Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअमेरिकी संसद भवनमा ट्रम्प समर्थकले गरे तोडफोड, एक महिलाको गयो ज्यान

अमेरिकी संसद भवनमा ट्रम्प समर्थकले गरे तोडफोड, एक महिलाको गयो ज्यान


गणेश थापा/अमेरिका

अमेरिकी संसद भवनमा बुधवार तनावपूर्ण अवस्था सृजना भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थित हजारौं प्रदर्शनकारीहरूले संसद भवनभित्र प्रवेश गरी उच्छृंखल गतिविधि गरेपछि अराजक स्थिति सिर्जना भएको हो ।

राजधानी वासिगंटन डिसीस्थित क्यापिटल हिलमा गत ३ नोभेम्वरमा सम्पन्न राष्ट्रपतीय निर्वाचनको मतपरिणामलाई लिएर ट्रम्प समर्थकहरूले उग्र प्रदर्शन गरेका हुन । संसद भवन कब्जामा लिनेखालका प्रयासका साथै डिसी क्षेत्रको सुरक्षास्थिति खलबल्याउने कार्य भएको भन्दै स्थानीय प्रशासनले अहिले सो क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ भने संसदहरूलाई सुरक्षित स्थानमा राखिएको छ ।

प्रदर्शनकारीहरूले संसद भवनभित्र तेस्रो तलासम्म पुगेर सांसदहरूले प्रयोग गर्ने मेचकुर्सी लगायतका सामाग्री यत्रतत्र गरेको दृश्य स्थानीय संचारमाध्यमहरूले सार्वजनिक गरेका छन् । नयॉ राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई अमेरिकी संसदको दुवै सदनले आज संयुक्त रूपमा संयुक्त राज्य अमेरिकाको ४६औं राष्ट्रपतिको रूपमा घोषणा गर्ने नियमित कार्यतालिका थियो ।

तीन दिनअघि नव निर्वाचित सांसदहरूले कार्यभार ग्रहण गरेपछि सुरू भएको संसदको संयुक्त बैठकले बाइडेनलाई राष्ट्रपतिमा निर्वाचित भएको आधिकारिक घोषणा गर्ने तयारी गरिरहेको अवस्थामा ठूलो संख्यामा प्रदर्शनकारीहरूको समूह सुरक्षाघेरा तोडेर एक्कासी संसद भवनभित्र प्रवेश गरेपछि परिस्थिति स्थानीय प्रहरीको कावुवाहिर पुगेको विभिन्न संचार माध्यमहरूले उल्लेख गरेका छन् । संसद भवन परिसर र डिसी सहरको सुरक्षास्थितिलाई ध्यानमा राखेर अहिले सेनासहितको थप सुरक्षा बल परिचालन गरिएको कुरा राष्ट्रपति ट्रम्पका एक जना प्रेस सल्लाहकारले उल्लेख गरेका छन् ।

यद्यपि राष्ट्रपति ट्रम्पले अहिलेसम्म आफ्नो हारलाई स्वीकार गरेका छैनन् । उनले विभिन्न बखेडा झिकेर नव निर्वाचित राष्ट्रपति जो बाइडेनलाई आगामी जनवरी २० मा हुने सपथ ग्रहण समारोह अघि अनेकन झमेलामा पार्न गरिरहेका प्रयास स्वरूप नै संसद भवन जस्तो अत्यन्तै संवेदनशील क्षेत्रमा यस किसिमको हर्कत भएको र यसले अमेरिकाको प्रजातान्त्रिक इतिहासलाई नै असर गर्ने कतिपय राजनीतिक विश्लेषकहरूले अर्थाइरहेका छन् ।

यसैबीच नव निर्वाचित राष्ट्रपति जो बाइडेनले ट्रम्प समर्थकहरूले संसद भवनभित्र गरेको उपद्रोलाई अमेरिकी संसदमाथिको हमलाको संज्ञा दिएका छन् । उता जर्जियाको आज सार्वजनिक मतपरिणाम अनुसार सिनेटका दुवै सिटमा डेमोक्रेटिक उम्मेदवार विजयी भएपछि अब संसदको दुवै सदनमा डेमोक्रेटिक पार्टीको बहुमत कायम भएको छ । अब बाइडेनलाई आफ्ना नीति र भिजन पारित गर्न संसदमा कुनै अवरोधको सामना गर्नुपर्ने छैन ।

यता जबरजस्ती संसद भवन प्रवेशगरेको अराजक भीडलाई नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीको गोली लागेर एक जना महिला प्रदर्शनकारीको मृत्यु भएको र केही संख्यामा प्रदर्शनकारीहरू घाइते भएको एनबीसी न्युजले जनाएको छ । सुरक्षाफौजले कयौंलाई पक्राउ समेत गरेको छ भने हिंसात्मक घटना हुन नदिन देशभर सुरक्षा सतर्कता बढाइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6