Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा नेपाली विमानको ईतिहास र भविष्य

अष्ट्रेलियामा नेपाली विमानको ईतिहास र भविष्य


सरल गुरुङ/सिड्नी
नेपाली हवाई ईतिहासका लागि जुन २३ मंगलबार निकै विशेष रहनेछ । किनकी नेपाली विमानले २५९ जना नेपाली यात्रु बोकेर पहिलो पटक अष्ट्रेलियाबाट काठमाडौको व्यापारिक उडान भरेको छ । यसअघि तीन पटकसम्म अष्ट्रेलिया आएको नेपाली विमान यताबाट दुई पटक रित्तै र एक पटक ११ जना यात्रु बोकेर फर्किएको थियो । जुन ८ मा राजधानी क्यानवेराबाट ११ जना यात्रु लिएर फर्किएको उडान चार्टर्ड थिएन । त्यसैले पनि मंगलबारको उडान नै नेपाली विमानले अष्ट्रेलियाबाट भरेको पहिलो व्यवसायिक उडान हो । यो उडानसंगै नेपाली विमानले अष्ट्रेलियासंग दोहोरो रुपमा व्यवसायिक उडान सम्पन्न गरि भविष्यका लागि थुप्रै संभावनाहरु खुल्ला गरिदिएको छ ।
त्यसो त यसअघि पनि सन् १९८० को दशकमा तत्कालिन राजाको शाही भ्रमणका बेला नेपाली विमानले कंगारोको भूमि नटेकेको होईन । तर, राजाहरुले विदेश भ्रमणमा नेपाली विमान प्रयोग गर्ने भएकाले त्यसलाई व्यापारिक उडान भन्न मिल्दैन ।

उडानको सिलसिला

मार्चको तेस्रो साताबाट अष्ट्रेलियाले अन्तराष्ट्रिय सिमा बन्द गरेर विदेशमा अड्किएका आफ्ना नागरिकको उद्दार गर्ने तयारी थालेको थियो । नेपालमा फसेका आफ्ना नागरिक, पिआरवाला र न्युजिल्याण्डका नागरिकलाई स्वदेश फर्काउन काठमाडौंस्थित अष्ट्रेलियन दूतावासले सस्तो भाडामा विमान चार्टर्ड गर्ने खोजिरहेको थियो । सुरुमा अन्य विदेशी विमान कम्पनीसंग दूतावासले छलफल नगरेको होईन । तर, भाडा मंहगो परेपछि अष्ट्रेलियन दूतावासको नजर नेपाल वायु सेवा निगमतिर पर्याे । हालै दुई नयाँ वाईडबडीबाट विभिन्न नयाँ गन्तव्यमा समेत उडान सुरु गरेको नेपाली राष्ट्रिय ध्वजाबाहक जहाजका लागि अष्ट्रेलियाका लागि गरिने उद्दार उडान अवसर र चुनौति दुबै थियो ।
अन्य विमान कम्पनीले भन्दा सस्तो (प्रतिव्यक्ति १६५० अमेरिकी डलर) मा उडान भर्ने सहमतिपछि अष्ट्रेलियन दूतावासले नेपाली विमानलाई छनोट गरेको हो । यो सहमतिका लागि निगमका नेतृत्वले खेलेको भूमिका महत्वपुर्ण छ ।

