Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : एउटै खबरभित्र प्रमुख ५ खबरहरुको संगालो

नेपाल अपडेट : एउटै खबरभित्र प्रमुख ५ खबरहरुको संगालो


काठमाडौं । राष्ट्रपतिको रस्साकस्सी, अमेरिकी उपविदेशमन्त्रीको नेपाल भ्रमण, कुष्ठरोगविरुद्धको दिवस, उद्योगमाथीको अनुगमन र कारबाहीसँगै नेपालको मौसमी प्रणाली बारेका प्रमुख ५ खबरहरु यस्ता छन् ।

राष्ट्रपतिका लागि प्रमुख दलबीच रस्साकस्सी
चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपति चयन गर्न निर्वाचन आयोगले आगामी २५ फागुनमा निर्वाचन तयारी गरिरहँदा चार दलबाट आठ आकांक्षी देखिएका हुन् । प्रतिनिधि सभाको ठूलो दल नेपाली कांग्रेस, दोस्रो दल नेकपा (एमाले), तेस्रो दल नेकपा (माओवादी केन्द्र) र एमालेबाट अलग भएर संसदमा १० सिट जितेको नेकपा (एकीकृत समाजवादी) नयाँ राष्ट्रपतिका लागि आ–आफ्नो दाबी प्रस्तुत गरिरहेका छन् । कांग्रेसबाट रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको नाम चर्चामा छ । एमालेबाट पूर्व सभामुख समेत रहेका शुभाषचन्द्र नेम्वाङको नाम चर्चामा छ भने सत्ता साझेदार माओवादी केन्द्रले डा. बाबुराम भट्टराईलाई राष्ट्रपति बनाउने आन्तरिक तयारी तिब्र पारेको छ । यता एकीकृत समाजवादीबाट समेत सम्मानित नेता झलनाथ खनाल राष्ट्रपतिको दाउमा छन् । राष्ट्रपतिका आकांक्षीहरुले आफ्नै दलभित्र र बाहिरसमेत आन्तरिक छलफल तथा भेटघाट तीव्र बनाएका छन् । राष्ट्रपति निर्वाचनलाई लिएर एक अर्काप्रति सशंकित सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) बीच दूरी बढ्दै गएको आँकलन समेत गरिएको छ । एमाले सरकार गठनअघि भएको ‘भद्र सहमति’ अनुसार एमालेले राष्ट्रपति पाउनुपर्ने दाबी गरिरहेको छ भने माओवादी केन्द्र राष्ट्रिय सहमतिको रटानमा छ । यसले कांग्रेस माओवादीको मत पाउनेमा हौसिएको छ ।

अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड नेपाल आउँदै
अमेरिकाको विदेश मन्त्रालयमा राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड आज नेपाल आउँदै हुनुहुन्छ । नुल्यान्ड दुई दिन नेपालमा रहनेगरि भ्रमण तालिका रहेको छ । नेपालमा नयाँ सरकार गठन भएलगत्तै अमेरिकाबाट हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो । भ्रमण तालिका र कार्यसूचीका विषयमा परराष्ट्र मन्त्रालयले सार्वजनिक नगरेकाले नुल्यान्डको नेपाल भ्रमणलाई अर्थपूर्ण मानिएको छ । भ्रमणका क्रममा नयाँ सरकारसँग अमेरिका र नेपालबीचको साझेदारीका बृहत् एजेन्डामा छलफल हुने बताइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेतृत्वसँग भेट्ने कार्यक्रम समेत रहेको छ । अमेरिकी सरकारले नेपालको पुनर्निर्माणमा गरेको सहयोग र केही सांस्कृतिक सम्पदास्थलको समेत अवलोकन गर्नुहुनेछ । सोमबार दिउँसो पत्रकार सम्मेलन गरेर भ्रमणबारे जानकारी दिनुहुने दूतावासले जनाएको छ । नेपालमा एमसीसी कार्यान्वयन पक्षबारे अमेरिकाको मुख्य चासो र प्राथमिकतामा रहेको छ । उपविदेशमन्त्री नुल्यान्डले नेपालसहित भारत, श्रीलङ्का र कतारको भ्रमण गर्नुहुनेछ ।

