Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaदशैंमा स्वदेश फर्किदै हुनुहुन्छ, यी सरसामानमा तिर्नुपर्दैन भन्सार !

दशैंमा स्वदेश फर्किदै हुनुहुन्छ, यी सरसामानमा तिर्नुपर्दैन भन्सार !


काठमाडौं । दशैं नजिकिएसँगै विदेशमा रहेका नेपालीहरु स्वदेश आउने क्रम बढ्न थालेको छ । दशैमा जन्मघर फर्किंदा टन्नै सामान ल्याउने योजनामा हुनुहुन्छ भने विचार पुर्‍याउनुहोस् । पछिल्लो समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा सामान जाँचमा विशेष कडाई गरिएको छ ।

विदेशबाट तोकिएभन्दा बढी परिमाणमा सुन, रक्सी र मोबाइल ल्याउने क्रमलाई रोक्न भन्दै भन्सार जाँचमा कडाइ गरिएको हो। त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख अरुण पोखरेलले सरकारको झिटीगुन्टा आदेशअनुसार मात्रै सामान ल्याउन आग्रह गर्नुभएको छ । झिटीगुन्टा आदेशमा तोकिएको भन्दा बढी सामान ल्याए जफत हुने उहाँ बताउनुहुन्छ । ‘झिटीगुन्टा आदेशले दिएको सुविधामा पनि अरुको समान बोकेर ल्याएको पाए तोकिएको दरमा भन्सार तिर्नुपर्ने हुनसक्छ ,’ पोखरेलले भन्नुभयो । सुन, रक्सी र स्मार्टफोन (आईफोन) ल्याउनेहरुले बढी नियम मिचेका कारण यस्तो कडाई गरिएको भन्सारको दाबी छ ।

विदेशबाट फर्किनेहरुले ल्याउने विभिन्न वस्तुमा भन्सार लाग्छ भने केही सामान भन्सार नतिरी पनि ल्याउन पाइन्छ । कतिपय सामान ल्याउनै पाइँदैन । एयरपोर्टमा आएर झन्झट ब्यहोर्नुभन्दा पहिले नै सचेत भएर समान ल्याउन विमानस्थल भन्सार कार्यालयले सचेत गराएको छ । विदेशबाट फर्किने धेरैले टिभी, मोबाइल, गहना लगायतका सामग्री ल्याउँने गरेका छन् । तोकिएको भन्दा बढी ल्याए सामान सिधै जफत हुने वा महँगो भन्सार तिर्नुपर्ने भएकाले बेलैमा कानुनी व्यवस्थाको ख्याल गर्नु राम्रो हुनेछ ।

कुन—कुन सरसामानमा भन्सार लाग्दैन ?
विदेशबाट महँगा र ब्राण्डेड रक्सी ल्याउने प्रचलन छ । एक व्यक्तिले बढीमा १ लिटर मात्रै रक्सी ल्याउदा भन्सार तिर्नुपर्दैन । यस्तै ल्यापटप\कम्प्युटर वा ट्यावलेट, घडी, क्यामेरा, भिडियो क्यामेरा, सेलुलर–मोबाइल फोन र पेन ड्राइभ १\१ थान ल्याउँदा पूर्ण भन्सार छुट छ । बच्चा राख्ने पेराम्बलेटर र ट्राइसाइकल १\१ वटा ल्याउँदा भन्सार शुल्क लाग्दैन । वैदेशिक रोजगारीमा गएर कम्तीमा एक वर्ष बिताएका नेपालीले ३२ इन्चसम्मको टिभी ल्याउन छुट दिइएको छ । अरु प्रयोजनले विदेशमा गएका र १ वर्ष नबिताएकालाई यो छुटको सुविधा दिइएको छैन ।

विदेशमा काम गरेर फर्किएकाहरुलाई १ थानसम्म नयाँ मोबाइल ल्याउन छुट छ । विभिन्न पेशा गर्ने व्यक्ति स्वदेश फर्किंदा ल्याएका आफ्नो पेशासँग सम्बन्धित सामानमा पनि भन्सार लाग्दैन । डाक्टरले ब्लड प्रेसर नाप्ने यन्त्र, स्टेथेस्कोप, खेलाडीले खेलकुद सामग्री, संगीत क्षेत्रमा लागेकाहरुले गितार, हार्मोनियम लगायतका बाजा १\१ थान ल्याउन भन्सार तिर्नुपर्दैन । निश्चित परिमाणमा लुगाफाटा, बिछ्यौना, घर गृहस्थी लगायतका पुराना व्यक्तिगत प्रयोजनका सामग्री ल्यादा पनि भन्सार लाग्दैन । तर, ठूलो परिमाणमा ल्याउन भने पाइँदैन । औषधि उपचारका लागि विदेश गएका नागरिकले आफ्नै प्रयोजनका लागि ल्याउने औषधि र शारीरिक रुपमा अशक्तहरुको सहाराको लागि ल्याइने सामग्रीमा पनि भन्सार छुट दिइएको छ । स्वदेश फर्किनेले सात किलोग्रामसम्म खाद्यवस्तु समेत भन्सार शुल्क नतिरि ल्याउन पाउँछन् ।

