Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaरबी लामिछाने आफ्नै कर्मले फस्दैछन कि फसाईदै ? यस्तो आयो प्रष्टिकरण

रबी लामिछाने आफ्नै कर्मले फस्दैछन कि फसाईदै ? यस्तो आयो प्रष्टिकरण


काठमाडौं । ग्यालेक्सी फोरके टेलिभिजन छाड्दा रबी लामिछानेको खातामा १ करोड ८० लाख डिपोजिट शिर्षकमा प्रकाशित समाचारको खण्डन गर्दै पूर्वसञ्चारकर्मी समेत रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछानेले आफ्नो बचाउ गर्नुभएको छ । पत्रकार सम्मेलन र फेसबुक स्ट्याटस समेत पोष्ट गर्दै रास्वपा सभापति लामिछानेले डिपोजिट स्लिपकै आधारमा खातामा रकम जम्मा भयो भनेर ठोकुवा गर्दै गलत समाचार आएको दाबी गर्नुभएको हो ।

रबि लामिछानेले भन्नुभएको छ – “जबकि बैँकले नै खातामा रकम जम्मा भएको छैन भनिसक्यो। बैँकमा भएका हरेक कारोबार नियामक निकायको नियमनमा हुन्छ। यो क्षेत्रमा पारदर्शीता हुन्छ। कसैले लुकाएर वा लुकाउन चाहेर लुक्ने, छिप्‍ने कुरै होइन यो। अब फेरि मैले रकम बुझिलिएँ भनेर ल्याप्चे नै ठोकेको कागज राखेर यसले पैसा लिएकै हो, ढाँट्यो भनेर पनि भ्रम फैलाउन सकिएला। जबकि त्यो कानुनी प्रक्रियाका लागि मात्र हो, रकम लेनदेन भएको छैन ।”

यति मात्रै नभएर उहाँले सेयर हस्तान्तरणको प्रक्रिया बारे स्पष्ट पार्न सामाजिक सञ्जाल फेसबुक मार्फत थप लेख्नुभएको छ – “मैले सुरुदेखि नै स्वीकार गर्दै आएको छु, ग्यालेक्सी टिभी सञ्चालन गर्ने कम्पनी गोर्खा मिडियामा म संलग्न हुन जानुअघि त्यसका प्रमोटर र म बीच कम्पनीको १५ प्रतिशत सेयर मेरो नाममा गुडविल बापत् अर्थात् बिना लगानी कायम गर्ने सहमति भएको थियो। यसलाई पसिनाको कमाई वा स्वेट सेयर पनि भन्ने गरिन्छ बोलीचालीको भाषामा । यो शेयरलाई कम्पनी रजिष्ट्रारको कार्यालयमा शेयर लगत कायम गर्न आवश्यक कानुनी प्रबन्ध र कागजपत्र कम्पनी स्वयंले मिलाउने भन्ने सहमति पनि थियो। यो किन भएको थियो भने यी कानुनी मामिलामा संलग्न हुन मसँग समय थिएन। टेलिभिजन सञ्चालनको लागि कार्यक्रम,समाचार, कर्मचारी,प्रविधि लगायतको आन्तरिक व्यवस्थापन गर्ने मेरो मुल जिम्मेवारी थियो। मेरो नाममा शेयर लगत कायम गर्न आवश्यक काम गोर्खा मिडियाले नै गर्‍यो, त्यति बेला मैले सोधखोज पनि गरिनँ। बरु सार्वजनिक रुपमा कार्यक्रमको पहिलो एपिसोडमा खुलस्त पारिदिए। बाँकी प्रक्रियागत कुरा मिलाउन के के गरिन्छ भन्ने कुरा जगजाहेर कुरा हो। हिम्मत जुटाएर खोजौं र सबले मम भनौं। तर मैले छुट पाउनु पर्छ भन्ने मेरो दावी पटक्कै होइन। जब मैले ग्यालेक्सी टिभी छोड्ने निर्णय गरेँ, त्यतिबेला कम्पनीले मेरो गुडविल उपयोग गर्न नसक्ने भयो। त्यसकारण मैले इमान्दारीपूर्वक बिना लगानी लिएको उक्त शेयर बिना रकम नै फिर्ता गर्न सहमति जनाएँ। तर, यहाँ पनि अर्को कानुनी समस्या देखिएछ। मेरो नामको शेयर जसको नाममा नामसारी भई कम्पनी रजिष्ट्रारको कार्यालयमा लगत कायम हुनुपर्ने हो, उसले मेरो शेयर किनेको देखिनुपर्ने भएछ। मैले शेयर कसको नाममा नामसारी गरिदिनुपर्ने पनि सोधेको होइन। गोर्खा मिडियाका अध्यक्ष जीबी राईकै नाममा लगत कायम गर्ने निर्णय भयो, मैले प्रक्रिया पूरा गरीदिए। कम्पनी शेयर किनबेचमा यो अति सामन्य अभ्यास हो र फेरीपनि मैले छुट पाउनु पर्छ भन्ने मेरो दावी होइन। यो पनि टिभी छोड्दा सारा दर्शक सामु स्पष्ट पारिदिएको छु र भनेको छु कि मैले आफ्नो भागको शेयर एक पैसा नलिइ फिर्ता गरेको छु, जसमा मेरो एक पैसापनि परेको थिएन। कम्पनी रजिस्ट्रारको कार्यालयमा शेयर बिक्री भए वापत रकम कारोबार भएको प्रमाण आवश्यक त पर्छ नै। अर्थात् मेरो १५ प्रतिशत शेयर जसलाई बिक्री गरेको हो उसले मलाई रकम दिएको देखिनु पर्ने थियो। त्यही प्रक्रिया कै लागि मैले शेयर छाडेको कागज गरेँ, मेरो शेयर खरिद गरेबापतको रकम जीबी राईले मेरो खातामा जम्मा गरेको भौचर देखिए पनि रकम खातामा आएन। सायद त्यो आवश्यक प्रक्रिया मात्रै थियोे जुन यस्तै ढंगले पूरा गरिने आम अभ्यास छ । त्यसैका आधारमा शायद भौचर मात्र राखी कम्पनी रजिष्ट्रारको कार्यालयमा जीबी राईको नाममा शेयर नामसारी भई दाखिला पनि भएको हुनु पर्छ।”