कुष्ठरोग विरुद्धको दिवस, विभिन्न कार्यक्रमसहित मनाइदै
आज ७० औँ विश्व कुष्ठरोग विरुद्धको दिवस । ‘कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौँ’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरीँदैछ । नेपालमा २०६६ सालमा राष्ट्रिय स्तरमा कुष्ठरोग जनस्वास्थ्य समस्याको रुपमा निवारण भएको घोषणा गरिए पनि अहिले बर्सेनि २ हजार ५ सयको सङ्ख्यामा नयाँ बिरामीहरु थपिने गरेको तथ्याङ्क छ । अहिले नेपालका १६ वटा जिल्ला कुष्ठरोग मुक्त हुन बाँकी छन् । झापा, मोरङ, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, परासी, रुपन्देही, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र अछाम कुष्ठरोग मुक्त हुन बाँकी रहेका हुन् । कुष्ठरोग सरुवा रोग हो । तर समयमै उपचार गरे पूर्ण रुपमा निको हुने सरुवारोग विशेषज्ञहरु बताउछन् । विशेषगरी तराईका जिल्लामा कुष्ठरोगका बिरामी धेरै देखिएका छन् । दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरी सहित दलका नेताहरुले शुभकामना व्यक्त गर्दै आ–आफ्नो क्षेत्रबाट कुष्ठरोग निवारणका लागि जनचेतना जगाउन र कुष्ठरोगीलाई गरिने भेदभाव हटाउन आग्रह गरेका छन् ।

गुणस्तरहिन वस्तु उत्पादन गर्ने ६ उद्योग कारबाहीमा
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले न्यून गुणस्तरका वस्तु उत्पादन गर्दै बजार पठाउने ६ वटा उद्योगविरूद्ध अदालतमा मुद्दा दायर गरेको छ । खाद्य प्रविधिले विराटनगर–१९ स्थित शिखर अर्गनाइजेशन लिमिटेडबाट उत्पादन हुने मकै न्यून गुणस्तरको पुष्टि भएपछि ५० हजार रूपैयाँ जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजायको माग दाबी गर्दै मोरङ अदालतमा मुद्दा दायर गरेको छ । चौपायको आहार उत्पादन गर्ने मोरङको बूढीगंगा गाउँपालिका–२ टंकीस्थित नेपाल बलहोप एग्री टेक प्रालिले दूषित दाना पदार्थ उत्पादन गरी बिक्री वितरण गरेको पाइएपछि ५० हजार रुपैयाँसम्म जरिवाना वा १ महिनादेखि १ वर्षसम्मको कैद सजायको माग दाबी लिएर जिल्ला प्रशासन कार्यालय मोरङमा मुद्दा दायर गरिएको छ ।।

नेपालमा यी प्रदेशमा वर्षासँगै हिमपात
पश्चिमी न्यून चापीय प्रणाली सुदूरपश्चिम प्रदेशबाट भित्रने क्रममा रहेकाले सुदूरपश्चिम र कर्णाली प्रदेशमा केही दिन हल्का वर्षा र हिमपात हुने भएको छ । उच्च पहाडी र हिमाली जिल्लामा यो प्रणालीको प्रभाव अलि धेरै पर्ने मौसम पूर्वानुमान महाशाखाले जानकारि दिएको छ । सुदूरपश्चिम र कर्णाली प्रदेश बाहेक अन्य प्रदेशको मौसम भने सामान्यतया सफा नै रहने अनुमान छ । हिउँदे वर्षा नहुँदा बाग्मती, गण्डकी, मधेस प्रदेश र प्रदेश १ मा गर्मी हुन थालेको छ । बिहान बेलुका चिसो भए पनि दिउँसो गर्मी छ । केही दिनअघि पश्चिमी न्यून चापीय प्रणालीकै कारण सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा हल्कादेखि सामान्य वर्षा र हिमपात भएको थियो । पानी नपर्दा सुक्खापन बढेर हिउँदे बालीमा नोक्सानी पुर्याएको छ । नदी तथा खोलामा पनि पानी सुक्दै जाँदा विद्युत् उत्पादनमा समस्या देखिन थालेको छ ।।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6