Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : पढौँ प्रमुख पाँच खबर

नेपाल अपडेट : पढौँ प्रमुख पाँच खबर


काठमाडौं । हामी अस्ट्रेलिया र नेपाललाई खबर माध्यमबाट जोड्ने अभियानमा छौँ । नेपालमा पछिल्लो २४ घण्टामा चर्चा र सञ्चारमाध्यममा महत्व पाएका प्रमुख पाँच खबर यस्ता छन् ।

उच्च रक्ताचापका बिरामी सावधान बनौँ
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उच्च रक्तचापका बिरामीहरुलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ । विश्व उच्च रक्तचाप दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्र श्रेष्ठले उच्च रक्तचापका बिरामीमा कोरोना भाइरस संक्रमणको जोखिम उच्च हुने भन्दै विशेष सावधानी अपनाउन आग्रह गर्नुभएको हो । नियमित रुपमा रक्तचापको परीक्षण गराउन उहाँले समेत सबैलाई आग्रह गर्नुभएको छ । उच्च रक्तचाप विश्वभर मृत्युको प्रमुख कारण बनेको भन्दै बदलिएको जीवनशैली, खानपिन र निष्क्रिय दैनिकीकालाई व्यवस्थित गर्न पनि सुझाब दिनुभएको थियो ।

विशिष्ट व्यक्तिहरुले सर्वसाधारणलाई टिका नलगाउने
कोरोना भाइरसको महामारी बढ्दो क्रममा देखिएसँगै पूर्वराजा ज्ञानेन्द्र शाह, राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले यो वर्षको दशैमा सर्वसाधारणलाई टीका नलगाइदिने भएका छन् । पूर्वराजाले औपचारिकरुपमै टीका नलगाउने घोषणा गरिसकेका छन् भने राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयको औपचारिक घोषणा आउन बाँकी छ । राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले कोरोना भाइरसका कारण राष्ट्रपतिले सर्वसाधारणलाई टीका लगाउने बारे अन्योल रहेको भन्दै सम्भवत टिकाको कार्यक्रम स्थगत हुने जानकारी दिनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत कोरोना जोखिमलाई मध्यनजर गरेर यस वर्ष सर्वसाधारणलाई टीका लगाउनुहुनेछैन । प्रधानमन्त्रीबाट औपचारिक घोषणा हुन भने बाँकी रहेको छ ।

राप्रपा अध्यक्ष कमल थापाको आईसीयूमा उपचार हुँदै
बुधबार कोरोना संक्रमण पुष्टि भएसँगै होम आइसोलेसनमा बसेका राप्रपा अध्यक्ष कमल थापालाई ज्वरो आउने तथा श्वासप्रश्वासमा केही असहज भएपछि शुक्रबार ओम अस्पताल भर्ना गरिएको हो । अस्पताल भर्ना हुनुभएका थापाको आईसीयूमा उपचार भइरहेको अस्पतालले जनाएको छ । हाल ज्वरो नियन्त्रणमा आउनुका साथै श्वासप्रश्वासमा देखिएको समस्या समेत हल भएको अस्पतालले जानकारी दिएको छ ।

स्थानीय श्रमिकलाई श्रमको मौका
दाङको बंगलाचुली गाउँपालिकाले चालू आर्थिक वर्ष २०७७/०७८ को लागि छनौट भएका योजनाहरुलाई श्रमको माध्यमबाट सम्पन्न गर्ने निर्णय गरेको छ । गाउँपालिकाको ८ वटै वडामा छनौट भएका विकास निर्माणका योजनाहरुमा उपभोक्ता समिति मार्फत स्थानीय श्रमिक परिचालन गरेर योजना सम्पन्न गर्ने रणनीति लिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर वलीले जानकारी दिनुभएको हो । विकास निर्माणका योजनाहरुमा डोजर लगाउँदा स्थानीय बेरोजगार भएको भन्दै गाउँपालिकाले श्रममा आधारित योजना सञ्चालन गरेको वोलीले बताउनुभयो । श्रममा आधारित योजनाले कोभिड–१९ का कारण गाउँघरमा रहेका बेरोजगार जनशक्तिले रोजगारी पाउने र डोजर अनि स्काभेटर बिनै विकास निर्माणका योजना पुरा गरिदा भूक्षय तथा पहिरोको जोखिम कम हुने विश्वास गरिएको छ ।

भिसा सकिएका कामदार ओमान फर्कन नपाउने
ओमानका अधिकारीहरूले कोरोना भाइरस महामारीका कारण अन्तर्राष्ट्रिय उडान स्थगित भएको भन्दै भिसा सकिएका कामदारहरु ओमान फर्कन नसक्ने जानकारी गराएका छन् । कोरोना महामारीको सर्वोच्च समिति बैठकको निर्णय सार्वजानिक गर्दै रोयल ओमान पुलिसका अपरेशनस महानिर्देशक सैद अल अस्मीले कोरोना महामारीको विषम परिस्थितिका कारण कामका लागि भिसा जारी प्रक्रिया निलम्बित भएको जानकारी दिनुभएको हो । वैध रेसिडेन्सी भएकाहरूका लागि भने प्रवेश अनुमति खुल्ला राखिएको छ । ओमानका नागरिकहरू र आप्रबासीलाई सर्वोच्च समितिले जारी गरेको दिशानिर्देशनप्रति सहयोग र प्रतिबद्धताको लागि ओमान सरकारले धन्यवाद दिएको छ । कोरोना महामारीको सर्वोच्च समिति कोरोना भाइरस रोकथामका उपायहरू उल्लंघन गर्नेहरूको नाम र फोटो पनि विभिन्न मिडिया आउटलेटमा प्रकाशित गर्ने निर्णय गरेको छ । ओमानको यो निर्णयसंगै बिदामा नेपाल गएका नेपाली श्रमिक समेत तत्काल फर्कन नपाउने भएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6