Saturday, 24 October 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ Australia ∕ यसकारण जिते अनिलले, यी हुन अरु विजयीहरु

यसकारण जिते अनिलले, यी हुन अरु विजयीहरु


सिड्नी/सरल गुरुङ, सिड्नीको पारामाट्टामा शनिवार राति साढे १० बजेतिर अनिल समुहले जितको खुसी मनाईरहदा म पनि नजिकै थिए । चुनावको रणनीति, प्रचारप्रसार, मतदातासंगको कुराकानी तथा बदलिदो परिवेशलाई मुल्यांकन गर्दा अनिलले जित्न सक्ने संभावना बलियो बन्दै आएको थियो, खासगरि पछिल्लो २ हप्ता । 

निर्वाचन समितिका प्रमुख टोनु घोतानेले अध्यक्षको मत गणना सुनाईरहदा अनिल र उनीसंगै रहेका शुभचिन्तकहरु जितको खुसी मनाउन आतुर देखिन्थे । ५ हजार २ सय ६८ मत ल्याएर अनिल पोखरेल विजयी समेत भए । उनले प्राप्त गरेको मत निकटम प्रतिद्वन्द्वीले पाएको भोट भन्दा १८ सय ८८ ले धेरै हो ।देव गुरुङ ३ हजार ३ सय ८० मत ल्याएर दोस्रो भए भने, ३ हजार ३ सय ४७ मत ल्याएर डिला खरेलले तेस्रो स्थान हासिल गरे ।

अनिल कुल खसेको मत १२ हजार ६ सय १७ को ४२ प्रतिशत मत प्राप्त गरेर विजयी भएका हुन् ।

एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा विजयी अनिल

कुल मतदाता संख्या  १४ हजार ५ सय ६२ रहेपनि ८७ प्रतिशत मतदाताले मात्र चुनावमा भाग लिएको निर्वाचन समिति प्रमुख घोतानेले जानकारी दिनुभयो ।

आधिकारिकताको लडाईको उपलब्धी

हुन त गैर आवासिय नेपाली संघलाई नेपालको राजनीतिबाट मुक्त राख्नुपर्ने हो । तर, उमेद्वारहरुको छनोटमा नेपाली दलसंग निकटरहेका प्रवासी संस्था र यसका पदाधिकारीको राम्रै चहलपहल रहन्छ ।

अष्ट्रेलियाको यसपालीको एनआरएनए चुनावमा अध्यक्ष पदमा प्रजातान्त्रिक समुहबाट दुई उमेद्वार मैदानमा थिए, अनिल पोखरेल र डिला खरेल ।

नेपालको प्रजातान्त्रिक विचार बोक्ने जनसम्पर्क सिमिति अष्ट्रेलियाले चुनाव आउनु केही महिना अघि नै आफ्नो आधिकारिक उमेद्वार छनोट गर्दै आएको छ ।

सबै राज्य र टेरिटोरीबाट ५० देखि ७० जनाको स्टेरिङ कमिटी (छनोट उपसमिति) छानिने परम्परा छ । त्यहि स्टेरिङ कमिटीबाट ५जनाको छनोट समिति बनाईन्छ । यो समितिले प्रजातान्त्रिक समुहबाट एक जना साझा व्यक्ति छानेर अध्यक्ष तथा अन्य सदस्यहरुकोउमेद्वार बनाउने गर्छ ।

समितिले लोकप्रियता, काम गर्ने क्षमता, अनुभव, व्यक्तिगत चरित्र सबै पक्ष विश्लेषण गरेर साझा उमेद्वार छान्ने गरेको समितिका एक सदस्यले नेपालट्युबलाई जानकारी दिए ।

समितिले सर्वसम्मतबाट उमेद्वार छान्ने प्रकृया रहेको समेत ती सदस्यले बताए । तर, यसपाली आधिकारिक उमेद्वार चयन गर्न ती ५ सदस्यहरुबिच सहमति हुन सकेन । डिला खरेल र अनिल पोखरेलमा मत विभाजन भयो ।

‘छनोट समितिमा सर्वसम्मत नभएपछि, उमेद्वारहरुको छनोट गर्ने प्रकृया स्टेरिङ कमिटीमा लानुपर्ने प्रकृया छ‘-जनसम्पर्क समिति अष्ट्रेलियाका महामन्त्री अच्युत अधिकारीले बताए । तर, यसपाली स्टेरिङ कमिटीमा उमेद्वार छनोट प्रकृया पुगेन । त्यसैले प्रजातान्त्रिक समुहका डिला र अनिल दुबै मैदानमा उत्रिए । यी दुई उमेद्वारबिच प्रजातान्त्रिक समुहबाट आधिकारिक कुन हो भन्ने प्रश्न उब्जिरहेका बेला अर्का अध्यक्षका उमेद्वार देव गुरुङ प्रजातान्त्रिक समुहको भोट बाडिदा आफुलाई फाईदा पग्ने अभिलाषाका साथ चुनावी दौडमा होमिएका थिए ।