अर्कोतर्फ यात्रुको अवस्था, परिवार संख्या, विदशेमा व्यतित गरेको अवधि, चालचलन लगायतलाई ध्यानमा राखेर भन्सार अधिकारीले औचित्य हेरेर तोकिएभन्दा बढी परिमाणका वस्तु रहेछन् भने छोडिदिन सक्ने व्यवस्था समेत कानुनमा छ । तर यो छुट सबैले पाउँदैनन ।

६ महिनाभन्दा बढी र एक वर्षसम्म विदेश बसेर फर्किएकाहरुले १५ हजारसम्म र एक वर्षभन्दा बढी बसेर फर्किएमा २५ हजार रुपैयाँसम्मको मूल्यको विभिन्न वस्तुहरु तोकिएको परिमाणमा ल्याएमा भन्सार प्रज्ञापनपत्र नभरी छुट्टै अभिलेख राखेर जाँचपास गर्ने कानुनी व्यवस्था रहेको छ । यो सुविधा अन्तरगत म्यूजिक तथा भिडियो प्लेयर, रेफ्रिजेरेटर, वासिङ मेसिन, पंखा र रेडियो १\१ थान ल्याउन छुट छ । शरीरमा लगाउने लुगाफाटा, जुत्ता, कस्मेटिक लगायत १५ थान, घरायसी प्रयोजनका लागि ल्याइने मिक्स्चर, जुसर, सिलाइ मेसिन, ग्यासटेबुल, इस्त्री, राइस कुकर २\२ थान, पेशागत क्षमता अभिवृद्धिका लागि आवश्यक पर्ने सामान २\२ थान र दश किलोग्रामसम्मको खाद्यान्न ल्याउँदा पनि यही नियम लागू हुनेछ ।

यो सीमा नाघेर आएका सामान आर्थिक एेन अनुसारको भन्सार महसुल तिरेर मात्रै छुटाउन सकिने कानुनी व्यवस्था गरिएको छ ।
३२ इन्चभन्दा ठूलो टिभी ल्याएमा इन्चअनुसार भन्सार महसुल तिर्नुपर्छ । तर, एउटाभन्दा बढी टिभी भन्सार तिरेरै पनि ल्याउन पाइँदैन । विदेशमा बसेका व्यक्तिले नेपालमा बसेका आफन्तलाई ल्याएका ३५० डलर मूल्यसम्म्का जुनसुकै वस्तु पनि प्रमाण हेरेर छोडिने व्यवस्था गरिएको छ । चुरोट २ सय खिल्लीसम्म र सिगार ५० खिल्लीसम्म लाग्ने महसुल तिरेर ल्याउन पाइन्छ । तर, सोभन्दा बढी परिमाणमा ल्याएमा दोब्बर भन्सार महसुल लिएर मात्रै भन्सार जाँचपास गरिन्छ ।

सुनको हकमा यस्तो छ व्यवस्था
विदेशमा काम गरेर फर्किने नेपाली कामदारले १०० ग्रामसम्म काँचो सुन ल्याउन पाउँछन् । यसको कर भने तिर्नुपर्छ । ५० ग्रामसम्म सुन ल्याउँदा दश ग्रामको ९ हजार ५०० रुपैयाँका हिसावले कर तिर्नुपर्ने हुन्छ । यसअनुसार ५० ग्रामको ४७ हजार ५ सय रुपैयाँ, ५० ग्रामभन्दा बढी सुन ल्याएमा बढी ल्याइएको सुनमा प्रति १० ग्राम १० हजार ५०० रुपैयाँ कर तिर्नुपर्नेहुन्छ । यसअनुसार थप ५० ग्रामका लागि ५२ हजार ५०० रुपैयाँ भन्सार तिर्नुपर्छ । कसैले सय ग्रामभन्दा बढी सुन ल्याएमा जफत हुन्छ । ५० ग्रामभन्दा बढी सुनका गहना ल्याएमा प्रति १० ग्राम १० हजार ५०० रुपैयाँ र थप सय ग्रामसम्म ल्याएमा प्रति १० ग्राम १२ हजार ५०० रुपैयाँका दरले भन्सार शुल्क तिर्नुपर्छ । सोभन्दा ठूलो परिमाणमा सुनको गहना लगाएर आएमा जफत हुन्छ ।

‘अहिले काँचो सुनलाई बेरुवा औंठी वा बाला बनाएर गहना भन्दै ल्याउनेहरु बढेको भन्दै विमानस्थल भन्सार प्रमुख पोखरेल भन्नुहुन्छ, ‘तस्करी गर्ने नियतले ल्याइने सुन बरामद गरेर तोकिएको परिमाणसम्म भए भन्सार तिराएर छाड्छौं, तोकिएभन्दा बढी भए जफत गर्नेगरेका छौँ, कानुनी व्यवस्स्थाको ख्याल गरेर मात्रै सुन ल्याउन सबैलाई आग्रह गर्छौं ।’



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6