Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : यी हुन प्रमुख पाँच खबर

नेपाल अपडेट : यी हुन प्रमुख पाँच खबर


काठमाडौं । नेपालका विभिन्न सञ्चारमाध्यममा पछिल्लो २४ घण्टामा स्थान पाएका र चर्चा पाएका प्रमुख पाँच खबर यस्ता छन् ।

सामाजिक सञ्जालको दुरुपयोगबाट बचौँ
नेपाल प्रहरीको साइबर ब्युरोले विभिन्न बहाना बनाएर प्रविधिको दुरुपयोग गरी अश्लील गतिविधि भइरहेकोतर्फ ध्यानाकर्षण गराउँदै सचेत हुन सबैलाई आग्रह गरेको छ । विभिन्न व्यक्तिको ल्याण्डलाइन र मोबाइल फोनमा नम्बर नै नदेखिने तथा सामाजिक सञ्जालको नक्कली आइडी बनाएर कल गर्नेसँग सतर्क हुन ब्युरोका सूचना अधिकारी नविन्द अर्यालले सबैलाई आग्रह गर्नुभएको हो । ब्युरोले यस्ता व्यक्तिहरुले फोन गरेर तपाईँको एकाउन्टबाट नग्न, तस्वीर तथा भिडियो भाइरल भइरहेको र एक पटकका लागि हामीले त्यस्तो हुनबाट रोकेका छौँ, त्यसको प्रमाणीकरणका लागि नग्न फोटो वा भिडियो पठाउनुहोस् भनी पठाउन लगाउने र प्राप्त भएपछि नक्कली आइडी डिएक्टिभ गर्ने गरेको भन्ने सूचना एवं उजूरी प्राप्त भएको भन्दै सचेतनाका लागि जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस्ता गतिविधिबाट सचेत हुन र आफ्नो व्यक्तिगत विवरण कसैलाई नदिन आम नागरिकलाई सूचित गरेको ब्युरोले यस्ता गतिविधि थाहा पाएमा प्रहरीको साइबर ब्युरो वा नजीकको प्रहरी कार्यालयमा सूचना दिन आग्रह गरेको छ ।

मुख्य सचिव बैरागीमा कोरोना संक्रमण
नेपाल सरकारका मुख्य सचिव शंकर बैरागीमा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार साँझ ट्वीटमार्फत् आफूलाई कोरोना संक्रमण भएको जानकारी गराउँदै मुख्य सचिव बैरागीले पछिल्ला केही दिनयता आफूसँग सम्पर्कमा आएका व्यक्तिलाई सतर्कता अपनाउन आग्रह गर्नुभएको छ ।

तातोपानी नाका सञ्चालनमा
नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी बुधबारदेखि पुनः सञ्चालनमा आएको छ । दुवै देशबीचको समझदारीअनुसार स्वास्थ्य मापदण्ड पूरा गरी सञ्चालनमा आए पनि मालवाहक कन्टेनर भने बिहीबार मात्रै नेपाल भित्रिने तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिनुभयो । नेपाल भित्रिने सामान अबदेखि चिनियाँ पक्षले नै भन्सार क्षेत्रसम्म ल्याइदिनेभएकाले नेपाली कामदार सीमा पारि जानु नपर्ने भएको छ । यसरी आएका कन्टेनरलाई भन्सारको आइसोलेशन यार्डमा १२ देखि १४ घण्टासम्म राखेपछि मात्र जाँचपास गरी राजधानी पठाइने भन्सार कार्यालयले जनाएको छ । बाढीपहिराले तीन महिनादेखि बन्द भई गत असोज १९ गते सञ्चालनमा आएको तातोपानी नाका ७ जना नेपाली कर्मचारीमा कोभिड—१९ संक्रमण देखा परेपछि असोज २१ गतेदेखि चीनिया पक्षबा बन्द गरिएको थियो ।

कतारका आप्रवासी श्रमिकलाई इन्ट्री परमिट थप्ने सुविधा
कोरोना महामारीका कारण कतार बाहिर रहेका आप्रवासी श्रमिक लगायत अन्य नागरिकलाई चाहिने अनुमति पत्र (इन्ट्री परमिट) को म्याद बेवसाइट मार्फत निवेदन दिएर थप्न मिल्ने भएको छ । परमिट निकाले जस्तै कतार पोर्टलको वेबसाइट मार्फत निवेदन दिई म्याद थप गर्न सकिने र यो सुबिधाबाट इन्ट्री परमिट निकालेको एक महिना भित्र विभिन्न कारणले कतार फर्कन नसकेका आप्रवासी नागरिकहरुले लाभ लिन सक्ने विश्वास गरिएको छ । एक पटक जारी गरिएको प्रवेश अनुमतिको म्याद ३० दिनसम्म मान्य हुन्छ । म्याद सकिएका व्यक्तिले ३० दिनसम्मको लागि म्याद थप गर्न सक्ने हुकुमी कतारले ट्वीटर मार्फत जानकारी गराएको छ ।

नेपालमा कोरोनाको अवस्था
पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ५४ जना कोरोना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६२ हजार ३ सय ५४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार २ हजार ९ सय ८१ जना कोरोना संक्रमित विभिन्न अस्पतालबाट डिस्चार्ज भएसँगै कोरोना जित्नेहरुको संख्या १ लाख २१ हजार ८ सय २४ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ६ सय ४३ पुगेको छ भने २ हजार ८ सय ८९ जना क्वारेन्टिनमा छन् । पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोनाबाट मृत्यु भएसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ सय ८७ पुगेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6