Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : यी हुन प्रमुख पाँच खबर

नेपाल अपडेट : यी हुन प्रमुख पाँच खबर


काठमाडौं । कोरोना कहर जारी रहेको नेपालमा एसिड आक्रमणको घटनाले समेत निरन्तरता पाइरहेको छ । तिहारमा विद्युत भारत मिलाउन मन्त्रीको दौडधुप, उडानमा पीसीआर रिपोर्टको बैद्यानिकता लगायत पछिल्ला प्रमुख पाँच खबर यस्ता छन् ।

आफ्नै पत्नी र छोरीमाथी एसिड प्रहार
धनुषामा एक व्यक्तिले आफ्नै पत्नी र छोरीमाथि एसिड प्रहार गरेका छन् । जनकपुर उप–महानगरपालिका वडा नम्बर २० घर भई वडा नम्बर ७ जानकीनगरमा डेरा गरी बस्ने २१ बर्षीया आरती साह र उनकी तीन बर्षीया छोरी रिया साहमाथि सञ्जिव साहले एसिड प्रहार गरेका हुन् । साह दम्पति पछिल्लो समय छुट्टाछुट्टै बस्दै आएका थिए । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक राजेश सिग्देलका अनुसार शनिबार बिहान पत्नीको कोठामा पुगेका २४ वर्षीय सञ्जिवले आमा छोरीमाथि एसिड प्रहार गरेका थिए । आरतीको अनुहारसहित पेट र छाती लगायत शरीरको बिभिन्न ठाउँमा एसिड परेको छ । एसिडले उनको २० प्रतिशत शरीर जलेका कारण गम्भीर अवस्थामा उपचार भैरहेको छ । छोरी रियाको टाउको र बायाँ हातमा एसिड परेको छ । आमाछोरीको जानकी हेल्थ केयर एण्ड टिचिङ अस्पताल जनकपुरमा उपचार भइरहेको र एसिड प्रहार गरी भागेका सञ्जिबलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

विद्युत आपूर्ति सहज गर्न उर्जामन्त्री पुनको सक्रियता
ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमा पुन (अनन्त) ले नेपाल विद्युत प्राधिकरणको स्युचाटारस्थित भार प्रेषण केन्द्र (एलडिसी) पुगेर देशभरको विद्युत आपूर्तिको अवस्था बारे जानकारी लिनुभएको छ । देशभरको विद्युत आपूर्तिको अवस्थाबारे प्रत्यक्ष निरीक्षणका लागि मन्त्री पुन नेपाल विद्युत प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसहित एलडिसी पुग्नुभएको हो । नेपालीहरुको दोश्रो ठूलो चाड तिहारअन्तर्गत लक्ष्मी पूजाका दिन विद्युतको माग बढी हुने भएकाले माग र आपूर्तिको सन्तुलन नखल्बलियोस् भन्ने आफ्नो चासो रहेको मन्त्री पुनले बताउनुभयो । व्यवस्थित योजनासहित माग र आपूर्तिको व्यवस्थापन गरिएकाले कतै बत्ती नजाने भन्दै ढुक्कले उज्यालोमा तिहार मनाउन आम देशबासीलाई मन्त्री पुनले अपिल गर्नुभयो । भार प्रेषण केन्द्रले देशभरको विद्युत आपूति, माग र वितरणको व्यवस्थापनको काम गर्छ । प्राधिकरणका अनुसार शुक्रबार पिक आवरमा अधिकतम विद्युत माग १२ सय मेगावाट थियो । प्राधिकरणको वितरण प्रणालीमा हाल १३ सय मेगावाट विद्युत उपलब्ध छ । मागभन्दा बढी विद्युत भएकाले कतै पनि विद्युत अवरुद्ध नहुने भार प्रेषण केन्द्रका प्रमुख सुरेशबहादुर भट्टराईले जानकारी दिनुभएको छ ।

