Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : पढौँ यी प्रमुख ५ खबर

नेपाल अपडेट : पढौँ यी प्रमुख ५ खबर


काठमाडौं । कोरोना संक्रमण यथावत रहेको नेपालमा दलहरु आन्तरिक किचलोमा छन् । नेताहरुको स्वार्थगत राजनीतिले सिंगो देशलाई तरंगित बनाइरहँदा देशका पछिल्ला प्रमुख पाँच खबर यस्ता छन् ।

विना दर्ताका क्रसर बन्द गर्न निर्देशन
गृह मन्त्रालयले विना दर्ता सञ्चालनमा रहेका क्रसर एवं बालुवा प्रशोधन उद्योग तत्काल बन्द गराउन निर्देशन दिएको छ । गृहमन्त्री रामबहादुर थापा, उर्जामन्त्री वर्षमान पुन, उद्योगमन्त्री लेखराज भट्ट, वनमन्त्री शक्तिबहादुर बस्नेत लगायतको सिंहदरबारमा बसेको बैठकले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई विना दर्ता सञ्चालित उद्योग बन्द गर्न निर्देशन दिएको हो । मन्त्रालयले प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा डिभिजन वन, जिल्ला प्रहरी, घरेलु तथा साना उद्योग, मालपोत र नापी कार्यालयका प्रमुखसहित इञ्जिनियर सम्मेलित टोलीबाट तत्काल अनुगमन गरेर क्रसर मापदण्ड अनुसार भए नभएको, तोकिएको जग्गामा सञ्चालन भए, नभएको, दर्ता भएका वेला तोकिएका अन्य शर्त पालना गरिए नगरिएको लगायतका विवरण संकलन गरी ७ दिनभित्र रिपोर्ट पेश गर्न भनेको छ ।

स्वास्थ्य मन्त्रालयमा स्वास्थ्यकर्मीको ज्ञापन
स्वास्थ्यकर्मीहरुले मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुगेर आफ्ना विभिन्न मागसहित ज्ञापन पत्र बुझाएका छन् । वीर अस्पतालका स्वास्थ्यकर्मीहरुले स्वास्थ्य राज्यमन्त्री नवराज रावतलाई बुझाइएको ज्ञापन पत्रमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स) ले राम्रो समन्वय गरेर कोभिड र नन कोभिड बिरामीको व्यवस्थापन गर्न नसक्दा आउने सेवाग्राही अत्यन्त दुःख भोगिरहनुपरेको उल्लेख छ । अस्पताल प्रशासनले माग पूरा गर्न कुनै चासो नदिएपछि मन्त्रालयमा ज्ञापन पत्र बुझाउनुपरेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । चैतदेखि हालसम्मको कोभिड भत्ता नपाएको, औषधि खरिद खर्च, सेवा विस्तार भत्ता तथा स्वास्थ्य सुरक्षाका सामग्री नपाएको भन्दै स्वास्थ्यकर्मीहरु तथा कर्मचारीहरुले दिनको एक घण्टा हातमा कालो पट्टी बाँधेर अस्पताल परिसरमा धर्ना दिँदै आएका छन् ।

भिसाको म्याद सकिएकाले नोभेम्बर ३० अघि नै कुवेत छाड्नुपर्ने
भिजिट भिसा समाप्त भएर पनि कवेतमा बसेकाहरूले नोभेम्बर ३० अघिनै मुलुक छोड्नु पर्ने भएको छ । आन्तरिक मन्त्रालयले सबै प्रकारका भिजिट भिसामा प्रवेश गरेका र म्याद सकिएका सबैलाई कुवेत छोड्न अनुरोध गरेको हो । अटेरी गरेर बस्ने सबैलाई डिपोट गरी पठाइने र यसरी पठाईएकाहरु फेरि कुवेत प्रवेश गर्न नपाउने बताइएको छ । कोरोना भाइरसको विषम परिस्थितिका कारण नेपाललगायतका विभिन्न मुलुकहरूमा अन्तर्राष्ट्रिय हवाई उडानहरू (चार्टर्ड उडान बाहेक) संचालनमा नआएपछि कुवेतले भिसाको म्याद थप्दै आएको थियो । पहिले थप गरिएको ३ महिनाको अवधिसमेत समाप्त भएपछि कुवेतले थप ३ महिना (३० नोभेम्बरसम्म)को भिसाको म्याद थपेको थियो ।

२१३ जनाको सैन्य टोली सुडान प्रस्तान
संयुक्त राष्ट्रसंघको आव्हानमा दक्षिण सुडानमा शान्ति स्थापनाका लागि २१३ जना नेपाली शान्ति सैनिकको डफ्फा त्यसतर्फ प्रस्थान गरेको छ । सुडानमा तैनाथ तारादल गणको छैठौं डफ्फालाई बदली गर्न प्रमुख सेनानी सुशील प्याकुरेलको नेतृत्वमा गोरखबहादुर गण दक्षिण सुडान गएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको हो । आफनो कार्यजिम्मेवारी पूरा गरी सेनानी दीपक अर्याल नेतृत्वमा रहेको २११ जनाको शान्ति सैनिक टोली सोमबार नेपाल आइपुग्नेछ । कोभिड–१९ महामारीबीच पनि शान्ति स्थापनालाई निरन्तरता दिने नीतिअनुरुप अदलीबदलीमा सम्पूर्ण सुरक्षा सतर्कता तथा प्रोटोकलको पालना गरिएको नेपाली सेनाले जानकारी गराएको छ ।

नाका सुचारु नहुँदा व्यवसायी आक्रोशित
नेपाल राष्ट्रिय व्यवसायी महासंघले चीनले एकतर्फी रुपमा सीमा बन्द गरेका कारण भएको समस्या समाधानमा सरकार गम्भीर नबनेको भन्दै नाकामै धर्ना बस्ने चेतावनी दिएको छ । दश महिनादेखि चिनियाँ नाकामा रोकिएका कन्टेनरहरु सहज रुपमा नेपाल भित्रन नसकेको र सरकारले समेत पहल नगरेको भन्दै नाका सहज बनाउन सरकारसँग माग गरेको हो । परराष्ट्रमन्त्री, प्रतिपक्षी दलका नेता लगाएतका सबै शिर्ष नेताहरुलाई समस्याका बारेमा जानकारी गराएपछि केरुङ, तातोपानी नाका खुला गरिएपनि सहज रुपमा सुचारु नगरिएका कारण मारमा परेको गुनासो व्यवसायीले गरेका छन् । सीमा नाकामा अत्यधिक भाडा वृद्धि र सिण्डिकेट समेतको अन्त्य गरी कुटनीतिक पहलबाट नाका सहज बनाउन सरकारलाई आग्रह गरेका व्यवसायीले समस्या समाधान नभए नाकामै धर्ना बस्ने चेतावनी दिएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6