Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsके तिम्रो देश नेपाल सुरक्षित छ ? भिजिट नेपाल

के तिम्रो देश नेपाल सुरक्षित छ ? भिजिट नेपाल


सरल गुरुङ

गतहप्ता व्रिजवेनको एक रेष्टुरेन्टमा भेटिएकी एक अष्ट्रेलियन साथी जेनिफरले मलाई सोधिन्- ‘के तिम्रो देश नेपाल घुम्नका लागि सुरक्षित छ त ? ‘
हरेक वर्ष जस्तो विभिन्न देश घुम्न जाने जेनिफरले निकै गहिरो प्रश्न सोधपछि मैले पनि मुस्कुराउदै भने –‘मेरो देशमा पर्यटकलाई भगवान जस्तै मान्छन् । त्यसैले नेपाल पर्यटकका लागि स्वर्ग हो । अब तिमी आफै भन स्वर्गमा घुम्न के को डर ।’ 
मेरो उत्तर मुस्कुराउदै सुनिरहेकी जेनिफरले वियर चुस्की लगाउदै सोधिन् –‘सन् २०१५ मा भूकम्पले त्यत्रो क्षति गर्यो अझै पनि डर त होला नि ?’ मैले उनैलाई प्रतिप्रश्न गरे नेपाल भूकम्पको जोखिम भएको देश त हो तर, प्राकृतिक प्रकोपको संभावना कहा हुदैन र ?

यहि मौका छोप्दै मैले थपे- ‘राजनीतिक स्थिरतासंगै नेपाल अहिले आर्थिक विकासमा दौडिरहेको छ । दुइ तिहाइको बलियो सरकार आर्थिक विकासका लागि पर्यटन प्रवद्र्धनमा जुटेको छ । ‘

मेरो कुरा ध्यान दिएर सुनिरहेकी जेनिफरलाई मैले सन् २०२० मा नेपाल घुम्नको लागि निम्तो दिए । उनले मेरो निम्तो स्विकारे झै गरि भनिन् आइ विल सि

अष्ट्रेलिया एसिया प्यासिफिक क्षेत्रमा भएपनि यहाँका बासिन्दालाई नेपाल हिमालयन देश हो भन्ने बाहेक अन्य खासै जानकारी छैन । जेनिफर त एउटा प्रतिनिधी पात्र मात्र हुन् । उनी जस्तै नेपाल घुम्न कत्तिको सुरक्षित छ भनेर चाल नपाउने अजीहरु थुप्रै छन् । नेपाल बारे जानकारी नहुदा वर्षको मुस्किलले ३० हजार अष्ट्रेलियन मात्रै नेपाल पुग्छन् । ती मध्ये अधिकांश नेपालीमुलकै अष्ट्रेलियन हुन् ।

सन् २०२० मा नेपाल जाने अष्ट्रेलियनको संख्या दोब्बर हुने अष्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहालले दावी गरे । नेपाल ट्युबसंग कुरा गर्दै राजदूत दाहालले भने नेपाल घुम्ने अष्ट्रेलियनको संख्या बढाउन यहाँका सबै नेपालीले आ आफ्नो स्थानबाट साथ दिनुपर्छ ।

अष्ट्रेलियनहरु घुम्न मन पराउछन् । अष्ट्रेलियन परराष्ट्र विभागको तथ्यांक अनुसार सन् २०१७ मा मात्रै ८८ लाख ७४ हजार ६ सय अष्ट्रेलियनले विश्वका २२ वटा देश भ्रमण गरे ।
अष्ट्रेलियनले सबैभन्दा धेरै घुम्ने देशमा एसिया प्यासिफिक क्षेत्रकै अर्को देश न्युजिल्याण्ड परेको छ । त्यस्तै दोस्रोमा अमेरिका, तेस्रोमा इन्डोनेसिया, चौथोमा वेलायत र पाचौमा सिंगापुर परेको छ ।
८८ लाख अष्ट्रेलियालीहरुले घुमेको मुख्य २२ वटा देशमा नेपाल किन परेन ? भौगोलिक हिसावले असाध्यै सुन्दर र साहसिक पर्यटनको केन्द्र नेपालमा अष्ट्रेलियन पर्यटक लैजान के गर्न सकिन्छ ? के नेपाल बारे अष्ट्रेलियनमा भ्रम छ त ?
भिजिट नेपालको अवसरमा यहाँका राजदुतावास, गैरआवासिय नेपाली संघ र नेपाली समुदायले यीनै प्रश्नको उत्तर खोजेर त्यसै अनुसार काम गर्नुपर्छ ।

