Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियन भिसामा कडाई, आवेदन दिने १० प्रतिशत विद्यार्थी मात्रै सफल !

अष्ट्रेलियन भिसामा कडाई, आवेदन दिने १० प्रतिशत विद्यार्थी मात्रै सफल !


काठमाडौं । वैदेशिक शिक्षा लिन चाहने नेपाली विद्यार्थीको सबैभन्दा आकर्षक गन्तव्य मानिएको अस्ट्रेलियामा पछिल्लो समय प्रवेशाज्ञा (भिसा) मा कडाई गर्न थालिएको छ । अस्ट्रेलिया सरकारले गरेको कडाइसँगै भिसाका लागि निवेदन दिएका विद्यार्थीमध्ये १० प्रतिशतमात्रले भिसा पाउन थालेका हुन् ।

तीन महिनाअघिसम्म निवेदन दिएकामध्ये ९६ प्रतिशतसम्म विद्यार्थीले अष्ट्रेलियाको भिसा पाउदैआएका थिए । नेपालबाट अस्ट्रेलियाको भिसाका लागि अहिले पनि औसतमा दैनिक दुई सयसम्म आवेदन पर्ने गरेको छ । निर्णय प्रक्रियामा रहेकालाई थाती राख्ने हो भने अस्वीकृत हुनेक्रम बढेको पाइन्छ । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) का अनुसार अहिले दैनिक तीन सयसम्म भिसा अस्वीकृत हुने गरेको पाइएको छ । लामो समयसम्म भिसा स्वीकृत वा अस्वीकृत भएको विषयमा जानकारी नदिने र अन्तिममा अस्वीकृत भएको भन्ने सन्देश नयाँदिल्लीस्थित अस्ट्रेलियन हाई कमिसनमार्फत आउनुगरेको आवेदन दिएर असफल भएका विद्यार्थीहरु बताउँछन् । प्रक्रिया खुकुलो भएको समयमा निवेदन दिएको एक दिनमै भिसा दिने गरिएकोमा अहिले समय समेत लम्बिएको छ ।

भिसा अस्वीकृत दर बढेसँगै शैक्षिक परामर्श व्यवसायी तथा विद्यार्थीहरु चिन्तित बन्न थालेका छन् । इक्यानका अध्यक्ष प्रकाश पाण्डे उच्च योग्यता भएका विद्यार्थीको समेत भिसा अस्वीकृत गरिएको बताउनुहुन्छ । अस्ट्रेलिया भित्र्याउने विदेशी विद्यार्थीमध्ये नेपालबाट ३० प्रतिशत आपूर्ति गर्दै आएको, अस्ट्रेलियामा उच्च शिक्षा अध्ययनका लागि सबैभन्दा धेरै विद्यार्थी जाने वैदेशिक मुलुकमा नेपाल तेस्रो नम्बरमा पर्ने गरेको भएपनि पछिल्लो समय बढेको आवेदन अस्विकृत दर बढिरहेको छ । पहिलो र दोस्रो नम्बरमा क्रमशः भारत र चीनले भिसा पाउँदैआएपनि केही समयअघि भिसाका लागि आवेदन दिने मुलुकमा नेपाल पहिलो बनेको थियो । विगतमा न्यून शैक्षिक स्तर भएकालाई समेत सहजै भिसा दिनेगरिएकोमा अहिले हरेक कुरामा योग्य भएका विद्यार्थीलाई पनि अस्वीकृत गर्न थालिएपछि नेपाली विद्यार्थीलाई भिसा प्रदान गर्नेसम्बन्धमा अस्ट्रेलिया सरकारको निश्चित मापदण्ड नभएको आँकलन गर्न थालिएको छ । अध्यक्ष पाण्डे भन्नुहुन्छ, “विगतमा आफूभन्दा निकै कमजोर विद्यार्थीले पनि सहजै भिसा पाएको तर अहिले कुनै आधारबेगर आफूले भिसा नपाएपछि अस्ट्रेलिया सरकारको भिसा नीति र शैक्षिक प्रणालीमा वैज्ञानिक मापदण्ड रहेनछ भन्ने गलत सन्देश विद्यार्थीमा गएको छ ।”

अहिले भिसा पाउनेमध्ये स्नातक र स्नातकोत्तर तहमा भर्ना हुन चाहनेको सङ्ख्या बढी रहेको छ । यी तहमा भर्ना तथा पढाइ शुल्क महँगो हुन्छ भने भर्नाका आधार पनि कसिलो छ । यी तहमा भर्ना हुन नसकेपछि नेपाली विद्यार्थीमध्ये धेरैजसोले दुई वर्षको व्यावसायिक कोर्सका लागि निवेदन दिने र यो कोर्स सकिएपछि मात्रै विश्वविद्यालयको स्नातक तहमा भर्ना हुने प्रक्रिया अपनाउने गरेका छन् ।

नो अब्जेक्सन लेटर लिनेमध्ये आधा बढी अष्ट्रेलिया जान चाहाने विद्यार्थी
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार गत साउनदेखि असार पहिलो सातासम्म ६१ हजार ६३६ विद्यार्थीले अस्ट्रेलिया जानका लागि नो अब्जेक्सन लेटर लिएको पाइएको छ । नो अब्जेक्सन लिने विद्यार्थीमध्ये आधा भन्दा बढीले अष्ट्रेलियाका लागि लिएसँगै यहाँको आकर्षण आफै पुष्टि गरेको छ । मन्त्रालयको शैक्षिक परामर्श शाखाले करिब ११ महिनाको यो अवधिमा एक लाख दुई हजार ८७३ जनाले नो अब्जेक्सन अनुमतिपत्र लिएको जानकारी दिएको छ ।

१६ हजार ३२८ जनाले जापान, पाँच हजार २०१ जनाले क्यानडा, चार हजार ८५२ जनाले अमेरिका र एक हजार १९२ जनाले कोरियाका विभिन्न विश्वविद्यालयमा पढ्न नो अब्जेक्सन लेटर लिएको पाइएको छ । पछिलो ११ महिनामा विद्यार्थीबाट नो अब्जेक्सन लेटरका लागि मात्र सरकारले २० करोड ५७ लाख ४६ हजार राजस्व सङ्कलन गरेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6