खास खेल

प्रजातान्त्रिक समुहका दुई उमेद्वार आफ्ना पक्षमा मत बटुल्न देश दौडाहमा लागे । अनिललाई भिक्टोरिया, कुईन्सल्याण्ड, तास्मानिया र नर्दन टेरिटोरीका प्रजातान्त्रिक समुहले खुलेर साथ दिए । अनिलको पकड रहेको नर्दन टेरिटोरी र कुईन्सल्याण्डमा  २१ सय बढी मतदाता थिए । यी दुई क्षेत्रमा सर्वसम्मत पदाधिकारी छानिएपछि, अनिलको विजयी यात्रा बलियो भयो । भिक्टोरिया राज्यका प्रजातान्त्रिक समुहका अगुवाहरु सुरुदेखि नै अनिलको पक्षमा थिए । भिक्टोरियामा २२ सय मतदाता थिए । अब तास्मानिया पनि जोडिए पछि समिकरण बलियो बन्यो । एनआरएनए अष्ट्रेलियामा लगातार दुई कार्यकाल कोषाध्यक्ष बनेर उत्कृष्ट काम गरिसकेका अनिल तुलनात्मक रुपमा अन्य उमेद्वार भन्दा कान्छा हुन् । सिड्नीमा लामो समयदेखि बसेर युवा पुस्तामा भिजेकाले समेत अनिललाई न्यु साउथवेल्सबाट मत राम्रै मत आयो ।

तीनै जना अध्यक्षले १२ सयको हाराहारीमा न्यु साउथ वेल्सबाट मत ल्याएकाले अनिलको जित्ने संभावना बढ्यो ।

विजयी भएपछि संक्षिप्त कुरागर्दै अनिलले यसपाली क्रमभंग गरिएका बताए । काम गर्ने टिम छनोट भएकाले जनताले परिवर्तन महसुसगर्ने गरि काम गर्ने प्रतिवद्धता समेत गरे । यसअघि चुनावका बेला विपक्षी भएर उठेका उमेद्वार र समुहसंग समेत हातेमालो गरेर काम गर्नेअनिलको भनाई छ ।

अरु को को विजयी भए ?

राज्य र टेरिटोरी संयोजकहरु एनआरएनए अष्ट्रेलियाको उपाध्यक्ष समेत हुन्छन् ।  ६ राज्य तथा दुई टेरीटोरीमध्ये साउथ अष्ट्रेलिया, नर्दनटेरीटोरी, क्युन्सल्याण्ड, क्यानबेरा, र वेष्टर्न अष्ट्रेलियामा यसअघि नै सर्वसम्मतले नेतृत्व चयन भएका छन् । जसमा क्रमश: संजयराज पुरी, सञ्जिव ढकाल, शम्भु घाईस, बिक्रम सुवेदी र शेखर घिमिरे चयन भएका हुन् । बाँकी ३ राज्यमा निर्वाचन मार्फत संयोजक चयन गरिएको छ । जसमध्ये न्यु साउथ वेल्समा विनोद बहादुर कुंवर, भिक्टोरियामा मणिरतन सापकोटा र तास्मानियामा जगदीश खड्का चयन भएका छन् । राज्यसंयोजकका लागि सबैभन्दा बढी न्यु साउथ वेल्समा ४ जनाले उम्मेदवारी दिएका थिए ।

निर्वाचन आयोगले दिएको विवरण अनुसार महासचिवमा सन्तोष कुंवर विजयी बनेका छन् भने सचिवमा थिर गुरुङ, कोषाध्यक्षमा अर्जुन गौतम, सहकोषाध्यक्षमा रोजी पन्त, युवा संयोजक सुमन बोहरा र सहसंयोजकमा दीमन राजोपाध्याय विजयी बनेका छन् । यसैगरी युवासचिवमा पुकार घिमिरे र युवा कोषाध्यक्षमा अस्मिन घिमिरे निर्वाचित भएका छन् ।

एनआरएनएको महिला संगठन नारी निकुञ्जको संयोजकमा संगीता भण्डारी चापागाईं र सह संयोजकमा रत्ना गौतम निर्विरोध चयनभएका छन ।

निर्वाचन मार्फत एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय समितिका लागि ८ जना सदस्य निर्वाचित भएका छन् । डा. भरतराज पौडेल, सुजनअधिकारी, डिल्लीराम ढकाल, दिनेश अधिकारी, मदन पौडेल, नारायण कटुवाल, रमेश अधिकारी, टीकाराम भुर्तेल आइसीसी सदस्यबन्न सफल भएका छन् ।

निर्वाचित समितिको कार्यकाल दुई वर्षको हुनेछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-10-24' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6