Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsप्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीको स्वेच्छाचारिता, पार्टी पुनर्गठन छाडेर भाडभैलो

प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीको स्वेच्छाचारिता, पार्टी पुनर्गठन छाडेर भाडभैलो


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्वले पेलेर जानसक्ने खनाल–नेपाल समूहको आशंकालाई बल पुग्ने गरी शुक्रबार आफू निकट नेताहरुको बैठक बोलाएर पदाधिकारीहरु खारेजदेखि दशौं महाधिवेशनको मिति तोक्ने जस्ता महत्वपूर्ण निर्णय गरे । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीबाट आफू निकट नेताहरुको बैठक मार्फत बाधा अड्काउ फुकाउमा टेकेर विधान संशोधन गर्दै महासचिव ईश्वर पोखरेल बाहेकका पदाधिकारीबाट समेत हटाउने काम भएको छ ।

आफू निकट नेताहरुको बैठक राखेर ओलीले बाधा अड्काउ फुकाउमार्फत पार्टीको नवौं महाधिवेशनबाट पारित विधान समेत संशोधन गरेका छन् । उमेर हद, कमिटीको संरचनामा संशोधन गर्दै २०७८ मंसिर २ देखि ६ गतेसम्म दशौं महाधिवेशन गर्ने निर्णय पनि गरिएको छ । बालुवाटारमा बसेको बैठकलाई केन्द्रीय कमिटीको ‘विशेष बैठक’ भनिएको छ, जसमा झलनाथ खनाल र माधवकुमार नेपाल निकट नेताहरुलाई बोलाइएको नै थिएन । २०७१ असारमा भएको एमालेको नवौं महाधिवेशनबाट ओली अध्यक्ष निर्वाचित भएका थिए । उपाध्यक्षमा विद्या भण्डारी, बामदेव गौतम, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावल, महासचिवमा ईश्वर पोरखेल, उपमहासचिवमा विष्णु पौडेल र घनश्याम भुसाल तथा सचिवमा पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली, भीम आचार्य, योगेश भट्टराई र गोकर्ण विष्ट चुनिएका थिए । भण्डारी राष्ट्रपति छिन् भने बाँकी पदाधिकारीमा माधवकुमार नेपाल पक्षको बहुमत रहेको थियो ।

२०७५ जेठ ३ मा एमाले र माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेपछि भने ओली र पुष्पकमल दाहाल अध्यक्ष तथा विष्णु पौडेल महासचिव बनेका थिए । पछिल्लो समय बामदेवलाई उपाध्यक्ष मनोनित गरिएको थियो । ५ पुसमा प्रधानमन्त्री ओलीले संसद विघटन गरेसँगै नेकपा ओली र प्रचण्ड–माधव समूहमा विभाजित भएको थियो तात्कालिन नेकपाको केन्द्रिय कमिटि, सचिवालय, स्थायी कमिटि र संसदिय दल सबैतिर ओली अल्पमतमा परेका थिए । ओली र प्रचण्ड पक्षको आधिकारिकता विवाद नटुंगिँदै २३ फागुनमा सर्वोच्चले नेकपा खारेज गरेर एमाले र माओवादी ब्युँताउने फैसला सुनाएपछि संकटमा परेका ओली पार्टीमा बहुमतप्राप्त बनेका थिए ।

अध्यक्ष ओलीले नेपाल समूहका नेताहरुको जिम्मेवारी समेत खोसेका छन् । प्रदेश १ को इन्चार्जमा भीम आचार्यलाई हटाएर सुवासचन्द्र नेम्वाङ, प्रदेश २ बाग्मती प्रदेशको इन्चार्जमा अष्टलक्ष्मी शाक्यलाई हटाएर रामबहादुर थापा बादल, कर्णाली प्रदेशको इन्चार्जमा युवराज ज्ञवालीलाई हटाएर यमलाल कँडेल र सुदूरपश्चिमम प्रदेशको इन्चार्जमा भीम रावललाई हटाएर लेखराज भट्टलाई दिइएको छ । प्रदेश २ को इन्चार्जमा सत्यनारायण मण्डल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ र लुम्बिनी प्रदेशको इन्चार्जमा शंकर पोखरेल ओली पक्षकै भएकाले कायमै छन् । स्कुल विभाग प्रमुख आफैंसँग राखेका ओलीले विदेश विभाग प्रमुखबाट माधवकुमार नेपाललाई हटाएर आफ्ना परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईलाई जिम्मेवारी सुम्पेका छन् ।

संगठन विभाग प्रमुखमा विष्णु पौडेल, संसदीय विभाग प्रमुखमा सुवासचन्द्र नेम्वाङ, निर्वाचन विभाग प्रमुखमा विष्णु रिमाल र सम्पर्क कमिटी तथा आार्थिक विभाग प्रमुखमा छविलाल विश्वकर्मालाई ल्याइएको छ । यस्तै माओवादी केन्द्रबाट एमालेमा समाहित भएको बादल समूहका २३ जनालाई एमाले केन्द्रीय सदस्यमा मनोनित गरिएको छ । केन्द्रीय कमिटीको विशेष बैठक भनिएको यो बैठकको निर्णयलाई ७ चैतमा बस्ने केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्ने ओली पक्षीय नेताहरुको तयारी छ ।

स्वेच्छाचारिता मान्दैनौँ समानान्तर कमिटी बनाउछौँ : खनाल–नेपाल समूह
नेकपा एमालेका खनाल–नेपाल समूहले स्वेच्छाचारी र मनपरी किसिमले भएको निर्णय नमान्ने दाबी गर्दै पार्टीभित्र समानान्तर कमिटी बनाउने निर्णय गरेको छ । अध्यक्ष केपी शर्मा ओलीको एकलौँटी निर्णयपछि वरिष्ठ नेता खनाल र नेपाल समूहले आफू निकट स्थायी कमिटी सदस्यहरुको आकस्मिक बैठक बोलाएर समानान्तर कमिटी बनाउने निर्णय गरेको हो । जिल्ला तहबाट समानान्तर कमिटी बनाउन सुरु गर्ने तयारीमा जुटेको यो समूहले थप छलफल गर्न केन्द्रीय कमिटी र सांसदहरुको बैठक बस्ने जानकारी दिएको छ ।

‘हाम्रो राष्ट्रिय भेला चैत ४ गते हुनेछ, त्यस दिन पार्टी पुनर्संरचनाको अभियान घोषणा हुनेछ’ नेता बेदुराम भुसालले बताउनुभयो । खनाल–नेपाल समूहले प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले पार्टी फुटाउने उद्देश्य साथ एकलौटी रुपमा अघि बढेको भन्दै त्यसविरुद्ध एकजुट हुन कार्यकर्तालाई आह्वान समेत गरेको छ । नेता भीम रावलले केन्द्रीय कमिटीको बहुमतले मात्रै गर्न सक्ने निर्णय पार्टीको विधान विपरीत स्वेच्छाचारी र मनपरी किसिमले एकलौटी ढंगबाट गरेर कम्युनिष्ट आन्दोलन र एमाले विसर्जन गर्न खोजिएको आरोप लगाउनुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6