२३ जुनमा सिड्नीबाट उडान भर्न ठिक्क नेपाली विमानभित्र राजदूत महेश दाहाल

नेपाली ध्वजाबहाक विमान काठमाडौबाट २७० यात्रु बोकेर पहिलो पटक अप्रिल २ तारिखमा अष्ट्रेलियाको तेस्रो ठुलो शहर व्रिजवेन उत्रियो । पहिलो पटक भएकाले नेपाली पाईलटसंग अष्ट्रेलिया उडान भरेको अनुभव थिएन । त्यसैले पहिलो र दोस्रो उडानमा अष्ट्रेलियन पाईलटले नेपाली पाईलटलाई सघाए । दोश्रोपटक मे ७ तारिखमा काठमाडौबाट त्यतिनै यात्रु बोकेर सिड्नी आयो । त्यस्तै जुन ८ तारिखमा नेपाली विमानले दुई देशको राजधानीबिच सिधा उडान भर्याे काठमाडौबाट २७० यात्रु बोकेर नेपाली विमान क्यानवेरामा अवतरण भएको हो । तेस्रो उडानको नेतृत्व भने नेपाली पाईलटले मात्र गरेका थिए । तीन पटकसम्म विमान रित्तै फर्किएदा पनि यहाँ फसिरहेका नेपालीको उद्दार नगरेको भन्दै नेपाली समाजले आलोचना गरिरहदा अष्ट्रेलियाका नागरिकमाझ नेपाली विमानको राम्रो छाप परिसकेको थियो । तेस्रो उडानको बेला स्थानिय संचारमाध्यमले नेपाली विमान र त्यसका चालक पाईलट विजय लामाको मुक्तकण्ठले प्रशंसा समेत गर्न भ्याए ।

जुन २३ मा नेपाली विमान चढेर सिड्नीबाट स्वदेश फर्कन लागेका नेपाली विमानस्थलमा चेकईन गर्दै

कोरोनाका कारण विदेशमा अड्किएका नागरिकलाई फिर्ता ल्याउने नेपाल सरकारको निर्णय अनुसार पहिलो प्राथमिकतामा अष्ट्रेलिया पनि परेको छ । त्यस अनुसारले क्यानवेरास्थित नेपाली दूतावासले स्वदेश फर्कन ईच्छुक नागरिकको नामावली संकलन गरेको थियो ।
१३ सयले फारम भरेकोमा पहिलो चरणमा सिड्नी र मेलवर्नबाट दुई उडानमा २५८ जनाको दरमा नेपालीहरु स्वदेश फर्कदैछन् । दोस्रो उडान जुन २७ तारिखमा मेलवर्नबाट हुनेछ ।

भविष्य
नेपालले गत वर्ष अक्टोबरमा अष्ट्रेलियासंग सिधा उडान गर्न हवाई सम्झौता गरेको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाउ)को क्यानडाको मन्ट्रियलस्थित प्रधान कार्यालयमा द्विपक्षीय सम्झौता भएको हो । नेपालले हवाई सेवा सम्झौता गरेको अष्ट्रेलिया ४० औं मुलुक हो । नेपालका तोकिएका एयरलाइन्सले सिड्नी, मेलबर्न, ब्रिसबेन र पर्थमा गरी जम्मा सात उडान प्रतिस्पर्धाको क्षमतामा र अन्य विमानस्थलहरुमा असीमित क्षमतामा उडान गर्न सक्ने समझदारी भएको छ । यस्तै अष्ट्रेलियन पक्षका एयरलाइन्सले काठमाडौंमा सात उडान प्रतिस्पर्धाको क्षमतामा मात्र उडान गर्ने र बाँकी २८ उडान प्रतिस्पर्धाको क्षमता पोखरा, भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लगायतमा उपयोग गर्नु पर्ने छ ।
दुवै पक्षका एयरलाइन्सले दक्षिण एसिया, दक्षिण पूर्वी एसिया र मध्यपूर्वका कुनै दुई विन्दुहरु उपयोग गर्दै मध्यवर्ती विन्दु भएर पाँचौं ट्राफिक अधिकार उपोग गर्न पाउने छन् । नेपालको हकमा अष्ट्रेलियाका गन्तव्य विन्दुभन्दा परको रुपमा न्युजील्याण्डका दुई वटा विन्दुहरुमा पाँचौं ट्राफिक अधिकारको प्रयोग गर्न पाउने छन् भने अष्ट्रेलियन पक्षको हकमा नयाँदिल्ली बाहेक नेपालका गन्तव्य विन्दुभन्दा परको रुपमा दुई विन्दुहरुमा पाँचौं ट्राफिक अधिकार प्रयोग गर्न पाउने छन् ।
कोरोना भाईरसको जोखिमका बेला आ आफ्ना नागरिक उद्दार गर्न दुबै देशले सुरु गरेको चार्टड उडानले भविष्यमा दोहोरो सिधा उडानका लागि मार्ग प्रसस्त गरिदिएको छ । सिधा उडान नहुदा नेपाल र अष्ट्रेलियाबिचको हवाई यात्रा विभिन्न देश हुदै गर्नुपर्ने भएकाले झण्झटिलो, लामो र महंगो छ । जसका कारणले अष्ट्रेलियामा पढ्न आउने विद्यँर्थी र उनका अभिभावकहरु मर्कामा परिरहेका छन् । त्यो भन्दा पनि मुख्य कुरा त नेपाल घुम्ने अष्ट्रेलियनको संख्या बढ्न सकेको छैन । सन् १९८५ मा राजा विरेन्द्रले अष्ट्रेलियाको भ्रमण गर्दा यहाँको संसदमा प्रधानमन्त्रीले जारी गरेका सन्देशका अनुसार त्यतिबेला वर्षमा ५ हजार अष्ट्रेलियनले नेपाल भ्रमण गर्ने कुरा उल्लेख गरिएको छ । ३५ वर्षपछि सन् २०१९ मा नेपाल घुम्न जाने अष्ट्रेलियनको संख्या ३० हजारभन्दा माथी उक्लन सकेको छैन । यसका पछाडी नियमित हुन नसकेको हवाई सेवा नै हो । भविष्यमा सिधा उडान हुनसके पर्यटकको संख्या बढ्ने संभावना थुप्रै छन् ।

