Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालका २२ बढी स्थानको तापक्रम ४० डिग्रीभन्दा बढी, गर्मीले जनजीवन प्रभावित !

नेपालका २२ बढी स्थानको तापक्रम ४० डिग्रीभन्दा बढी, गर्मीले जनजीवन प्रभावित !


काठमाडौं । गएको बुधबार नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरमा मापन भएको देशकै सबैभन्दा बढी तापक्रम शुक्रबार फेरि ‘ब्रेक’ भएको छ । जल तथा मौसम विज्ञान विभागले शुक्रबार सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको मौसमको विवरणअनुसार नवलपुरको दुम्कौलीमा तापक्रम ४४ डिग्री सेल्सियस मापन गरिएको हो ।

बुधबार दुम्कौलीमा अधिकतम तापक्रम ४३ दशमलव आठ डिग्री सेल्सियस मापन गरिएको थियो । विभागका अनुसार शुक्रबार देशका विभिन्न २२ ठाउँमा ४० डिग्रीभन्दा बढी तापक्रम मापन गरिएको छ । तराईका विभिन्न ठाउँमा केही दिनदेखि नै तापक्रम ४० डिग्रीभन्दा माथि पुगेको छ । बाँके, चितवन, पर्सा, वारा, सर्लाही लगायतका जिल्लाहरुमा तापक्रम ४२ डिग्री सेल्सियस भन्दा बढी मापन गरिएको छ । ओखलढुंगा, सुनसरी, इलाम र नवलपरासीमा अहिलेसम्मकै उच्च गर्मी भएको छ । जल तथा मौसम विज्ञान विभागले यी जिल्लाहरुमा हालसम्मकै उच्च तापक्रम मापन गरेको छ भने यो क्रम केही दिन रहने समेत जनाएको छ ।

देशका तराई, भित्री मधेश, पहाडी उपत्यका तथा खोँचहरु साथै पहाडी भू–भागका धेरै ठाउँहरुमा केही दिनदेखि नै अधिकतम तापक्रम बढेर तातो हावा चलेको छ । निरन्तर तापक्रम बढ्ने, घाम चर्कने हुँदा जनजीवन असहज बन्दै गएको छ । तत्काल ठूलो पानी पर्ने सम्भावना नभएकाले गर्मी अझै बढ्ने मौसमविदले बताएका छन् । गर्मीबाट बच्नका लागि परोपकारी संस्थाहरुले ठाउँ ठाउँमा माटोको भाँडाहरुमा पानी राखेर खुवाउने, सातु खुवाउने, कागती हालेर पानी खुवाउने र मोही खुवाउने परम्परागत विधिलाई निरन्तरता दिन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. अनिल पोखरेलले आग्रह गर्नुभएको छ ।

अझै केही दिन ‘हिट वेभ’
मौसमविद् शान्ति कँडेलले यस वर्ष देशका धेरैजसो भू–भागमा सरदरभन्दा कम पानी पर्ने र सरदरभन्दा बढी अधिकतम तापक्रम हुने जानकारि दिनुभयो । न्यूनतम तापक्रम पनि सरदरभन्दा धेरै बढी हुने आँकलन गर्ने मौसम पूर्वानुमान महाशाखाले नेपालमा जुन १३ देखि मात्रै मनसुन प्रवेश हुने भएकाले अझै केही दिन ‘हिट वेभ’ बढ्ने जनाएको छ । पूर्वसूचना प्रणाली कमजोर रहेको भन्दै विज्ञहरुले सरकारको आलोचना समेत गरेका छन् ।

यसरी अपनाऔँ सावधानी
गर्मीका कारण ‘लु’ लाग्ने, बान्ता हुने, थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्न सक्ने भन्दै चिकित्सकहरुले सावधानी अपनाउन आग्रह गरेका छन् । तातो हावाबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो ठाउँमा रहन, हलुका लुगा लगाउने, बाहिर निस्किँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित पानी तथा झोल पदार्थ (जुस, सर्बत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह, सुझाव लिनुपर्ने चिकित्सकहरूको सुझाव रहेको छ ।

किन तापक्रा बढिरहेको छ त ?
हरितगृह ग्यास उत्सर्जनका कारण यो शताब्दीको अन्त्यसम्म पृथ्वीको तापक्रम ३ डिग्री सेल्सियस वृद्धि हुने वैज्ञानिकहरूले यसअघि नै भविष्यवाणी गरेका थिए। वैज्ञानिकहरूका अनुसार विश्वको औसत तापक्रम १.५ डिग्री सेल्सियस वृद्धि हुँदा नेपालको औसत तापक्रम २ डिग्रीले वृद्धि हुन्छ। त्यसकारण पनि तापक्रम वृद्धिको प्रभाव नेपालमा बढी देखिएको अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसिमोड) ले जनाएको छ । सन् २०१९ मा प्रकाशित गरेको मूल्यांकन प्रतिवेदनमा नै यो आँकलन सार्वजनिक भैसकेको छ । यो प्रतिवेदन अनुसार विश्वव्यापी तापक्रम सरदर १.५ डिग्री वृद्धि हुँदा हिमालमा २ डिग्री सेल्सियस वृद्धि हुने उल्लेख छ । अहिलेकै अवस्थामा उत्सर्जन कायम रहे हिमालमा तापक्रम वृद्धि ५ डिग्री सेल्सियसका दरले हुने चेतावनी समेत दिइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6