Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा बुधबारबाट कोरोनाविरुद्धको खोप अभियान, सबै प्रदेशमा आज खोप पुग्ने

नेपालमा बुधबारबाट कोरोनाविरुद्धको खोप अभियान, सबै प्रदेशमा आज खोप पुग्ने


काठमाडौं । कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ को १० लाख मात्रा खोप भारत सरकारको अनुदानमा नेपाल आइपुगेको छ । यो खोप सबै प्रदेशमा पुर्याइदैछ । शनिबारदेखि सात वटै प्रदेशमा पठाउन थालिएको खोप आइतबार आज साँझसम्म सबै प्रदेशमा पुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रदेशबाट आवश्यकताका आधारमा खोप जिल्ला अस्पतालमा वितरण गरिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिनुभयो । भारतबाट ल्याइएका खोप स्वास्थ्य सेवा विभागको टेकुस्थित केन्द्रीय चिस्यान केन्द्रमा राखेर प्रदेशमा पठाइदैछ । पहिलो चरणको उक्त खोप अस्पताललाई नै खोप केन्द्र बनाएर लगाइनेछ । सात प्रदेश र ७७ जिल्लामा गरी करीब ३०० विभिन्न अस्पतालबाट खोप लगाइने प्रवक्ता गौतमले जानकारी दिनुभयो । काठमाडौं उपत्यकामा १० भन्दा बढी अस्पतालबाट खोप वितरण गरिने जानकारी दिइएको छ ।

पहिलो चरणको खोप स्वास्स्थ्य संस्थामा कार्यरत कोभिड–१९ व्यवस्थापनमा अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी, एम्बुलेन्स तथा शववाहन चालक, कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु भएका शवको व्यवस्थापनमा खटिने सुरक्षाकर्र्मी, स्थानीय तहमा कार्यरत फोहोर व्यवस्थापन तथा सरसफाइकर्मीलाई लगाइने जनाइएको छ । दुई मात्रामा दिइने खोप पहिलोपटक लगाएको एक महिना वा चार हप्तापछि दोस्रो मात्रा दिइने छ । खोप लगाउन सुरू गरेको एक हप्ताभित्र अनुदानमा प्राप्त सबै खोप लगाइसक्ने मन्त्रालयले जानकारी दिएको छ ।

भारत सरकारले माघ ८ गते बिहीबार अनुदान स्वरुप सरकारलाई १० लाख मात्रा खोप उपलब्ध गराएको थियो । माइनस दुई डिग्री सेल्सियसदेखि माइनस आठ डिग्री सेल्सियसमा राख्न सकिने उक्त कोभिशिल्ड खोप भारतमा ७० प्रतिशत प्रभावकारी देखिएको छ । सरकारको कुल जनसङ्ख्याको ७२ प्रतिशतलाई कोभिड–१९ विरुद्ध खोप लगाउने योजना बनाएको छ । पहिलो चरण खोप लगाएपछि सरकारले दोस्रो चरणका लागि ‘कोभ्याक्स सुविधा’ नामक संयन्त्रअन्तर्गत निःशुल्क २० प्रतिशत खोप ल्याउने तयारी थालेको छ । कोभ्याक्समार्फत आउने खोपले २० प्रतिशत जनसङ्ख्यालाई पुग्ने आँकलन गरिएको छ ।

सरकारले बाँकी ५२ प्रतिशत खोप कूटनीतिक नियोगबाट सरकार–सरकार (जिटुजी), सार्वजनिक खरीद नियमावलीअनुसार र ठेक्कामार्फत ल्याएर निशुल्क वितरण गर्ने जनाएको छ । अहिले विश्वमा फाइजर एन्ड बायोएनटेक कम्पनी (अमेरिका), मोडेर्ना (अमेरिका), ग्यामेलिया (रसिया), ‘स्पुतनिक–भी’ (रसिया) र अक्सफोर्ड अक्ट्राजेनिका (बेलायत) र चीनको ‘साइनोभ्याक्स’ लगायतका खोप कोभिड–१९ विरुद्ध प्रयोग भइरहेका छन् ।

बुधबारबाट खोप अभियान
कोरोनाविरुद्धको खोप आगामी माघ १४ बाट लगाउन सुरू गरिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही माघ १४ गतेबाट कोभिड–१९ विरुद्धको खोप लगाउन सुरु गरिने जानकारी दिनुभएको हो । देशमा कोरोनालाई पराजित गर्ने अभियान सुरुआत भएको भन्दै प्रधानमन्त्री ओलीले पर्याप्त खोप नआइसकेकाले अझै केही महिना सावधानी अपनाउन आग्रह गर्नुभएको छ ।

यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप अभियान तथा व्यवस्थापनका लागि सातवटै प्रदेशका लागि संयोजक तोकेको छ । प्रदेश १ मा स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोखरेल, प्रदेश २ मा उपचारात्मक सेवा महाशाखाका निर्देशक डा. मदनकुमार उपाध्याय, बाग्मती प्रदेशमा मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. गुणराज लोहनी, गण्डकी प्रदेशमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमलाई, लुम्बिनी प्रदेशमा मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. विकास देवकोटा, कर्णाली प्रदेशमा राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. अनुज भट्टचन र सुदूरपश्चिम प्रदेशमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेललाई संयोजकका रूपमा खटाइएको छ । उनीहरुले खोप व्यवस्थापन तथा प्रयोगको संयोजन गर्नेछन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6