Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalनेपाल अपडेट: विदेशी लगानीको आह्वान देखि अर्ली ईलेक्सनको चर्चासम्म

नेपाल अपडेट: विदेशी लगानीको आह्वान देखि अर्ली ईलेक्सनको चर्चासम्म


काठमाडौं । नेपालमा बैदेशिक लगानीको वातावरण बनेको दाबी गरिए पनि सोचेजस्तो लगानी भित्र्याउन सकिएको छैन । लगानीको वातावरण बनेको भन्दै सभामुखले गरेको आह्वान, मध्यावधि निर्वाचनको चर्चा, भीआपी समेतको संलग्नतामा भएको नक्कली भुटानी शरणार्थी प्रकरणको फैसला लगायतका प्रमुख ५ खबर यस्ता छन्

लगानी बढाउन विदेशी लगानीकर्तालाई आह्वान
सभामुख देवराज घिमिरेले नेपालको अर्थतन्त्र प्रतिकुलताबाट अनुकुलतातर्फ देखिएको दाबी गर्दै ढुक्क भएर लगानी बढाउन विदेशी लगानीकर्तालाई आह्वान गर्नुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा काठमाडौंमा सुरु भएको नवौं अन्तर्राष्ट्रिय व्यापार मेला-२०२३ काे उद्घाटन गर्दै सभामुख घिमिरेले यस्तो बताउनुभएको हो । सभामुख घिमिरेले थोरै नाफा लिएर गइहालौँ भन्ने सोचबाट अनुकुलतातर्फ गइरहेको नेपालको अर्थतन्त्रबाट अब झनै फाइदा लिनेगरी लगानी गर्न आग्रह गर्नुभयो । सभामुख घिमिरेले आर्थिक मन्दी रहेको र व्यवसायिक वातावरण नभएको प्रचार गरी मुलुकको अर्थतन्त्र कमजोर बनाउने भन्दा पनि सरकार र निजी क्षेत्रबीचको सौहाद्रपूर्ण सम्बन्धको जगमा लगानीमैत्री वातावरण बनाउनुपर्ने बताउनुभएको छ ।

