पष्ट गरेर अघि आएमा नयाँ टिमले मिलाएर लानेमा आफु ढुक्क रहेको बताउनुभयो । नयाँ नेतृत्वले बाहिर रहेकाहरुलाई पनि समेटेर लानुपर्नेमा गिरीले जोड दिनुभयो । आफुलाई प्रजातन्त्रको हिमायती ठान्नेहरुले एक दशकदेखि फुटेको जनसम्पर्क समितिलाई जोड्नका लागि कत्तिको उदारता देखाउछन् हेर्न बाँकी छ ।


ट्याग : #Australia, #JSS, #nepali congress, #Nepaltube
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6