Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : पढौँ प्रमुख पाँच खबर

नेपाल अपडेट : पढौँ प्रमुख पाँच खबर


काठमाडौं । नेपालमा कोरोना संक्रमित लाख नाघ्दैगर्दा शहर केन्द्रित जोखिम झन बढेको छ । विभिन्न बहानामा ठगी गर्ने गिरोहमाथी प्रहरीले जारी राखेको एक्सन, धरहरा निर्माणको ठेक्काको म्याद थप, नेपाल बंगलादेश यातात निर्यात सहजिकरणको प्रयास लगायतका पछिल्ला प्रमुख पाँच खबर यस्ता छन् ।

कोरोना संक्रमित एक लाख नाघे
नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा २ हजार ५९ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६ सय ७६ पुगेको हो । उच्च जोखिममा रहेको काठमाडौं उपत्यकामा मात्रै शुक्रबार १ हजार ४ सय ९ जना संक्रमित थपिएका छन् । काठमाडौँमा १ हजार १ सय १६, भक्तपुरमा १ सय ३० र ललितपुरमा १ सय ६३ जना सक्रमित थपिएका हुन् । सक्रिय संक्रमितको संख्या नै अहिले २७ हजार ५३ पुगेको छ । नेपालमा कोरोना संक्रमण पहिचान भएको नवौ महिनामा कोरोना संक्रमितको संख्या १ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा १ हजार ६ सय ८० जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएसँगै कोरोना जित्नेहरुको संख्या ७३ हजार २३ पुगेको छ । तथ्यांकअनुसार नेपालमा निको हुनेको प्रतिशत ७२.५३ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट पहिलोपटक जेष्ठ ४ गते सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरीको मृत्यु कोरोनाबाट भएको ५ औ महिनामा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । संस्थागत आइसोलेशनमा ११ हजार १ सय ७६ जना र होम आइसोलेशनमा १५ हजार ८ सय ७७ जना रहेका छन् । आइसीयूमा उपचाररत संक्रमित नै अहिले हाल ३ सय १८ जना छन् । ७५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । शुक्रबार देशभरका कोभिड ल्याबमा १३ हजार २ सय ७९ स्वाब परिक्षण गरिएको थियो । अझपनि देशभरका क्वारेन्टिनमा ४ हजार ७ सय ३ जना रहेका छन् ।

आइसोलेसनमा नबसी बाहिर हिँडेको पाइए ६ महिना जेल
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ संक्रमण भएका व्यक्तिहरु आइसोलेसनमा नबसेर बाहिर हिँडेको पाइए ६ महिना जेल हाल्ने चेतावनी दिएको छ । मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले कोरोना पोजिटिभ देखिएका धेरै व्यक्ति आइसोलेसनमा नबसी बाहिर हिँडेको जानकारी आएको भन्दै त्यस्ता व्यक्तिको पहिचान भएमा संक्रामक रोग ऐन अनुसार कारबाही गरिने बताउनुभएको हो । यो ऐनमा ६ महिना जेल सजाय व्यवस्था गरिएको छ । प्रवक्ता गौतमले आम सर्वसाधारणलाई कोरोना पोजेटिभ देखिएर हिडडुल र भेटघाट गरेका व्यक्तिहरु बारे मन्त्रालयलाई जानकारी गराएर सहयोग गर्न आग्रह गर्दै गृह मन्त्रालयसँग र जिल्ला प्रशासन कार्यालयलाई आइसोलेशनमा नबस्ने व्यक्तिहरुलाई पक्राउ गरेर कारबाही गर्न अनुरोध गरिएको बताउनुभयो ।

९ महिनामा बन्ला त धरहरा ?
निर्माणाधिन धरहराको निर्माण अवधि ९ महिना थप गरिएको छ । कोभिड १९ को कारण लकडाउन हुँदा निर्माण कार्य प्रभावित भएको कारण देखाउँदा ठेकेदार पक्ष रमन कन्स्ट्रक्सनले २१ महिना ठेक्का अवधि बढाउन माग गरेपनि राष्ट्रिय पुननिर्माण प्राधिकरणले ९ महिना समय थपेको हो । राष्ट्रिय पुननिर्माण प्राधिकरणले २०७७ असोज २० गते (२०२० अक्टोबर ६ तारिख) भित्र धरहराको सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्नेगरी रमन कन्स्ट्रक्सनसँग २०७५ सालमा ठेक्का सम्झौता गरेको थियो । रमन कन्सट्रक्सनले २०७५ कात्तिक महिनादेखि निर्माण कार्य सुरु गरेपनि तिब्र गतिमा अघि बढेको काम कोरोना महामारिको बन्दाबन्दीसँगै सुस्त बनेको र यसैका कारण ठेक्काको समय लम्ब्याउनुपरेको कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर ई. श्यामचन्द्र श्रेष्ठले जानकारी दिनुभयो । अहिले धरहराको १६ तल्ला ढलान भएको छ । अन्डरग्राउण्डमा रहेको डबल बेसमेन्टको काम सम्पन्न भई ट्रिपल बेसमेन्टको काम जारी छ । जहाँ ४ सय वटा सानो गाडि र ७ सय वटा मोटरसाइकल पार्किङ गर्न मिल्छ । २२ तला रहेको धरहराको कुल लागत भ्याट सहित ३ अर्ब ४५ करोड रुपैयाँ छ । धरहराको कुल क्षेत्रफल ४२.२ रोपनी रहेको छ । धरहराको निर्माण कार्यमा लकडाउन अघि कुल ३ सय ५० जनाले काम गरेकोमा लकडाउनको बेला २०–२५ जनाको संख्यामा कामदार राखेर निर्माण जारी राखिएको थियो । अहिले २ सय ५० जना कामदारहरु मार्फत कामलाई तिब्रता दिएको छ ।

