Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : कोरोना मिटरदेखी नयाँ बिमान खरिदको चर्चासम्म

नेपाल अपडेट : कोरोना मिटरदेखी नयाँ बिमान खरिदको चर्चासम्म


काठमाडौं । कोरोना मिटर उकालो लाग्दैगर्दा काठमाडौं उपत्यकाको निषेधाज्ञा खुकुलो बनाइएको छ । नाकामा सेना परिचालनको चर्चा चलिरहँदा जंगी अड्डाले संकटमा मात्रै सेना अघि बढ्ने बताएको छ । आन्तरिक उडानका लागि जहाज किन्ने तयारी र क्रिकेटर सन्दिपको बरियता लगायतका प्रमुख पाँच खबर यस्ता छन् ।

कोरोना मिटरमा नेपाल
पछिल्लो २४ घण्टामा थप १०८१ जनामा संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या ४९ हजार २१९ पुगेको छ । बुधबार मात्रै देशभरका प्रयोगशालामा ११ हजार १६७ नमुना परीक्षण गर्दा ३३८ महिला र ७४३ जनामा संक्रमण पुष्टि भएको छ । कुल संक्रमितमध्ये ३१२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ९१८ जना डिस्चार्ज भएसँगै कोरोना जित्नेहरुको संख्या ३३ हजार ८८२ पुगेको छ । काठमाडौंका ३९४, ललितपुरका ३४ र भक्तपुरका ३६, सिराहाका ८१ जना, मोरङका ७७, रौतहटका ७०, सुनसरीका ५६, मकवानपुर र रुपन्देहीका ४२र४२ जना, सप्तरीका २६, बाँके र सुर्खेतका २२र२२ जना, काभ्रेका २१, बाराका १७, बर्दियाका १३, नवलपरासीका १२, कपिलवस्तुका ११, कास्कीका १०, धनकुटाका ९ र झापा, पर्सा र सर्लाहीका ६र६ जना, भोजपुरका ५ जना, नुवाकोट र तनहुँका ४र४ जना, ओखलढुंगा, धनुषा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, लमजुङ र दार्चुलाका ३र३ जना, खोटाङ, महोत्तरी, धादिङ, बाग्लुङ,गुल्मी, पाल्पा, दैलेख र बझाङका २र२ जना तथा उदयपुर, ताप्लेजुङ, सिन्धुली, गोरखा, नवलपुर, पर्वत, स्याङ्जा, दाङ, जाजरकोट र अछामका १र१ जनामा संक्रमण देखिएको छ ।

खुकुलो बनाइदैछ काठमाडौं उपत्यकाको निषेधाज्ञा
उपत्यकाका तीनवटै जिल्ला प्रशासन प्रमुखको संयुक्त बैठकले बिहीबारदेखि १६ सिट क्षमताभन्दा माथिका सार्वजनिक यातायातका साधन सञ्चालन गर्ने निर्णय गरेको छ । भाडाका सवारी साधन र नीजि सवारी साधन सञ्चालनमा भने जोर विजोर प्रणाली लागू हुने काठमाडौँका प्रजिअ जनकराज दाहालले जानकारी दिए । पसल र व्यवसायहरु दिनभरि चल्न पाउने निर्णय भएको छ । बिहान ११ बजेसम्म र बेलुका ४ बजेदेखि डिपार्टमेन्टल स्टोर र सपिङ मल पनि खोल्ने निर्णय भएको छ । काठमाडौं उपत्यकामा भदौ ३ गते मध्यरातबाट लागू भएको पूर्ण निषेधाज्ञाको पछिल्लोपटक थपिएको समय बुधबार मध्यरात सकिँदै छ ।

संकटकाल भएको अवस्थामा मात्रै सेना परिचालन
उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले राजधानी छिर्ने नाकामा सेना परिचालन हुनुपर्ने बताइरहेका बेला प्रधानसेनापति पूर्णचन्द्र थापाले संकटकाल घोषणा भएको अवस्थामा मात्रै सेना परिचालन हुने स्पष्ट पारेका छन् । प्रधानसेनापतिको जिम्मेवारी सम्हालेको दुई वर्ष पूरा भएर तेस्रो वर्ष प्रारम्भ भएको अवसरमा बुधबार जंगीअड्डामा प्रधानसेनापति थापाले विभिन्न सञ्चार माध्यमका सम्पादकहरुसँग प्रत्यक्ष अन्तरक्रिया गरेर यस्तो प्रतिक्रिया दिएका हुन् । राष्ट्रलाई साँच्चै इमर्जेन्सी पर्यो भन्ने अवस्थामा नेपाली सेना प्रयोग हुनसक्ने भन्दै प्रधानसेनापती थापाले अरु अवस्थामा नेपाली सेना सहयोगी भूमिकामा नै बस्ने बताएका थिए । नेपाली सेनाले नागरिक सर्वोच्चतालाई कदर गर्दै आएको र सरकारको आदेश पालना गर्नु सेनाको दायित्व भएको उनले बताए । स्वास्थ्य सामग्री खरीदको विषयलाई लिएर रक्षा मन्त्रालय र जंगी अड्डावीच कुनै द्विविधा नरहेको प्रधानसेनापति थापाले जानकारी दिएका थिए । नेपाली सेनालाई व्यवसायीकरण गर्नुपर्ने बताउँदै उनले कल्याणकारी कोष, बाटो निर्माण जस्ता विषयलाई ब्यापारसँग जोड्न नमिल्ने बताए । सानो देशको सेनाले पनि आफ्नो मुलुकको रक्षा गर्न सक्ने भन्दै प्रधानसेनापति थापाले युद्धका लागि सेना सधैं तयारी अवस्थामा रहनुपर्ने बताए । प्रधानसेनापति थापाले सैन्य प्रमुखको जिम्मेवारी २०७५ साल भदौ २४ गतेदेखि सम्हालेका हुन् ।

