Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : पछिल्ला प्रमुख पाँच खबर यस्ता

नेपाल अपडेट : पछिल्ला प्रमुख पाँच खबर यस्ता


काठमाडौं । नेपालमा कोरोना कहर बढ्दैगर्दा भारतले नै बुद्ध नेपालमै जन्मिएका हुन भन्दै स्विकार गरेको छ । सुटकेशमा शब भेटिएको, भारतले नेपाली सेनालाई गरेको सहयोग र सिडियोको सरुवाले नेपालमा खबर प्राथमिकता पाएको छ । यस्ता छन प्रमुख पाँच खबर ।

गौतमबुद्ध नेपालमै जन्मिएका हुन–भारत
भारतीय विदेश मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै गौतम बुद्ध नेपालमा जन्मिएकोमा कुनै शंका नरहेको प्रष्ट पारेको छ । मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले विज्ञप्तिमा जारी गर्दै बुद्ध लुम्बिनीमा जन्मिएका हुन् भन्नेमा कुनै शंका नभएको र उक्त भुमि नेपालमा पर्ने बताएका थिए । विदेश मन्त्री एस. जयशंकरले शनिबार दिल्लीमा भारतीय उद्यमी तथा व्यवसायीहरुको छाता संगठन कन्फडरेसन अफ इन्डिया इन्डष्ट्रिद्धारा आयोजित इन्डिया एट ७६ भर्चुअल सम्मेलनमा सम्बोधन गर्ने क्रममा गौतम बुद्ध भारतीय भएको दाबी गरेका थिए ।

शनिबार नयाँ दिल्लीमा भएको एक कार्यक्रममा भारतीय विदेश मन्त्री एस. जयशंकरले बुद्धलाई महान् भारतीयका रुपमा चित्रण गरेपछि नेपालले यसको विरोध गरेको थियो । परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै बुद्ध नेपालमा जन्मिएकोमा कुनै दुविधा नभएको र यसको यथेष्ट प्रमाण पनि भएको बताएको थियो ।

सुटकेसमा शब बरामद
काठमाडौंको गोंगबुमा सुटकेसभित्र शरिर र केही सय मिटर पर झोलामा पोको पारिएको अवस्थामा टाउको तथा खुट्टा सहित एक जना पुरुषको शब प्रहरीले बरामद गरेको छ । स्थानीयले रगत बगेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पुगेको प्रहरीले सुटकेसमा टाउको काटिएको अवस्थाको शरिर भेटिएपछि प्रहरीले तालिम प्राप्त कुकुरको सहायतामा करिब ३ सय मिटर परको चौरमा झोलमा प्याक गरेको अवस्थामा टाउको र खुट्टा फेला परको थियो । मृतकको शबको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पोस्टमार्टम हुँदैछ ।

अन्दाजी ४५ वर्षिया मंगोलियन जातको देखिने पुरुषको हत्या गरेर शव फ्यालिएको प्रारम्भिक आँकलन सहित अहिले अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले अनुसन्धान जारी राखेको महाननगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता सोमेन्द्रसिंह राठौरले जानकारी दिनुभयो । घटनाको प्रकृति हेर्दा, पहिलेदेखी नै योजना बनाएर शनिबार राती हत्या गरी फ्यालेको देखिन्छ । तर प्रहरीले अनुसन्धान प्रक्रियामा रहेको भन्दै अहिले नै घटना बारे बोल्ने समय नभएको बताएको छ । काठमाडौंमा लकडाउनपछिको साँढे ४ महिनामा नै ८ जनाको हत्या भएको छ ।

कोरोना अपडेट
पछिल्लो २४ घण्टामा ३ सय ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएसँगै नेपालमा संक्रमितको संख्या २२ हजार नौ सय ७२ पुगेको छ । काठमाडौंका ९० र ललितपुरका २ जनामा कोरोना पुष्टि भएसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ११ सय ३६ पुगेको छ । काठमाडौंमा ९ सय १२, ललितपुरमा १ सय ३९ र भक्तपुरमा ८५ जनामा कोरोना संक्रमण पहिचान भएको छ । अहिलेसम्म कोरोना जित्नेहरुको संख्या १६ हजार तीन सय ५३ पुगेको छ । निको हुने दर ७१.१ प्रतिशत रहेको छ ।

मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमित ६ हजार पाँच सय ४४ जनाको उपचार भइरहेको छ । क्वारेन्टाइनमा बस्नेको संख्या ११ हजार ३८ रहेको छ । नेपालमा अहिलेसम्म ४ लाख ४३ हजार ८ सय ४ वटा पिसिआर विधिबाट कोरोना परिक्षण सम्पन्न भएको छ । मन्त्रालयका अनुसार कास्की जिल्ला पोखरा उपमहानगरपालिका १९ का ६२ वर्षीय पुरुष र पर्सा जिल्ला वीरगन्ज महानगरपालिका २ का २० वर्षीय महिलाको कोरोना संक्रमणबाट निधन भएसँगै नेपालमा मृतकको संख्या ७६ पुगेको छ ।

भारतीय सेनाको सहयोग
कोरोना महामारीविरुद्घ लड्न भारतीय सेनाले नेपाली सेनालाई दश ‘आइसियु भेन्टिलेटर’ उपहारस्वरुप प्रदान गरेको छ । नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले ती भेन्टिलेटर प्रधानसेनापति पूर्णचन्द्र थापालाई जङ्गी अड्डामा आइतबार आयोजित कार्यक्रममा प्रदान गर्नुभएको हो । मानवीय सहायता तथा राहतका लागि लामो समयदेखि भारतीय सेनाले नेपाली सेनालाई सहयोग गर्दै आएको छ ।

दुई देशका सेनाबीच रहिआएको निरन्तर मानवीय सहयोगअन्तर्गत भेन्टिलेटरहरू उपहारस्वरुप प्रदान गरिएको काठमाडौँस्थित भारतीय राजदूतावासले जनाएको छ । हस्तान्तरणका क्रममा राजदूत क्वात्राले कोभिड–१९ विरुद्घको लडाइँमा विजय प्राप्तिका लागि नेपालका जनतालाई सबै आवश्यक सहयोग पुर्याउन भारत प्रतिबद्घ रहेको बताउनुभयो । प्रधानसेनापति थापाले स्वास्थ्य उपकरण प्रदान गरेकामा भारतीय सेनाप्रति आभार व्यक्त गर्नुभएको थियो ।

७ जना प्रमुख जिल्ला अधिकारीको सरुवा
साउन २५ गतेको मन्त्रिस्तरीय निर्णयले गृहमन्त्रालयका सहसचिव उमेश बस्नेतलाई रौतहटको सीडीओ बनाएको छ । मन्त्रालयका सह–सचिव सन्तबहादुर सुनारलाई दैलखको र गृहकै सह–प्रवक्ता एवं उपसचिव उमाकान्त अधिकारी म्याग्दीको सीडीओ भएका छन् । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागकी उपसचिव हिरादेवी पौडेललाई मुस्ताङको सीडीओ, जिल्ला प्रशासन कार्यालय ललितपुरका सहायक सीडीओ खिमलाल भुसाललाई प्युठानको सीडीओ बनाइएको छ ।

सहायक सीडीओ धु्रव गिरीलाई स्याङजाबाट सरुवा गरेर मनाङको सीडिओ बनाइएको छ । अर्का सहायक सीडीओ राजकुमार राईलाई झापाबाट सरुवा गरेर पूर्वीरुकुमको सीडीओको जिम्मेवारी दिइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6