Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustralia२१ जना को संयुक्त लेखन रहेको ‘ग्लोबल प्रस्पेक्टिभ्स् अन जर्नलिजम इन नेपाल’ बजारमा !

२१ जना को संयुक्त लेखन रहेको ‘ग्लोबल प्रस्पेक्टिभ्स् अन जर्नलिजम इन नेपाल’ बजारमा !


काठमाडौं । नेपालभित्र र बाहिर रहेका सञ्चार क्षेत्रका २१ जना अध्येताको संयुक्त लेखनमा ‘ग्लोबल प्रस्पेक्टिभ्स् अन जर्नलिजम इन नेपाल’ (नेपालको पत्रकारितामा वैश्विक दृष्टिकोण) पुस्तक बजारमा आएको छ । एक्काइसौँ शताब्दीमा नेपालको पत्रकारिताको समसामयिक अभ्यासलाई विश्वको परिप्रेक्षमा विश्लेषण गर्दै लेखिएको पुस्तकलाई मिडिया अध्येता डा. भानुभक्त आचार्य (युनिभर्सिटी अफ अटवा, क्यानडा) र सहप्राध्यापक डा श्याम शर्मा (स्टोनिब्रुक युनिभर्सिर्टी, अमेरिका) को सम्पादनमा तयार पारिएको हो ।

यो पुस्तक प्राज्ञिक पुस्तक प्रकाशनमा ख्याति कमाएको बेलायतको राउटलेजले प्रकाशन गरेको छ। नेपालको पत्रकारिताको प्राज्ञिक एवं व्यावसायिक अभ्यासलाई वैश्विक दृष्टिकोणबाट विश्लेषण गर्ने एवं विगत दुई दशकमा पत्रकारिता र सञ्चारका क्षेत्रमा देखिएका असल अभ्यास एवं चुनौतीको पहिचान गर्ने उद्देश्यले यो पुस्तक तयार गरिएको छ । विगत दुई दशकमा नेपाली पत्रकारिताका विशेषता, चुनौती र सिकाइहरु के छन् भन्ने विश्लेषण पनि सो पुस्तकमा गरिएको छ । यसै अवधिमा नेपाली पत्रकारितामा उल्लेख्य रुपमा सङ्ख्यात्मक वृद्धि र प्राविधिक रूपान्तरण भएको तर नीतिगत अलमल एवं राजनीतिक र आर्थिक प्रभावका कारण पत्रकारिताको व्यावसायिक विकास हुन नसकेको विषयमा पनि सो पुस्तकमा खोजी गरिएको छ ।

पुस्तकबारे प्रतिक्रिया दिँदै प्राध्यापक रामकृष्ण रेग्मीले यो पुस्तक एउटा पाठ्यपुस्तक वा विभिन्न लेखको संगालो मात्रै नभएर नेपाली पत्रकारिताको इतिहासमा एउटा कोशेढुङ्गा भएको बताउनुभयो। सम्पादक आचार्य र शर्माले यो पुस्तकका लागि मेहनत गरी एकैपटक विश्वव्यापीरुपमा उपलब्ध गराउन प्रयास गरेकोमा धन्यवाद दिनुभयो । यस पुस्तकभित्र चार खण्डमा १८ परिच्छेद समेटिएका छन् । व्यावसायिक दृष्टिकोण शीर्षकको पहिलो खण्डमा एक्काइसौँ शताब्दीमा नेपाली पत्रकारिता र दृष्टिकोण (डा. भानुभक्त आचार्य र डा श्याम शर्मा), मिडियाको जवाफदेही संयन्त्रका रुपमा प्रेस काउन्सिल नेपाल (डा.भानुभक्त आचार्य, श्रीमन शर्मा र डा समीक्षा कोइराला), प्रसारण माध्यममा नीतिगत सुधार (लक्ष्मण हुमागाइँ र डा तुलसी आचार्य), विदेशबाट सञ्चालित नेपाली अनलाइन मिडियाको दीगोपन र व्यावसायिक विकास (भगीरथ योगी र डा. जगन कार्की) र नेपाली समाचार कक्षमा डिजिटल रुपान्तरण (प्रा. रामकृष्ण रेग्मी) समेटिएका छन् ।