आन्तरिक उडानमा नयाँ जहाज
सरकारले नेपाल एयरलाइन्सलाई आन्तरिक उडान प्रयोजनका लागि जहाज खरीद प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ । चिनियाँ जहाज थन्काएर सरकार अब नयाँ जहाज किन्न अग्रसर देखिएको हो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले हिमाली, पहाडी तथा दुर्गम क्षेत्रका नागरिकहरुलाई सेवा उपलब्ध गराउन आन्तरिक उडानमा सञ्चालन गर्ने गरी जहाज खरिद योजना तत्काल अघि बढाउन नेपाल एयरलाइन्सलाई निर्देशन दिएका हुन् । मन्त्री भट्टराईले बुधबार निगमका अधिकारीहरुसँग मन्त्रालयमा छलफल गर्दै नयाँ जहाज खरिद प्रक्रियाबारे यस्तो निर्देशन दिएका हुन् । चिनियाँ जहाज नउडाउने भनी निर्णय गरिसकेको नेपाल एयरलाइन्सँग अब आन्तरिक तर्फ दुईबटा मात्र टुइनअर्टर जहाज छन् । नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष सुशील घिमिरे तथा विभागीय प्रमुखहरु मन्त्रीसँगको छलफलमा सहभागी थिए । मन्त्री भट्टराईले नेपाल एयरलाइन्सलाई पब्लिक मोडलमा लैजान उपयुक्त खाका बनाउन समेत निर्देशन दिएका छन् । त्यसका लागि नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, पर्यटन मन्त्रालय र अर्थ मन्त्रालयसँग छलफल गरी खाका बनाउनेछ । नेपाल एयरलाईन्स ठूलो आर्थिक ऋणमा रहेकोले देशका विभिन्न २३ ठाँउमा रहेका अचल सम्पती (जग्गा) ब्यवसायिक उपयोग गरी निगमको आर्थिक अवस्था सुधार गर्न समेत मन्त्रालयले पहल गर्ने भएको छ । खर्च कटौती तथा मितव्ययिता अपनाउन, विदेशमा रहेका कर्मचारी कटौती गर्न, बैठक भत्ता घटाउन साथै कर्मचारी, बोर्डका पदाधिकारी र अवकाश पाएका कर्मचारीले पाउने सुविधा वापतको टिकट ५० प्रतिशत कटौती गर्न समेत मन्त्री भट्टराईले निर्देशन दिएका छन् ।

क्रिकेटर सन्दीपको बलिङ बरियता खस्कियो
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको टी(२० बलिङ बरियतामा सन्दीप एक स्थान खस्किएका छन् । कूल ३ सय ८९ रेटिङ अङ्क पाएका सन्दिप नयाँ बरियतामा ८०औँ स्थानमा छन् । यसअघि आईसीसीले सार्वजनिक गरेको बरियतामा उनी ७९औँ स्थानमा थिए । हाल क्यारेवियन प्रिमियर लिग (सीपीएल) खेल्ने क्रममा उनी ट्रिनिडाड एण्ड टोबागोमा छन् । यस्तै विश्व बलिङ बरियतामा अफगानिस्तानका राशिद खान र मुजिबउर रहमान क्रमशः पहिलो र दोस्रो स्थानमा रहेका छन् । दुवै जना हाल सीपीएल खेलिरहेका छन् । यस्तै, ब्याटिङ बरियतामा नेपालका पूर्व कप्तान पारस खड्का ७०औँ स्थानमा रहेका छन् । उनको ४०० रेटिङ अंक छ । इंग्ल्यान्डका डाविड मालन टी २० ब्याटिङ बरियताको शीर्ष स्थानमा रहेका छन् । पाकिस्तानका बाबर आजम दोस्रो स्थानमा छन् । टी २० बरियतामा नेपाल १५औँ स्थानमा यथावत छ । यसअघि नेपाल विश्व बलिङ बरियतामा ११औँ स्थानसम्म पुगिसकेको छ शीर्ष बरियतामा अस्ट्रेलिया रहदा इङ्ल्याण्ड दोस्रो, भारत तेस्रो, पाकिस्तान चौथो र दक्षिण अफ्रिका पाँचौं स्थानमा छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6