यस्तो छ भिजिट नेपालको अष्ट्रेलिया तयारी

भिजिट नेपाल सफल बनाउन भन्दै अष्ट्रेलियाका नेपाली समुदाय, राजदुतावास, महावाणिज्यदुतहरु र गैर आवासिय नेपाली संघ तात्न थालेको छ । जनवरी ७ तारिखमा सिड्नी र व्रिजवेनमा भिजिट नेपाल २०२० को उद्घाटन कार्यक्रम हुदैछ ।
पर्यटनमन्त्री योगेश भट्टराई समेत सहभागी हुने सिड्नीको उद्घाटन कार्यक्रममा नेपालबारे पर्चापम्पलेट बाड्ने, नेपाली कलासंस्कृति झल्कने गरि झाँकी प्रदर्शन गरिने भएको छ ।
व्रिजवेनमा पनि नेपालको परिचय दिन पर्चापम्पेट बाड्ने र सांस्कृतिक प्रस्तुती दिने तयारी छ । त्यस्तै जनवरी ७ तारिखको बेलुका एनएसडब्लुको संसद भवनमा रात्रीभोजको आयोजना गरिने तयारी छ ।
त्यस्तै अष्ट्रेलियाका मुख्य शहरका सिटी बसहरुमा समेत नेपाल झल्कने पोष्टरहरुको विज्ञापन गरिने तयारी छ ।
नेपाल बारे जानकारी दिन पर्यटन बोर्डले बनाएको संक्षिप्त वृत्तचित्र अष्ट्रेलियामा समेत देखाउने व्यवस्था गर्न लागेको राजदूत दाहालले जानकारी दिए ।

नेपाल सुन्दर र शान्त छ भन्ने सन्देश

अष्ट्रेलियामा नेपालको पर्यटन प्रवद्र्धन गर्नका लागि नेपाल पर्यटन बोर्डले पर्यटनदूतहरु नियुक्त गरेको छ । कुइन्सल्याण्डमा स्वतन्त्रप्रताप शाह, न्यु साउथ वेल्समा बद्री अर्याल, भिक्टोरियामा चिरञ्जिवी देवकोटा र वेस्टर्न अष्ट्रेलियामा नील थपलिया पर्यटनदूतका रुपमा सक्रिय छन् ।
यीनै दूतमध्येका एक स्वतन्त्र प्रताप शाह अहिले कुइन्सल्याण्डमा भिजिट नेपालको प्रचारमा जुटेका छन् । जनवरी ७ तारिखमा व्रिजवेनमा भिजिट नेपालको उद्घाटन भव्य बनाउनका लागि जुटिरहेका शाहले नेपाल घुम्नका लागि सुन्दर मात्रै नभई सुरक्षित र शान्त छ भन्ने सन्देश प्रवाहमा जोड दिएको बताए ।
जसका लागि अष्ट्रेलियामा बसोबास गरिरहेका नेपालीहरुले आफ्ना स्थानिय साथीहरुलाई यहि सन्देशसहित नेपाल घुम्नका उत्साहित गर्नुपर्ने शाहको अनुरोध छ ।

त्यस्तै अर्का पर्यटनदूत चिरञ्जिवी देवकोटा यतिबेला अष्ट्रेलियाका मुख्य शहरमा कुद्ने सिटी बसहरुमा नेपाल झल्किने सामाग्री राख्ने आन्तरिक तयारीमा जुटेका छन् । प्रारम्भिक बजेट र योजना बारे दुतावास र पर्यटनबोर्डमा जानकारी गराइसकेका देवकोटा छिट्टै सिटीबसहरुमा नेपाल झल्कने सामाग्री राखिनेमा सकारात्मक देखिन्छन् ।
नेपालको हवाई र यातायात सेवा भरपर्दो नभएकाले पनि अष्ट्रेलियन पर्यटकहरुको राजाईमा नेपाल पर्न नसकेको देवकोटाको बुझाई छ । ‘अष्ट्रेलियनहरु काम र होलि डेको समय तालिका बनाएर घुम्न निस्कन्छन्’- देवकोटाले भने -‘तर, हाम्रो हवाईजहाजको समय तालिका फेरबदल भइरहने भएकाले पूर्वनिर्धारित समयमा काममा फर्कन सकिदैन की भन्ने डरका कारण उनीहरु नेपाल जादैनन् ।’ 
‘त्यसैले भिजिट नेपाल सफल बनाउने हो भने हामीले हाम्रो यातायात सेवालाई पनि नियमित गर्नुपर्छ ‘-देवकोटा थप्छन् -‘त्यसपछि अष्ट्रेलियामा हामीले नेपाल सुन्दर, शान्त र सुरक्षित भएको सन्देश दिनुपर्छ ।’



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6