प्राज्ञिक दृष्टिकोण शीर्षकको दोस्रो खण्डमा एक्काइसौँ शताब्दीमा नेपालको पत्रकारिता शिक्षा (डा भानुभक्त आचार्य र डा श्याम शर्मा), नेपालमा विकास सञ्चारको समालोचनात्मक अध्ययन (सुजिना शाक्य र डा पियुष मिश्र), नेपाली मिडियामा कोभिड–१९ को प्रभाव (डा कुन्दन अर्याल), कोभिड–१९ जस्ता महामारीमा युवालाई मिथ्या सूचनाबाट कसरी जोगाउने (कवि अधिकारी) शीर्षक परिच्छेद छन् ।

सामाजिक–राजनीतिक दृष्टिकोण शीर्षकको तेस्रो खण्डमा नेपाली अखबारमा महिलाको प्रतिनिधित्व (डा समीक्षा कोइराला), राज्य नियन्त्रित मिडियाको चौथो अङ्गको भूमिका (लेखनाथ पाण्डे), नेपालमा अनुसन्धानमूलक पत्रकारिताको अवस्था (उषाकिरण रेग्मी) एवं स्थानीय रेडियोको दीगोपनका चुनौतीबारे (डा सन्देशदास श्रेष्ठ) का अध्ययन समेटिएको छ । यस्तै, प्राविधिक दृष्टिकोण शीर्षकको पुस्तकको अन्तिम खण्डमा नेपाली अखबारको डिजिटल रूपान्तरण (डा हर्षमान महर्जन), सामाजिक सञ्जालमा समाचार सेयर गर्ने प्रवृत्तिको तुलनात्मक अध्ययन (विमला थपलिया), अनलाइन मिडियामा दीगोपन, आर्थिक ढाँचा र सम्भावना (प्रवेश सुवेदी), कृषि क्षेत्रको विस्तारमा सामाजिक सञ्जालको प्रयोग (रामहरि तिमिल्सिना र डा पूर्ण नेपाली) शीर्षकका परिच्छेद समेटिएका छन् ।

यस पुस्तकले पत्रकारितको विश्वव्यापि अवस्था र नेपालमा आवश्यक बैद्धिकता विकासको अभावलाई केही हदसम्म पूरा गर्ने विश्वास सम्पादकद्वय आचार्य र शर्माको छ । सम्पादक आचार्यले नेपाली पत्रकारिताबारे विश्वकै पाठकलाई लक्षित गरी प्रकाशन गरिएको यो पुस्तक यस क्षेत्रको एक कोशेढुङ्गा भएको बताउँनुभएको छ । अर्का सम्पादक शर्माको विचारमा ‘नेपाली पत्रकारिताका सन्दर्भमा मात्र केन्द्रित भई अन्तर्राष्ट्रिय प्रकाशन गृहबाट यस पुस्तकको प्रकाशन हुनु खुसीको कुरा हो, यस पुस्तकको प्रकाशनपछि भविष्यमा अन्य नेपाली अध्ययेतालाई पनि अन्तर्राष्ट्रियस्तरका जर्नल र प्राज्ञिक प्रकाशनगृहबाट पुस्तक प्रकाशन गर्न प्रोत्साहन मिल्ने अनुभव रहेको छ ।’

अढाइ वर्ष लामो गहन र सामूहिक मेहनतपछि पुस्तक तयार पारिएको हो । तीन सय ४२ पृष्ठको यो पुस्तक राउटलेजको आफ्नै पोर्टललगायत विभिन्न अनलाइन बिक्रेताबाट ‘हार्डकपी’ वा ‘सफ्टकपी’ खरिद गर्न सकिने व्यवस्था गरेको छ । एक्काइसौँ शताब्दीमा नेपालको पत्रकारिताको समसामयिक अभ्यास र विश्वको परिवेश थाहा पाउन आजै पुस्तक सुरक्षित गरौँ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6