Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : पढौँ नेपालका यी प्रमुख पाँच खबर

नेपाल अपडेट : पढौँ नेपालका यी प्रमुख पाँच खबर


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा चर्चा र विभिन्न सञ्चार माध्यममा स्थान पाएका प्रमुख पाँच खबर यस्ता छन् ।

कोरोनाको उच्च रेकर्ड
पछिल्लो २४ घण्टामा ५ हजार ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५ हजार ६८४ पुगेको छ । काठमाडौं उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा २ हजार ६७२ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार एक सय, भक्तपुरमा २ सय ३ र ललितपुरमा ३ सय ६९ जना संक्रमित थपिएका हुन् । नेपालमा हालसम्म सक्रिय कोरोना संक्रमितको संख्या ३० हजार ८ सय १८ रहेको छ । २४ घण्टामा १ हजार २२९ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना जित्नेहरुको संख्या ७४ हजार २५२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १४ जनाको कोरोनाले मृत्यु भएसँगै हालसम्म ज्यान गुमाउनेको संख्या ६ सय १४ पुगेको छ । सक्रिय संक्रमितमध्ये १७ हजार १६४ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयको तथ्यांक छ । सबैभन्दा बढी बाग्मती प्रदेशमा ११ हजार २ सय ६ जना होम आइसोलेसनमा छन् ।

आकस्मिक र कोभिड–१९ बाहेकका स्वास्थ्य सेवा बहिस्कार
नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्था तथा अस्पतालमा आकस्मिक र कोभिड–१९ बाहेकका सम्पूर्ण सेवा बहिस्कार गर्ने घोषणा गरेको छ । २७ दिनदेखि आमरण अनसनमा बस्नु भएका डा. केसीको जीवन रक्षाका निम्ति सरकार गम्भीर नभएको र वार्ताको बहानाबाजीमा अलमल्याउन खोजेको भन्दै संघले आइतबार आकस्मिक र कोभिड–१९ बाहेकका सम्पूर्ण सेवा बहिस्कार गर्ने निर्णय गरेको हो । २५ गतेसम्म सत्याग्रह अन्त्य नभए कडा आन्दोलनका कार्यक्रम गर्ने चिकित्सक संघले सरकारलाई चेतावनी समेत दिएको छ । डा. केसी ६ बुँदे माग राखेर २९ भदौबाट अनसनमा छन् । शनिबार मात्र पनि सरकारी वार्ता टोलीले कोभिड–१९ को महामारीले मुलुक आक्रान्त बनेको विषम परिस्थितिलाई मनन गरेर बिना सर्त अनसन अन्त्य गर्न डा. केसीलाई आग्रह गरेको छ ।

पर्यटन मन्त्रीलाई कोरोना संक्रमण
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्री भट्टराईले सामाजिक संजाल फेसबुक मार्फत आफूलाई कोरोना पुष्टि भएको जानकारी दिनुभएको हो । उहाँले आफ्नो सम्पर्कमा रहेका सबैलाई सर्तक रहन अनुरोध गर्नुभएको छ । सोमबार कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपनि काठमाण्डांै बाहिरका केही कार्यक्रममा सहभागी भएर शुक्रबार बेलुका निवासमा फर्केपछि हल्का ज्वोरोको महशुस भएर शनिबार पुनः कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको मन्त्री भट्टराइले जानकारी दिनुभएको हो । हालसम्म पनि हल्का ज्वोरो बाहेक अरु समस्या नदेखिएको भन्दै मन्त्री भट्टराइले लेख्नुभएको छ । मेरा कारणले कसैलाई पर्न जाने असुबिधाप्रति क्षमाप्राथी छु । होसियार रहनु र परिआएमा सामना गर्नु बाहेक के नै पो बिकल्प छ र ?

