Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा बढ्दै कोरोना कहर, एक जिल्लाबाट अर्को जिल्ला आवतजावतमा रोक

नेपालमा बढ्दै कोरोना कहर, एक जिल्लाबाट अर्को जिल्ला आवतजावतमा रोक


पुण्य धमला, काठमाडौं । पछिल्लो दुई दिनमा मात्रै नेपालमा १ सय ७ जना कोरोना संक्रमितको पहिचान भयो । मंगलबार एकैदिन सबैभन्दा बढी ८३ जना र सोमबार २४ जना संक्रमित पहिचान भएपछि नेपालमा कोरोना महामारि तिब्र गतिमा बढ्ने आँकलन गर्न थालिएको छ ।

कोभिड १९ संक्रमणको पहिलो केस देखिएको ५८ दिनपछि मात्र दोस्रो केस देखिएको नेपालमा तीन महिनासम्म संक्रमितको संख्या ३० मात्रै थियो । तर पछिल्लो एक महिनामा अर्थात बैशाखमा मात्रै १ सय ५७ जनामा कोरोना भाइरसको संक्रमण पहिचान भएपछि स्वास्थ्य क्षेत्रमा मात्रै होइन् सिंगो देशमा नै तरंग पैदा भएको छ । पछिल्लो समय एकाएक उकालो लागेको संक्रमणको ग्राफलाई सरकारी विज्ञहरुले नै खतराको संकेत भन्न थालेका छन् । वैशाख ५ गते उदयपुर र चितवनमा गरी १४ जनामा संक्रमण देखिएपछि निरन्तर बढ्न थालेका कोरोना संक्रमितको संख्या मंगलबार साझसम्म २ सय १७ पुगेको छ । केही सुरक्षित मानिएको काठमाडौं उपत्यकामा समेत संक्रमित पहिचान हुन थालेका छन् । बुधबार दिउँसो मात्रै पनि बाँके र कपिलवस्तुका दुई जना थपिएका छन् ।

मंगलबार ८३ जनामा कोरोना संक्रमण पहिचान हुँदा वीरगञ्जमा दुई र जनकपुरमा १ जान सञ्चारकर्मीमा कोरोना पोजेटिभ देखिएको छ । यस्तै नेकपाका प्रभावशाली नेता भीम रावलका भक्तपुर निवासी सुरक्षा गार्ड सशस्त्र प्रहरीमा कोरोना पोजेटिभ पहिचान भएको छ । ललितपुरको पुल्चोकस्थित आरोग्य फाउण्डेशनमा कार्यरत एक नर्स र कपिलवस्तुको तौलिहवा अस्पतालमा कार्यरत अर्की नर्समा कोरोना पोजेटिभ देखिएसँगै कोरोना तिब्र गतिमा सर्न थालेको हो कि भन्ने आशंका गर्न थालिएको छ ।

अहिले सरकारले उदयपुरको भुल्के, वीरगञ्ज, नेपालगञ्ज, रुपन्देही र कपिलवस्तुलाई कोभिड(१९ को हटस्पट मानेर पहिचान तथा संक्रमण रोकथामको कार्य गरिरहेको छ । यसबाहेक भारतसँग सिमाना जोडिएका विशेषगरी प्रदेश २ र पाँचका अधिकांश जिल्ला डेन्जर जोनमा परेका छन् । खुला सीमाका कारण भारतबाट रातको समयमा नेपालीहरु लुकिछिपी आउने गरेको र कतिपय काठमाडौं उपत्यकामा समेत प्रवेश गरेको भनिएपनि कुन ठाउँबाट कति मानिस आए भने एकिन रेकर्ड कहिकतै छैन । यसले झनै देशभर जोखिम बढाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञहरु नै भारतबाट आउनेहरुका कारण कोरोनाको जोखिमपूर्ण क्षेत्र अझ बढ्ने आँकलन गरिरहेका छन् । यसले के देखाउँछ भने हरेक नागरिक सतर्क नभए कोरोना हाम्रो नियन्त्रणभन्दा बाहिर जानसक्छ । पर्सामा भेटिएका केही संक्रमित र कपिलवस्तुका २९ जनामा भाइरसको लोड धेरै देखिएकाले संक्रमण दर उच्च हुनसक्नेतर्फ कतिपय विज्ञहरुले सरकारलाई ध्यानाकर्षण गराइरहेका छन् ।

एक जिल्लाबाट अर्को जिल्ला जाने पास रद्ध

कोरोनाको महामारी थप बढ्ने तथा उच्च जोखिममा रहेका क्षेत्रबाट अन्य स्थानमा समेत सर्नसक्ने तर्फ सचेत हुँदै गृहमन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जानसक्नेगरी जारी गरिएका सबै पास जेठ १ बाट लागू हुनेगरी रद्ध गरेको छ । यसका लागि मन्त्रालयले सबै जिल्लालाई परिपत्र गरिसकेको छ । पास खारेज गरिएसँगै अब एक जिल्लाबाट अर्को जिल्ला जानुपर्ने अत्यावश्यक काम परेमा उपत्यका बाहिरका जिल्लाहरुको हकमा पुग्ने जिल्लाबाट प्रमुख जिल्ला अधिकारीको स्वीकृति लिनुपर्नेछ । उपत्यका प्रवेश गर्ने पासका लागि भने गृह मन्त्रालयको स्वीकृति अनिवार्य लिनुपर्नेछ ।

पास बिना सवारी आवागमन गर्नेलाई कडाईका साथ रोक्न गृह मन्त्रालयले निर्देशन दिएको छ । २६ वैशाखदेखि लकडाउन केही खुकुलो भएसँगै सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था, उद्योग, निर्माण सेवा लगायतसँग सम्बद्ध व्यक्तिले कार्यालयको परिचय पत्रका आधारमा आवत जावत गरिरहेका थिए । अब अत्यावश्यक बाहेकका सबैका लागि सम्बन्धित नियमक निकायबाट पास अनिवार्य गरिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6