Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : पढ्नैपर्ने प्रमुख पाँच खबर

नेपाल अपडेट : पढ्नैपर्ने प्रमुख पाँच खबर


काठमाडौं । स्वास्थ्य क्षेत्रको चिन्ता सबैभन्दा बढी देखिएको नेपालमा विमानस्थल निर्माण र सुधारको कामलाई प्राथमिकता दिइदैछ । सन्दिप लामिछानेको तेश्रो सिपिएल यात्रा लगायत पछिल्ला प्रमुख पाँच खबर यस्ता छन् ।

४६४ संक्रमित थपिए, एकैदिन ५ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा थप ४६४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएसँगै नेपालका कोरोना संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ । काठमाडौं उपत्यकामा मात्रै १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अहिलेसम्मकै उच्च हो । देशभरका प्रयोगशालामा ७ हजार ९२६ नमुना परीक्षण गर्दा पर्सामा सबैभन्दा बढी १३८, मोरङमा ६४, बाँकेमा २८, सप्तरीमा १९ सहित देशका विभिन्न स्थानमा ४६४ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । उनीहरुमध्ये ७३ जनाको मृत्यु भएको छ भने कोरोना जित्नेहरुको संख्या १५ हजार ८१४ पुगेको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट शुक्रबार थप पाँच जनाको मृत्यु भएको छ । पाटन अस्पतालमा २, धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा, विराटनगरको कोशी अस्पताल र वीरगञ्जको गण्डक अस्थायी कोभिड अस्पतालमा १/१ जनाको मृत्यु भएको हो ।

उड्डयन क्षेत्रको सुधारमा ४१ अर्ब बढी बजेट
नेपाल नागरिक उड्डयन प्राधिकरणले चालु आर्थिक वर्ष २०७७ ०७८ का लागि ४१ अर्ब ११ करोड ३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । उक्त बजेटमा आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थल विस्तारदेखि नयाँ निर्माणको विषयलाई प्राथमिकतामा राखिएको छ । प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको उत्तरतर्फ एप्रोन तथा प्यारलल ट्याक्सी वे निर्माणका लागि १ अर्ब ९१ करोड २३ लाख, दक्षिणतर्फ प्यारलल ट्याक्सी वे निर्माणका लागि १ अर्ब ४६ करोड १ लाख बजेट विनियोजन गरेको छ ।

यसबाहेक विमानस्थलको टर्मिनल भवन विस्तार तथा स्तरोन्नति, बुटिक एयरपोर्टको अवधारणाका बाँकी पूर्वाधार निर्माण, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग तथा टर्मिनल भवन निर्माण, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भवन तथा धावनमार्ग निर्माण, निजगढ विमानस्थल निर्माण प्राथमिकतामा परेको छ । यस्तै, ताप्लेजुङ्ग, ईलाम, गुल्मी, डोल्पा, मसिनेचौर, कालिकोट, बझाङ, बलेवा, तुम्लिङ्टार, राजविराज, सुर्खेत, सिमरा विमानस्थल, लुक्ला, सिमीकोट, विराटनगर, रामेछाप, रारा, साफेबगर, नेपालगंज विमानस्थलको स्तरउन्नती तथा संरचना निर्माणका लागि समेत बजेटले प्राथमिकता पाएको छ । निर्माण प्रक्रियामा रहेका विमानस्थलको जग्गा प्राप्ती तथा मुअब्जाका लागि समेत पर्याप्त बजेट बिनियोजन गरिएको प्राधिकरणले जनाएको छ ।

सार्वजनिक यातायातमा जोखिम
काठमाडौं । काठमाडौं उपत्यकामा सञ्चालित अधिकांश सवारी साधनहरुले कोभिड १९ रोकथामका लागि बनाइएको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड उल्लंघन गरेको पाइएको छ । लकडाउन खुलेपछि सञ्चालनमा आएका सार्वजनिक यातायातका साधनहरुले स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गर्नुपर्ने व्यवस्था छ । तर अधिकांश सार्वजनिक सवारी साधनले सेनिटाइजर नै प्रयोग गर्न छाडेका छन् । यातायात व्यवस्था विभागले शुक्रबार गरेको अनुगमनका क्रममा अधिकांश सवारी साधनमा सेनिटाइजर नै थिएन भने धेरैले विगत जस्तै सिट भरेर यात्रु बोकेका थिए ।