चाडपर्व मनाउनका लागि मापदण्ड
यो वर्षका चाडपर्व मनाउनका लागि भन्दै सरकारले मापदण्ड सार्वजनिक गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार चाडपर्व मनाउनेहरुका लागि मापण्ड सार्वजनिक गरेको हो । सरकारले जारी गरेको मापण्ड पालना नगर्ने व्यक्तिलाई संक्रामण रोग ऐन, २०२० अन्तरगत कारबाही गरिने बताइएको छ । दसैैं तथा अन्य जात्रा तथा पर्वमा प्रसाद तथा टीका सकेसम्म वितरण नगर्न, टीका तथा प्रसाद वितरण गर्नै परे कार्यक्रममा परिवारको एकजना मात्रै सहभागी हुनुपर्ने, सकेसम्म आयोजकले घरमै प्रसाद वितरण गर्नुपर्ने, एउटै घरका व्यक्तिबाहेक अरुसँग भेट नगर्ने र गर्नै परे दुई मिटरको दूरी कायम गर्नुपर्ने मापदण्डमा उल्लेख छ । सकैसम्म घरको परिवार मात्रै बसेर चाडपर्व माउन सरकारले आग्रह गरेको छ । चाडपर्वमा घर बाहिर नजाने र जानै पर्ने भए माक्स अनिवार्य लगाउनु पर्ने भएको छ । धार्मिकस्थल तथा मेलापर्वमा २५ जनामात्रै भेला हुन पाउने तथा अभिबादन गर्दा टाढैबाट नमस्कार गर्नु पर्ने भएको छ । अंगालो मार्न वा शरीर छुन पाइने छैन । कोरोनाको अति जोखिममा पर्ने व्यक्तिहरुले घरपरिवारका व्यक्तिबाहेक अन्य बाहिरका व्यक्ति भेला भएको ठाउँमा सहभागि नहुन भनेको स्वास्थ्य मन्त्रालयले ज्वरो, खोकी लागेका व्यक्ति, ६० वर्ष माथि र १२ वर्ष मुनिका बालबालिका, गर्भवती र सुत्करी महिला र रोधप्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरुलाई कुनै पनि कार्यक्रमा सहभागी नहुन वा सहभागी भए कार्यक्रम आयोजकले पर्याप्त स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउनु पर्नेमा जोड दिएको छ । भर्खरै सर्जरी गरेका, अंग प्रत्यारोपण गरेका तथा दीर्घरोगीहरु तथा पछिल्लो १५ दिनमा कुनै पनि रोगबाट निको भएका व्यक्तिहरुलाई भीडभाडमा नजान सरकारले सचेत गराएको छ ।

भारतबाट आउने र जानेहरुको तथ्यांक व्यवस्थित गरिने
सरकारले काम खोज्दै भारत जानेको तथ्यांक व्यवस्थित गर्ने तयारी थालेको छ । खुला सीमानाका कारण अहिलेसम्म भारतमा रोजगारीमा जाने कामदारको तथ्यांक व्यवस्थित हुन सकेको छैन । सरकारले भारत जाने र भारतबाट स्वदेश आउने कामदारको तथ्यांक व्यवस्थित गर्ने योजना बनाए पनि अहिलेसम्म तथ्यांक राख्न सकेको छैन । पराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरे सरकारसँग भारतबाट आवतजावत गर्नेको यकिन तथ्याङ्क नभएता पनि आगामी दिनमा प्रदेश सरकार र स्थानीय सरकारले तथ्याङ्क संकलन गर्नुपर्ने भन्दै पहल थाल्नुभएको हो । भारतीय रोजगारी व्यवस्थित गर्न पराराष्ट्र मन्त्रालयले तथ्यांकका लागि समन्वय गर्न तयार रहेको बताउँदै आएको छ । भारतमा श्रम गर्न जाने नेपालीको संख्या दशौं लाख रहेको अनुमान छ । कर्णाली प्रदेशका भूमि, व्यवस्था तथा सहकारी मन्त्री बिमला केसीले हालसम्म कर्णाली प्रदेशले भारतमा जाने श्रमिकको तथ्याङ्क नराखेता पनि करिब ७० प्रतिशत नेपाली रोजगारीको लागि जाने गरेको जानकारी दिनुभयो । झण्डै १४ प्रतिशत रेमिट्यान्स भारतबाटै आउने गरे पनि पठाउन झन्झट व्यहोर्नु परिरहेको छ । भारतमा रोजगारीको लागि करिब २ सय वर्षअघिदेखि जाने चलन सुरु भए पनि भारत आवातजावतको अभिलेख कतै पनि भेटिंदैन। भारतमा रोजगारी गर्न जाने नेपालीको संख्या करिब १५ लाखको हाराहारीमा रहेको बताइन्छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6