Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : पढौँ प्रमुख ५ खबर

नेपाल अपडेट : पढौँ प्रमुख ५ खबर


काठमाडौं । कोरोनाका कारण दशैँको रौनकता समेत नभएको नेपालमा विभिन्न खबरहरुले भने प्राथमिकता पाएका छन् । पछिल्लो २४ घण्टामा चर्चासँगै महत्व पाएका प्रमुख पाँच खबर यस्ता छन् ।

बर्दीयामा थपिए दुईवटा बिओपी
बर्दीयाका दुई स्थानमा बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएको छ । राजापुर नगरपालिका–७ को शङ्करपुर तथा वडा नम्बर १० को झप्टीमा सशस्त्र प्रहरीको बिओपी उद्घाटन गरिएको हो । शङ्करपुरस्थित बिओपी भवनको राजापुर नगरपालिकाका नगर प्रमुख शिवप्रसाद चौधरीले तथा झप्टीस्थित भवनको गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिंह केसीले उद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक नरबहादुर रावत, इलाका प्रहरी कार्यालय राजापुरका प्रहरी उपरीक्षक मीनबहादुर घले, सशस्त्र प्रहरी बल राजापुरका प्रहरी निरीक्षक खेमराज बोगटीलगायत उपस्थित हुनुभएको थियो ।

कार्तिक १९ गते भारती सेनाध्यक्ष नेपाल आउँदै
भारतीय सेनाध्यक्ष जनरल एमएम नरावणे कात्तिक १९ गते नेपाल आउने तय भएको छ । नेपाली सेनाले मंगलबार एक सूचना जारी गर्दै नरवणे प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाको निमन्त्रणामा नेपाल आउन लागेका बारे जानकारी गराएको हो । तीन दिने भ्रमणका लागि आउन लागेका नरवणेले सैनिक मञ्चको वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, जंगी अड्डामा सम्मान गारद निरीक्षण तथा आफ्ना समकक्ष पूर्णचन्द्र थापासँग छलफल गर्नुहुनेछ । कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरुसँग अन्तरक्रिया समेत हुनेछ । भ्रमणका क्रममा नेपाली सेना र भारतीय सेनाबीचको परम्पराअनुसार नरवणेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले एक विशेष समारोहकाबीच नेपाली सेनाको मानार्थ दर्ता प्रदान गर्ने कार्यक्रम तय भएको छ । नरवणेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रमसमेत छ ।

सीपीसीबाट डा. भट्टराई दम्पतिको स्वास्थ्य लाभको कामना
चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)ले कोरोना संक्रमित भएर होम आइसोलेसनमा बस्दै आउनुभएका पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । सीपीसीको अन्तर्राष्ट्रिय विभागले एक पत्र पठाएर भट्टराईको स्वास्थ्यलाभको कामना गरेको हो । सीपीसीले भट्टराईसँगै कोरोना पुष्टि भएकी पत्नी हिसिला यमीको समेत स्वास्थ्य लाभको कामना गरेको छ । डा. भट्टराईले कार्तिक ८ गते आफू र पत्नी हिसिलालाई कोरोना संक्रमण पुष्टि भएको सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुभएको थियो ।

पूर्व सांसदको कोरोनाबाट निधन
संविधान सभा सदस्य मानपुर चौधरीको कोरोना संक्रमणका कारण निधन भएको छ । सप्तरीको कंचनरुप नगरपालिका ४ जगतपुर निवासी संविधानसभा सदस्य चौधरीको उपचारका क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार निधन भएको छ । दुई साताको अन्तरालमा दुई पटक कोरोना परीक्षण गराउँदा उनमा पहिलो पटक नेगेटिभ र दोस्रो पटक पोजेटिभ नतिजा आएको थियो । चौधरी मधुमेह र उच्च रक्तचापबाट समेत पीडित थिए । चौधरी २०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनमा सप्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए ।

प्रकृतिक विपदमा परेर बैशाखयता ४६३ को मृत्यु
बाढी, पहिरो, चट्याङ जस्ता विपदमा परेर वैशाखयता नेपालका विभिन्न स्थानमा ४६३ जनाले ज्यान गुमाएका छन् । अझ पनि १०१ जना बेपत्ता छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा बढी पहिरोले २९५ जनाको, चट्याङबाट ६५, बाढीबाट ४२, सर्पदंशबाट २१, अविरल वर्षाबाट १५, आगलागीबाट १३ र जनावरको आक्रमणबाट १२ जनाको मृत्यु भएको छ । प्राधिकरणका अनुसार पहिरोमा परेर ६४ र बाढीबाट ३७ जना अझै बेपत्ता छन् । यो अवधीमा विपदमा परेर ८०३ जना घाइते भएका छन् भने ७९ करोड ७५ लाख रुपैयाँ भन्दा बढीको आर्थिक क्षति भएको आँकलन गरिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6