तत्कालिन राजा विरेन्द्रले सन् १९८५ मा अष्ट्रेलिया भ्रमण गर्दा प्रधानमन्त्रीले जारी गरेको सन्देश

त्यसाे त, अष्ट्रेलियाका लागि पनि नेपाली भूमि महत्वपुर्ण छ । काठमाडौ विमानस्थलको भौगोलिक वनावटले अवतरण र उडान भर्न विदेशी पाइलटलाई जटिल पर्ने भएकाले अष्ट्रेलियाली र अन्य विमान कम्पनीहरुले नेपाललाई अन्तराष्ट्रिय ट्रान्जिटको रुपमा प्रयोग गर्न सकिरहेका छैनन् । तर, नेपालको समथर भागमा बन्दै गरेका नया अन्तराष्ट्रिय विमानस्थल पूर्ण संचालनमा आएपछि भूगोल र मौसमका कारण हुने समस्या हट्नेछन् । त्यसपछि एसिया प्यासिफिक क्षेत्रको न्युजिल्याण्ड, अष्ट्रेलिया र पपुवा न्युगिनी जस्ता देशले नेपाललाई ट्रान्जिट पारेर युरोप र एसियाका केही देशबिच उडान भर्न सक्छन् । यदि यसो हुन सकेमा विमान कम्पनी र नेपाल दुबैलाई फाइदा पुग्न सक्छ । नेपालले सस्तो शुल्क लिएर ग्राउण्ड ह्याण्डलिङ गर्ने, पार्किङ र ल्याण्डिङ शुल्कमा केही सहुलियत दिने हो भने ती विमानहरु महंगो शुल्क छोडेर नेपालतर्फ आकर्षित हुन सक्नेछन् । जसबाट नेपालको अर्थतन्त्र र पर्यटन दुबैमा सकारात्मक परिवर्तनहरु देखिन समय लाग्ने छ्रैन ।
यी सब कार्य हुनका लागि पहिलो चरणमा दुबै देशमा एक आपसमा सिधा उडान भरिसकेका छन् । नेपाली पाइलटहरुले पनि सिधा उडानका लागि अनुभव पाइसकेका छन् । दोस्रो चरणमा अब यो उडानलाई नियमित गर्नतर्फ सरकारले पहल गर्नुपर्छ । त्यस्तै तेस्रो चरणमा बन्दै गरेका विमानस्थलहरुको निमार्ण समयमै सम्पन्न गरि सहुलियत दरमा अन्य विदेशी विमान कम्पनीहरुलाई नेपालको विमानस्थल प्रयोग गर्नका लागि कदम चाल्नुपर्छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6