सरकारी प्रयोगशालाको पीसीआर रिपोर्ट भए मात्रै हङ्कङ उडान
नेपाल एयरलाइन्सले हङ्कङ उडानका लागि सरकारी प्रयोगशालाको पीसीआर परीक्षणको रिपोर्टलाई मात्र मान्यता दिने भएको छ । सरकारी मान्यताप्राप्त प्रयोगशालाबाट ७२ घण्टा भित्र प्राप्त रिपोर्टको आधारमा यात्रा गराउँदा कतिपय यात्रु गन्तब्यमा पुगेपछि पुनः पोजेटिभ रिपोर्ट आएको बारे चिन्ता व्यक्त गर्दै निगमले अर्को व्यवस्था नभएसम्मका लागिसरकारी प्रयोगशालाको रिपोर्टलाई मात्रै मान्यता दिने निर्णय गरेको हो । निगमको महत्वपूर्ण गन्तब्य हङकङ उडानमा केही यात्रुमा बारम्बार कोरोना पोजेटिभ देखिएपछि त्यहाँको नागरिक उड्डयनले उडान प्रतिबन्ध लगाइरहेको छ । हङकङले पछिल्लो पटक निगमलाई तेस्रो पटक १४ दिनको लागि उडान प्रतिबन्ध गरेको छ । निगमका अन्य उडान गन्तब्यमा भने यस्तो समस्या देखिएको छैन । निगमले उडान गर्ने गन्तब्यमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट मान्यताप्राप्त प्रयोगशालाबाट पिसीआर परीक्षण गरी ७२ घण्टा भित्रको रिपोर्टलाई मान्यता दिने गरेको छ । निगमले अन्तर्राष्ट्रियतर्फ दुई थान वाईड बडी ए ३३० र दुई थान न्यारोबडी ए ३२० जहाजले भारतका तीनसहित विभिन्न मुलुकका नौ गन्तब्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ ।

नेपालको पर्यटन क्षेत्रले गति लियो : मन्त्री भट्टराई
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कोरोना महामारिकाबीच नेपालको पर्यटन क्षेत्रले गति लिन थालेको बताउनुभएको छ । आमदब्लम हिमालको सफल आरोहण गरी काठमाडौं फर्किनुभएका कतारका राजकुमार शेख मोहम्मद विन अब्दुल्ला एम अलथानीसहितको टोलीसँगको भेटपछि पर्यटनमन्त्री भट्टराईले यस्तो बताउनुभएको हो । विश्वमा कोभिड संक्रमणको जोखिम कायमै रहेपनि छिमेकी मुलुकबाट उच्च पदस्थ व्यक्तिहरु नेपाल भ्रमणमा आउनु पर्यटन क्षेत्रका लागि सकारात्मक भएको उहाँले बताउनुभयो । सरकारले पर्यटन क्षेत्र खुला गर्ने निर्णय गरेसँगै विदेशी पर्यटकहरुको आगमन बढ्दै गएको छ । राजकुमार शेख मोहम्मदले लामो समयदेखि आफु नेपाल भ्रमणमा आइरहेको स्मरण गराउँदै छिट्टै अर्को भ्रमणमा आउने विश्वास व्यक्त गर्नुभयो । राजकुमारसहितको टोलीले बुधबार आमदब्लम हिमालको सफल आरोहण गरेको थियो । राजकुमार शेख मोहम्मद आइतबार आफ्नो देश फर्किने छन् । कोरोना महामारीका कारण विश्वको पर्यटन क्षेत्र धराशयी बनेका बेला यसअघि नै बहराइनका राजकुमार सम्मिलित १८ जनाको टोलीले लोबुचे (६,१४५ मिटर) र मनास्लु (८,१६३ मिटर) हिमाल आरोहण गरेको थियो ।

कोरोना अपडेट
पछिल्लो २४ घण्टामा १ हजार ९४६ कोरोना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८ हजार २९९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ५०३ संक्रमित विभिन्न अस्पतालबाट डिस्चार्ज भएसँगै १ लाख ७० हजार ६ सय ३२ जनाले कोरोना जितेका छन् । हालसम्म सक्रिय संक्रमितको संख्या ३६ हजार ४५२ रहेको छ । पछिल्लो २४ घण्टामा १३ कोरोना संक्रमितको मृत्यु भएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार २१५ पुगेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6