अमेरिकी डलर देखाएर ठगी गर्ने गिरोह पक्राउ
विगत केही समयदेखि भक्तपुर लगायत आसपासका स्थानमा अमेरिकी डलर देखाइ १ करोड १५ लाख १० हजार बराबरको नगद ठगी गर्ने १२ जनाको गिरोह प्रहरीबाट पक्राउ परेको छ । महानगरीय प्रहरी परिसर, भक्तपुर, महानगरीय प्रहरी वृत्त ठिमी, जगाती र अपराध महाशाखा भक्तपुरबाट खटिएको संयुक्त टोलीले घटनामा संलग्न गिरोहका १२ जनालाई पक्राउ गरेको हो । पक्राउ परेका उपर जिल्ला अदालत भक्तपुरबाट ठगी मुद्दामा म्याद लिई थप अनुसन्धान सुरू गरिएको छ । प्रहरीले घटनामा संलग्न अन्यको खोजीलाई तिब्रता दिएको छ । अहिले पक्राउ पर्नेमा अधिकांश सिन्धुपाल्चोक बाह्रबिसेका छन् । प्रहरीले उनीहरूका साथबाट नेपाली रुपैंया ५ लाख ९४ हजार, १२ थान विभिन्न कम्पनीका मोबाइल, ५ थान मोटरसाइकल, डलर भनि झुक्काउन तयार गरिएको कागजको बिटो ५ बण्डल र ४६० अमेरिकन डलर बरामद गरेको छ । यो समुहबाट ठगिन पुगेका पिडितहरु अझै पनि सम्पर्कमा आउने क्रम जारी रहेकोले ठगीको रकम बढ्न सक्ने प्रहरीको अनुमान छ ।

नेपाल र बंगलादेशबीच आयात निर्यात सहजिकरणको प्रयास
नेपालले ७६ प्रकारका वस्तु विशेष सहुलियतमा निर्यात गर्न दिन बंगलादेशसँग आग्रह गदै यसै हप्ता भएको नेपाल–बंगलादेश छैटौं सचिवस्तरीय वाणिज्य बैठकमा प्रस्ताव पेश गरेपनि सहजिकरण हुन सकेको छैन । नेपाली प्रधानमन्त्रीको बंगलादेश भ्रमणका क्रममा दुई देशबीच भएको विशेष व्यापार समझदारी बमोजिम नेपालले विशेष सहुलियतको प्रस्ताव पेश गरेको हो । तर दुबै देशले आफ्नो उत्पादनमा विशेष छुट मागको अडान पेश गरेपछि थप छलफल गर्नुपर्ने भएको उद्योग वाािण्ज्य तथा आपूर्ति मन्त्रालयका बहुपक्षीय व्यापार तथा व्यापार सहायता महाशाखा प्रमुख सहसचिव प्रकाश दाहालले जानकारी दिनुभयो । नेपालले विशेष सहुलियतका लागि भन्दै चिया, अलैँची, अम्रिसो, धागोसहितका ७६ प्रकारका वस्तुको सूची र बंगलादेशले गार्मेन्टहितका ४२ प्रकारको वस्तुको सूची पेश गरेको छ । यसमा अर्थ र भन्सारको राय चाहिन्छ । बंगलादेशसँग नेपालको व्यापार घाटा फराकिलो रहेकाले बंगालादेशले मागेजति सहुलियत दिन नसक्ने नेपालको अडान छ । नेपाली कृषि उपज निर्यातमा अन्य भन्सार शुल्क तथा उच्च भन्सार मूल्याकंनका कारण नेपाली वस्तुलाई अप्ठ्यारो परेकाले शुल्क पुर्नविचार गर्न आग्रह गरेपनि बंगलादेशबाट कुनै जवाफ आएको छैन । रोहनपुर–सिंहवाद रेलसेवामार्फत नेपाललाई रेल कनेक्टीभिटी दिन, बंगलादेशी भन्सार कार्यालय तथा बंगलाबन्धु समुन्द्री पोर्टको स्तोरोन्नति गर्न समेत नेपाली पक्षले आग्रह गरेको छ । हवाई तथा बस यातायात सञ्जाल विस्तार, दुई देशको कृषि विभाग, साल्ट ट्रेडिङ, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग लगायतका नियकाबीच आपसी सहकार्य विस्तार गर्ने समझदारी भएपनि दोहोरो कर मुक्तिमा भने सहमति जुटेको छैन । विवादित सबै विषयमा उपसचिवस्तरको समितिले नोभेम्बरसम्म सहमति जुटाउने र डिसेम्बरमा एकमुष्ट सम्झौता गर्ने तयारी छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6