Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking News४० महिना सत्तामा बस्दा आँखा चिम्लेका मुद्धामा ओलीले मागे प्रधानमन्त्री देउवासँग जवाफ

४० महिना सत्तामा बस्दा आँखा चिम्लेका मुद्धामा ओलीले मागे प्रधानमन्त्री देउवासँग जवाफ


काठमाडौं । पहिलो पटक पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदलाई खासै महत्व दिएनन् । संसदीय गतिविधिहरूप्रति खासै मोह नदेखाएका ओलीले ‘अदालतले ब्यूँत्याइदिएको प्रतिनिधिसभा’ भन्ने अभिव्यक्ति बारम्बार दिए ।

प्रतिनिधिसभा ब्यूँतेपछि चालू भएका अधिवेशनमा वैशाख २७ गते विश्वासको मत लिँदाबाहेक अन्य बैठकमा ओलीको बोली सुनिएन । प्रधानमन्त्री पदबाट बाहिरिएको तीन सातापछि प्रतिनिधिसभाको रोस्टममा सोमबार झुल्किएका ओलीले आफ्नो विगतकै शैलीमा शब्द र ब्यंग्यवाण प्रहार गरेका छन् । केही व्यक्तिकेन्द्रित अनि केही मुद्दाकेन्द्रित ब्यंग्यवाणहरु यस्ता छन् । अमेरिकासँगको एमसीसी सम्झौता, लिम्पियाधुरा, कालापानी र लिपुलेक, छिमेकी मुलुकहरुसँगको सम्बन्ध, सन्धि सम्झौता, लडाकु शिविरदेखि स्वास्थ्य सामग्री खरिदको छानबिनसम्मका मुद्धा प्रमुख प्रतिपक्षी दलका नेता ओलीले संसदमा उठाएका छन् ।

व्यक्तिको हिसाबले ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमालेकै विरोधी कित्तामा रहेका नेताहरूप्रति खरो आलोचना गरेका छन् । सम्बोधनमा झण्डै ४० महिना सरकारको नेतृत्व गरेर हालै बाहिरिएको हेक्का ओलीले राखेनन् । बरु साढे तीन वर्ष नेतृत्वमा बस्दा आफैले आँखा चिम्लेका कतिपय मुद्दामाथी एक महिना पनि पूरा नभएको सरकारबाट एकोहोरो प्रश्नको उत्तर खोजेका थिए ।

सुकुम्बासी भूमिहिनमाथी देउवा सरकार किन कठोर ?

सरकारले सुकुम्बासी आयोग खारेज गरेर सुकुम्बासीको घाँटी सेर्ने काम गरेको दाबी गरेका ओलीले सरकार बनेको झण्डै एक महिना हुनलाग्दा समेत बधाई र धन्यवादमै सीमित रहेको भन्दै व्यंग्य गरे । सुकुम्बासी, भूमिहीनहरूको पक्षमा आफूमात्र रहेको जिकिर ओलीले संसदमा प्रस्तुत गरे ।

एमसीसी र लिम्पियाधुराको मुद्धालाई के गर्छ सरकारले ?
प्रमुख प्रतिपक्षी दलका नेता ओलीले सरकारले सार्वजनिक गरेको साझा न्युनतम कार्यक्रमका बुँदा केन्द्रित प्रश्न उब्जाए । निकै पेचिलो बनेको एमसीसी सम्झौताबारे प्रधानमन्त्री देउवाप्रति सम्बोधनमा पटक पटक प्रश्न गरेका ओलीले । ‘प्रधानमन्त्रीज्यू एमसीसी के गर्नुहुन्छ ? नेपाली जनताले जान्न चाहेको छ’ भन्दै प्रश्न गरे । पटक–पटक एमसीसीको प्रसंग उप्काएका ओलीले देउवालाई १६५ जनाको समर्थन रहेको ‘मजबुत प्रधानमन्त्री’ भन्दै व्यंग्य समेत गरे । उनले जस्केलाबाट छिरेर प्रधानमन्त्री बनेको भन्दै देउवाप्रति आक्रोश समेत पोखे । आफ्नो पालामा लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नक्सा जारी गरेका ओलीले अहिले त्यो भूमि फिर्ता ल्याउनेबारे देउवाको धारणा मागेका थिए । ‘लिम्पियाधुरा, कालापानी फिर्ता ल्याउँछु भनेर किन भन्न सक्नुभएन ? लिम्पियाधुरा, कालापानी, लिपुलेक समस्या हो कि हाम्रो पवित्र अभिन्न भूभाग हो । यो समस्या हो ? गठबन्धन सरकारले हाम्रो भुभाग फिर्ता ल्याउन नसकेमा आउने चुनावबाट बहुमतसहित सिंहदरबार छिरेर भूमि फिर्ता ल्याइछाड्ने दाबी गरे ।

