Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा साइबर हिंसाको मारमा महिला र बालबालिका, कसरी जोगिने ?

नेपालमा साइबर हिंसाको मारमा महिला र बालबालिका, कसरी जोगिने ?


काठमाडौं । नेपालमा साइबर (अनलाइन) हिंसाको मारमा सबैभन्दा बढी महिला र बालबालिका रहेको पाइएको छ । साइबर हिंसा नियन्त्रण बारे संवाहिका समाज नेपाल नामको संस्थाले गरेको पछिल्लो अध्ययनले १९ वर्ष मुनीका किशोर किशोरीहरु साइबर हिंसाको उच्च जोखिममा रहेको तथ्य उजागर गरेको हो ।

हिंसामा परेका महिला बालबालिकाका धेरै उजुरीमा जिस्काउने, प्रेम प्रस्ताव वा यौन प्रस्ताव नमान्दा धम्काउने, नग्न तस्बिरमा व्यक्तिको मुहार जोडी अनलाइनमा राख्ने, अश्लील फोटो तथा भिडियो सामाजिक सञ्जालमा प्रकाशित गर्ने, सामाजिक सञ्जालमा अन्य व्यक्तिको नाम र तस्बिर प्रयोग गरेर प्रोफाइल पेज खोलेर बेइज्जत गर्ने तथा दुःख दिनेलगायतका गतिबिधि गरिएको उल्लेख छ । यसरी अनलाइन उपकरणको दुरुपयोगबाट हुने गरेका हिंसामा सर्वसाधारण मात्र नभएर सार्वजनिक छवि भएका, प्रशासक, राजनीतिज्ञ, मानवअधिकार रक्षक, पत्रकार र सामाजिक अभियन्ता महिलासमेत पर्ने गरेका छन् । सामाजिक सञ्जालमा अश्लील गालीगलौज मात्र होइन, बलात्कार गर्ने र ज्यान मार्नेसम्मको धम्की आउने गरेको गुनासो पीडितले गर्ने गरेका छन् ।

सामाजिक अभियन्ता समेत रहनुभएका सिद्धि गणेश उच्चमाविका प्राचार्य केशव भण्डारी हातहातमा पुगेको स्मार्ट फोनले सुविधासँगै साइबर हिंसाको पीडा किशोर किशोरीहरुमा बढाएको बताउनुहुन्छ । सामाजिक सञ्जालको दुरुपयोग गरी हुने चरित्र हत्या, गालीगलौज, डरधम्की जस्ता गतिविधिले महिला तथा बालबालिकाको मानसिकता र जीवनयापनमा ठूलो असर पारेको दाबी गर्दै गुम्सिएर बस्ने नभई कानुनी उपचारमा जान भण्डारीको सुझाब छ । नेपाल प्रहरीको साइबर ब्युरोका प्रवक्ता दिपककुमार वस्तीले समेत साइबर हिंसा बढेको तर्फ सचेत गराउँदै सकेसम्म कसैले पठाएका अनलाइन लिङ्कहरुमा क्लिक नगर्न र अपरिचितले पठाएका कुनै पनि सन्देशहरुको जवाफ नदिन, कुनै हिंसा भोग्नुपरेमा कोही नजिकका आफन्त वा साथीभाइसँग सार्वजनिक गर्न र प्रहरीमा उजुरी दिन आह्वान गर्नुभएको छ । साइबर हिंसाले किशोर किशोरीमा मानसिक तनाव बढी हुने गरेको भन्दै वस्तीले कानुनी कारबाही बाट बच्न सबैलाई सचेत समेत गराउनुभएको छ ।

यस्तो छ हिंसाको भयाबह अवस्था
आर्थिक वर्ष २०७६\०७७ मा प्रहरीको साइबर ब्युरोमा दुई हजार तीन सय एक निवेदन आएकोमा गत आर्थिक वर्ष २०७९\०८० मा नौ हजार १३ निवेदन परेको तथ्यांकले नै हिंसाको अवस्था बढ्दो देखाएको छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा आर्थिक वर्ष २०७९\०८० मा मानव बेचबिखन तथा अवैध ओसारपसारका एक सय ५७ उजुरी परेका छन् । यसमा २१० महिला परेका छन् । धेरैले अनलाइन प्लेटफर्मका माध्ययमबाट चिनेको वा योजना बनाएको पाइएको छ, मानव बेचबिखनमा समेत साइबर अपराधको हिस्सा निक्कै ठूलो देखिएको छ । नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को प्रतिवेदनले समेत नेपालमा १५ देखि ४९ वर्ष उमेर समूहका २३ प्रतिशत महिलाले १५ वर्षकै उमेरदेखि शारिरीक हिंसा भोगेको उल्लेख छ ।

यस्तो छ कानुनी व्यवस्था
विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ ले अनलाइनमार्फत अरुलाई मानसिक यातना दिने वा जिस्काउने व्यवहारलाई हिंसा मानेको छ । कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चार माध्यमहरुबाट महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमयार्दित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था छ । ऐन अन्तर्गत बनेको नियमको उल्लंघन भएमा उल्लङ्घनकर्तालाई पचास हजार रुपैयाँसम्म जरिबाना वा छ महिनासम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरेको छ । कसूरबाट पीडित व्यक्तिलाई हुन गएको हानीनोक्सानी कसूरदारबाट मनासिव क्षतिपूर्ति भराई दिने समेत व्यवस्था समेत कानुनमा छ । सामाजिक सञ्जाललाई असामाजिक रुपमा प्रयोग गर्ने र अनलाइन हिंसा गर्नेहरु कानुनी कारबाहीबाट केही समय बचेपनि सधै जोगिन नसक्ने प्रहरी प्रवक्ता भिमप्रसाद ढकाल बताउनुहुन्छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6