मास्क प्रयोग गरेको भएपनि सेनिटाइजरको प्रयोग नगर्ने र बसमा दुरी कायम नगरिकन यात्रुलाई राख्ने गरेको पाइएपछि तीनवटा सवारी साधनलाई भेटिएकै स्थानमा कारबाही गरिएको थियो । सार्वजनिक यातायातका साधनहरुले सुरक्षा मापदण्ड पालना नगरिदिंदा समुदाय स्तरसम्म कोरोना भाइरस संक्रमण फैलिने त्रास बढेको छ । सरकारले लकडाउनलाई खुकुलो बनाउँदै गत असार २६ गतेदेखि उपत्यकाभित्र छोटो दुरीका सवारी साधन सञ्चालन गर्न दिएको थियो । यातायात सञ्चालन गर्दा भौतिक दुरी कायम गर्नुपर्ने, सिट क्षमताको ५० प्रतिशत यात्रु राख्नुपर्ने, चालक र सहचालकसहित सबै यात्रुले अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने, सेनिटाइजरको प्रयोग अनिवार्य गर्नुपर्ने र सवारी सधानलाई निसंक्रमण गर्नुपर्ने मापदण्ड तयार गरिएपनि अनुगमन प्रभावकारी नहुँदा अधिकांशले उल्लंघन गर्दै आएका छन् ।

सिपिएल खेल्न नेपाली क्रिकेटर सन्दिप लामिछाने टोबागोमा
क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्नका लागि ट्रिनिडाड एण्ड टोबागो गएका नेपाली क्रिकेट खेलाडी सन्दिप लामिछानेको कोरोना भाइरसको पहिलो परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । सिपिएलका लागि टोबागो पुगेका सन्दिपको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको सन्दिपका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए । सिपिएल खेल्न गत साता टोबागो पुगेका सन्दिप हाल १४ दिनको क्वारेन्टिनमा छन् । उनी लगायत प्रतियोगिताका सबै खेलाडीलाई अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्नेगरी होटल क्वारेन्टिनमा राखिएको छ । प्रतियोगिता खेल्ने सबैको कोरोना परीक्षण अनिवार्य गराउनुपर्ने नियम छ ।

सिपिएल आगामी भदौ २ गतेदेखि शुरु हुनेछ । त्यसअघि पुनःसन्दिप लगायत सबै खेलाडीको कोरोना परीक्षण हुनेछ । सिपिएल खेल्न सन्दिप कोरियन एयरको चार्टर्ड जहाजमार्फत गत साता दक्षिण कोरिया र त्यहाँबाट अमेरिका हुँदै टोबागो पुगेका थिए । नेपालबाट टोबागो जानुअघि गरिएको पिसिआर परीक्षणमा समेत नेगेटिभ रिपोर्ट आएको थियो । सन्दिपलाई यसपटक सिपिएलका लागि ९० हजार अमेरिकी डलरमा जमैका तल्लावाहजले अनुबन्ध गरेको छ । उनले तेस्रो पटक सिपिएल खेल्दै छन् । यसअघि उनले सन् २०१८ र सन् २०१९ मा सिपिएल खेलेका थिए ।

३ हजार पैदल यात्रीलाई निशुल्क माक्स
काठमाडौं उपत्यकामा बढ्दो क्रममा रोको कोरोना सङ्क्रमण रोकथामका ालगि भन्दै चन्द्रागिरि नगरपालिकाले निःशुल्क माक्स वितरण गरेको छ । महानगरीय प्रहरी प्रभाग बलम्बु र समुदाय प्रहरी साझेदारी मा ११ नम्बर वडा समितिले शुक्रबार सडकमा माक्स नलगाई पैदल यात्रा गर्नेलाई निःशुल्क माक्स वितरणका साथै जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको हो । नगरपालिकाभित्रका सतुङ्गल बजार, विष्णुदेवी, खरिबोट, सिप्रदी, बालकुमारी, बलम्बु क्षेत्रमा झण्डै तीन हजार पैदल यात्रुलाई निःशुल्क माक्स वितरण गरिसकेको र अभियान जारी रहने वडा अध्यक्ष हरिभक्त महर्जनले जानकारी दिए । महानगरीय प्रहरी प्रभाग बलम्बुका प्रमुख, प्रहरी निरीक्षक खेमराज राउतले अनिवार्य माक्सको प्रयोग गर्न तथा सामाजिक दूरी कायम राखेर यात्रा गर्न अपिल गरेका थिए । थानकोट बृत्तले माक्स नलगाई हिँड्नेलाई १०० जरिवाना गर्न थालेको छ । बिना पास उपत्यका भित्रिने २८ सवारी चालक कारबाहीमा परेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6