लडाकु शिविरको अनियमितता बारे छानबिन हुन्छ ?
प्रधानमन्त्री ओलीले स्वास्थ्य सामग्री खरिददेखि लडाकु शिविरमा भएको अनियमिततासम्मको प्रसंग उठाए । ‘स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको छानबिन गर्ने र दोषी देखिएका व्यक्ति र संस्थालाई कारबाही गर्ने भनिएको छ,’ भन्दै ओलीले अलि अगाडिदेखि छानबिन गर्नुस् है ।’विगतमा स्वास्थ्य सामग्री खरिद भएको र ती सामग्री विभिन्न अस्पताल र एयरपोर्टमा नै थन्किएर प्रयोगविहीन भएको उल्लेख गर्दै तिनका बारे पनि छानबिन गर्न उनले सरकारको ध्यानाकर्षण गराए । ‘वीर हस्पिटलमा एमआरआई मेसिन थन्किएर बसेका छन् । एयरपोर्टमा छन् । विभिन्न समयका घोटला पनि छानबिन गर्न सुझाब दिए । लडाकु शिविर, ललिता निवास, मातातिर्थको जग्गादेखि धरानको सर्दु जलाधार क्षेत्रको अनियमितता गठबन्धन सरकारले गर्ने भनेको छानबिनभित्र पर्छ कि पर्दैन भन्ने प्रश्न गरे ।

द्वन्द्वपीडितलाई न्याय कि सम्मान ?
वर्षौंदेखि समस्यामा रहेका द्वन्द्वपीडितहरूको प्रसंग जोडेर गठबन्धन सरकारप्रति प्रहार गरेका ओलीले शान्तिप्रक्रियासँग जोडिएका प्रचण्ड र देउवाले छानेका व्यक्तिलाई आयोगमा पठाउँदा समेते किन काम नगरेको भन्दै प्रश्न उठाएका थिए । गठबन्धन सरकारले द्वन्द्वपीडितलाई सम्मान गर्ने जिकिर गरेको प्रशंग उठाउँदै शरीरमा गोली भएकाहरूलाई न्याय दिन नसक्ने हो भने एमालेको केन्द्रीय कार्यालय थापाथलीमा पुर्याइदिनुहोस्, म उपचार गरौंला’, भन्दै ब्यंग गरे ।

देउवा ,प्रचण्ड र माधव समूहप्रति आक्रोश
ओलीले सुरुमै देउवालाई परमादेशबाट बनेको भन्दै प्रहार सुरु गरेका थिए । गठबन्धनले ल्याएको साझा न्यूनतम कार्यक्रमलाई सडकमा भेटिएको पर्चाको संज्ञा दिएका ओलीले उक्त कार्यक्रममा कांग्रेस नदेखिएको भन्दै देउवाप्रति व्यंग्य गरे । प्रचण्डले यसअघि प्रतिनिधिसभा बैठकमा आफूलाई लक्षित गरेर बोलेका कुराको जवाफ पनि ओलीले दिए । दाहालले माओवादी नसिद्धिएको र आफूहरू आगो भएकाले नखेल्न चेतावनी दिएको संसदकै प्रशंग कोट्याउँदै आलीले देशमा लगाएको डढेलो आफूले निभाएको र थप डढेलो निभाउन पानी खन्याउनुपर्छ भन्नेमा जानकार रहेको भन्दै ब्यंग्य गरेका थिए ।

संसदमा गरेको सम्बोधनको अन्त्यमा ओलीले आफ्नो पार्टी भित्रको असन्तुष्ट समूहप्रति आक्रोश पोखे । ‘मेरै पार्टीका केही मान्छेहरू पाउँला र खाउँला भनेर कुदेका छन् । हिरिक्क, हिरिक्क भएका छन्,’ ‘यति त गराइसक्नुभयो, पछि त लगाइसक्नुभयो । कुदेको कुद्यै भएका छन्, स्याँ–स्याँ भएका छन् । बिहान बेलुका चाकरी बजाइरहेका छन् । मेरो दलमा अलिकति घाटा भएमा सहुँला बुझाउँला मन्त्री दिनुस्, प्लिज !’ भन्दै प्रधानमन्त्री देउवालाई सुझाब दिएका थिए ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6