रबिले समाचारको खण्डन भन्दा पनि स्पष्ट पार्ने कुरामा बढी जोड दिनुभएको छ । जीबी राईको खातामा जति रकमको चेक काटियो, त्यति पुग्ने पैसा नै नभएका कारण खातामा पैसा नआएको र यो सब कारोबार आफूले पैसा लिन नभई प्रकृया पूरा गर्न भएको दाबी उहाँको छ । पैसा लिन चाहेको भए उक्त चेक क्लियर नभएको विरुद्ध चेक बाउन्स मुद्दामा जान सक्ने आधार हुँदाहुँदै स्वेच्छाले शेयर छाडेको जिकिर रास्वपा सभापति लामिछानेले गर्नुभएको छ । प्रक्रिया बारे आफै बेलिविस्तार लगाउनुभएका रबीले सारा कारोबारबारे थाहा हुनु आवश्यक पनि थिएन। किनकि मैले त शेयर फिर्ता गर्नुपर्ने दायित्व थियो, गरेँ। भन्दै यसमा मेरो दोष कति भयो कति भएन आफै मूल्याकंन गर्न भन्नुभएको छ ।

गल्ती गर्दा तिर्नु, बुझाउनु,सहनु पर्ने कुरामा आफू सधैं राजी भएको जिकिर गर्दै रबिले अब राज्यको निकायलाई झुक्याएको, कीर्ते गरेको जस्ता आरोप लाग्नसक्नेतर्फ लक्षित गर्दै कम्पनी रजिस्ट्रारको कानुनी संरचना माथि उल्टै प्रश्न उठाउनुभएको छ । एक सामान्य जीवन बाट आएको मान्छे कमजोरी अनेकौं छन् तर गल्ती नगर्ने प्रयास जारी रहेको जिकिर रास्वपा सभापति रबीले गर्दै आउनुभएको छ ।

यता, गल्ती नगरेको नगर्ने दाबी गरिरहने उनै रबी लामिछाने पूर्वसहकर्मीको रहश्यमय मृत्यु प्रकरण, कहिले दोहोरो नागरिकता, कहिले दोहोरो राहदानी, कहिले घरको छतबाट खसेर आफ्नै चालकको रहश्यमय मृत्यु,कहिले नेपालका सबै डाटा बिदेशी पँहुचमा पुर्याउन भुमिका खेलेको, मन्त्री बनाउन कोर टिमबाट करोडौं मागेको लगायतका बिवादमा फस्दै आउनुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6