Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकोरोना, प्रधानन्यायाधीश विरुद्धको सुनुवाइदेखी राजनीतिसम्म

कोरोना, प्रधानन्यायाधीश विरुद्धको सुनुवाइदेखी राजनीतिसम्म


काठमाडौं । एकातिर कोरोनाको कहर अर्कोतिर अदालतको फैशलामै निश्पक्ष न्याय नमिल्ने डर । नेपाली कांग्रेसले तीन नेतालाई निस्काशन गर्दा राप्रपाका ३० नेता कार्यकर्ताले सामुहिक राजीनामा बुझाएका छन् । नेपालका पछिल्ला प्रमुख पाँच खबर यस्ता छन् ।

१. १३ हजार बढीले जिते कोरोना
पछिल्लो २४ घण्टामा १ सय ९ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ४ सय ८३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा डोटीमा १३, सुर्खेत र सप्तरीमा ११ ११ जना, पर्सामा ८, कपिलवस्तु र जाजरकोटमा ६ ६ जना र दाङमा ५ जना, रौतहट, नवलपुर, पाल्पा र डडेलधुरामा ४ ४ जना, बारा, गुल्मी, कालीकोट, दैलेख र बैचडीमा ३ ३ जना, काठमाडौं, बाँके, बर्दिया, अछाम र मुगुमा २ २ जना तथा झापा, खोटाङ, सर्लाही, चितवन, मकवानपुर, ललितपुर, अछाम, तनहुँ र हुम्लामा एकएक जना कोरोना संक्रमित थपिएका हुन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभरका २७ वटा प्रयोगशालामा पछिल्लो २४ घण्टामा ४ हजार ७५ नमुना परीक्षण गरिएको छ । देशभरका क्वारेन्टिनमा १८ हजार एक सय ८३ जना रहँदा सक्रिय संक्रमितको संख्या ५ हजार तीन सय ८५ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना अस्पतालबाट १ सय ६ जना डिस्चार्ज भएसँगै कोरोना जित्नेहरुको संख्या १३ हजार ५३ पुगेको छ । अहिलेसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४५ पुगेको छ ।

२. प्रधानन्यायाधीशको फैशला विरुद्ध निवेदनको सुनुवाइ आइतबार
पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले दर्ता गराएको पुनरावलोकन निवेदनमाथि जुलाई २७ तारेखका दिन सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालत स्रोतका अनुसार यो मुद्दाको पुनरावलोकन सम्बन्धी पूरक निवेदन आइतबार पेशीमा चढ्ने भएको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीले गरेको फैसला उपर परेको पुनरावलोकन निवेदनमाथी पुनरावलोकनको अनुमति पाएमा यो मुद्दा सर्वोच्च अदालतको तीन वा सोभन्दा बढी न्यायाधीशहरुको इजलासबाट सुनुवाइ हुनेछ । मुद्दाको पेशी कुन न्यायाधीशको बेन्चमा चढ्छ भन्ने एकिन भने आइतबार बिहान मात्रै टुंगो लाग्ने छ ।

३. सुर्तीजन्य पदार्थ सेवनकर्तामा कोरोनाको जोखिम उच्च
सुर्तीजन्य पदार्थ सेवन गर्ने मानिसमा कोरोनाको जोखिम उच्च हुने विभिन्न अध्ययनले देखाएको छ । डब्लुएचओले सुर्तीजन्य पदार्थ प्रयोग गर्ने मानिसहरुलाई चेतावनी दिँदै बढी सचेत हुन आग्रह गरिरहेको समयमा भएका विभिन्न अध्ययनले समेत धूमपानको कारण निम्तिएको रोग भएको मान्छेमा कोभिडले धेरै क्षति गर्ने प्रमाणित गरेको हो । ११ हजार ९० जना कोभिड बिरामीमा गरिएको एक अनुसन्धानका अनुसार भर्खरै धूमपान गर्न सुरु गरेकाहरुलाई भन्दा लामो समयदेखि धूमपान गर्नेहरु ज्यादा सिकिस्त भएको पाइएको छ । चीनका कोरोना संक्रमितमा गरिएको एक अध्ययनले समेत गम्भीर असर देखिएर आइसीयू र भेन्टिलेटरमा राख्नु परेका धेरै व्यक्तिको पृष्ठभूमि धूमपान गर्ने पाइएको थियो । अन्य व्यक्तिलाई भन्दा धूमपान सेवन गर्ने व्यक्ति भाइरसबाट बढी पीडित हुनेगरेको भन्दै विश्व स्वास्थ्य संगठनले सचेत बन्न आग्रह गर्दै आएको छ । सनफ्रान्सिस्कोका ११ हजार ९० जना कोभिड बिरामीमा गरिएको एक अनुसन्धानका अनुसार भर्खरै धूमपान गर्न सुरु गरेकाहरुलाई भन्दा लामो समयदेखि धूमपान गर्नेहरु ज्यादा सिकिस्त भएको पाइएको थियो ।

४. नेपाली कांग्रेसबाट तीन नेता निस्काशित
नेपाली कांग्रेसले गोविन्दराज जोशी, पुस्करनाथ ओझा र रामबहादुर विष्टलाई पार्टीबाट निस्काशन गरेको छ । गत निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिएका पूर्वमन्त्री जोशीलाई ५ वर्षका लागि, पूर्वमन्त्री एवं कैलालीका महासमिति सदस्य ओझालाई सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवालाई चुनाव हराउन भूमिका खेलेको आरोपमा ५ वर्षका लागि र यस्तै डडेलधुरा कांग्रेसका कार्यालय सचिव विष्टलाई तीन वर्षका लागि निस्काशन गरिएको छ । तीनै जनासँग स्पष्टीकरण सोधेको अनुशासन समितिले जवाफ चिक्तबुझ्दो नभएको भन्दै निस्कासन गरिएको जनाएको छ ।

५. पूर्वमन्त्री थापा सहित राप्रपाका ३० नेताको संयुक्त राजीनामा
पूर्वमन्त्री सुनीलबहादुर थापासहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ३० नेता–कार्यकर्ताले संयुक्त राजीनामा दिएका छन् । पार्टीका अध्यक्षत्रयलाई पत्र लेख्दै सुनील, विष्णुविक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव, पदमबहादुर बस्नेतसहित ३० जनाले राजीनामा दिएका हुन् । पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनील आफ्नो समूहसहित नेपाली कांग्रेस प्रवेश गर्ने तयारीमा रहेको बताइएको छ ।

 

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6