ओली र लामिछानेको मध्यावधी निर्वाचन रटान
मिसन ८४ का लागि तयार रहन पार्टीपंक्तिलाई निर्देशन दिदै आएका एमाले अध्यक्ष केपी शर्मा ओलीसँगै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेले समेत मध्यावधि निर्वाचनको रटान लगाउन थालका छन् । एमाले अध्यक्ष ओलीले पार्टीको छैटौं केन्द्रीय कमिटी बैठकमै बोल्ने क्रममा मिसन ०८४ को तयारीसँगै अकस्मात् मध्यावधि चुनावको अवस्था आउनसक्ने भएकाले तयार हुनुपर्ने बताउनुभएको थियो । ओलीले बैतडीको झुलाघाटबाट पश्चिम–पूर्व मध्यपहाड यात्राको थालनीका क्रममा समेत मध्यावधिको प्रशंग कोट्याउनु भयो । यता, ओलीकै बोलीमा लोली मिलाउँदै संसदको चौथो ठूलो दल रास्वपाका सभापति लामिछानेले पार्टीको महोत्तरी बैठकका क्रममा मध्यावधि चुनावको प्रसंग कोट्याउनुभयो । मिसन ८४ कै तयारी गर्ने भएपनि ठूला भनिने दलहरुभित्र रडाको र पार्टी फुटले बीचैमा मध्यावधिको अवस्था आएमा तयारी हुनुपर्ने लामिछानेले बताएका छन् । गत वर्षको मंसिर ४ को चुनावमा दोस्रो स्थानमा चित्त बुझाउन बाध्य भएदेखि नै मध्यावधि चुनावको चर्चा गर्न थाल्नुभएको थियो । यता पहिलो प्रयासमै संसदको चौथो शक्ति बनेको रास्वपामा समेत मध्यावधि बारे तयारी हुनुलाई चासोका साथ हेरिएको छ । यता, संविधानविद् भीमार्जुन आचार्य संबैधानिक आधार नै नहेरी खाली आफ्नो र पार्टीको स्वार्थका लागि मध्यावधि–मध्यावधि भन्दै कराउँन थालिएको बताउनुहुन्छ । मध्यावधि व्यक्तिको रहर र लहडले नहुने भन्दै संवैधानिक आधार दिन र राजनीतिक तर्क जुटाउन उहाँको सुझाव छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणको फैसला आज
नक्कली भुटानी शरणार्थी प्रकरणमामाथि पाटन उच्च अदालतमा बहसको क्रम टुंगिएको छ । न्यायाधीशद्धय जनक पाण्डे र प्रकाश खरेलको ईजलासमा मंसीर ५ गतेबाट सुरु भएको सुनुवाई बिहीबार टुंगिएको हो । बहस टुंगिएर बिहीबार हेर्दाहेर्दैमा राखिएको मुद्दाको फैसला आज आउने उच्च अदालत पाटनका प्रवक्ता तिर्थराज भट्टराईले जानकारी दिनुभएको छ । गत असार १ गते काठमाडौं जिल्ला अदालतले अभियुक्तहरुलाई तत्काल प्राप्त प्रमाणका आधारमा कसुरदार होइनन् भन्न नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण र सरकारका बहालवाला सचिव टेकनारायण पाण्डेसँगै शरणार्थी प्रकरणका विचौलियाहरु सानु भण्डारी, केशव दुलाल, आङटावा शेर्पा, डा. ईन्द्रजीत राई, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, सन्देश शर्मा, शम्शेर मियाँ लगायत थुनामा रहेका छन् । उनीहरुले काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध पाटन उच्च अदालतमा मुद्दा दायर पछि सुनुवाइ सुरु भएको थियो ।

नेपालमा घट्यो ईन्धनको मुल्य
नेपाल आयल निगमले बिहीबर मध्यरातिदेखि लागू हुने गरी डिजेल, मट्टितेल र पेट्रेलको मूल्य घटाएको छ । पेट्रोलमा प्रति लिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रति लिटर ४ रुपैयाँ मुल्य घटेको हो । एलपी ग्यासको मुख्य देशभर प्रति सिलिण्डर १८९५ रुपैयाँ नै यथावत राखिएको छ ।

ललितपुरका सडकमा स्मार्ट बत्ती
ललितपुरमा एकै पटक १४ सय वटा स्मार्ट सडक बत्तीकाे उद्घाटन भएकाे छ । बिहीवार ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्मार्ट सडक बत्तीकाे संयुक्तरूपमा उद्घाटन गर्नुभयो । दाेस्राे चरणअन्तर्गत ललितपुरकाे भैँसे, खाेकना, बुङ्गमती, धापाखेल, सुनाकाेठी र हरिसिद्धीमा १ हजार ४ स्मार्ट बत्ती जडान गरिएका हुन । ३२ किलाेमिटर सडक उज्यालो बनाउन नाै कराेड २५ लाख रुपैयाँकाे लागतमा स्मार्ट बत्ती जडान भएकाे महानगरपालिकाले जनाएकाे छ । यसमा ६० प्रतिशत लगानी महानगरकाे र ४० प्रतिशत प्राधिकरणकाे छ । महानगरले यसअघि पहिलाे चरणमा कुपण्डाेल, जावलाखेल, लगनखेल, सातदाेबाटाे, एकान्तकुना, मङ्गलबजार, पाटन ढाेका क्षेत्रमा छ सय ६९ वटा स्मार्ट बत्ती जडान गरेकाे थियाे । पहिलाे चरणकाे स्मार्ट बत्ती जडान गर्दा महानगर एक्लैले पाँच कराेड पाँच लाख रुपैयाँ खर्च बेहाेरेकाे थियोे ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6