Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : पोखरा विमानस्थलमा सुरक्षा चुनौँतीदेखी महिलाको आन्दोलन स्थगनसम्म

नेपाल अपडेट : पोखरा विमानस्थलमा सुरक्षा चुनौँतीदेखी महिलाको आन्दोलन स्थगनसम्म


पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चरा र स्यालको सुरक्षा चुनौँती
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा दिनमा चरा र रातिको समयमा स्यालको चुनौँती देखिएको छ । पूर्वी खण्ड अर्थात धावन मार्ग नजिकै रहेको विजयपुर खोला र दक्षिणतिर रहेको सेती नदी हुने फोहोरमैला र त्यसमा झुम्मिने चराहरुका कारण उडानमा जोखिम देखिएको हो । विमानस्थलको नजिक भएर बग्ने यी दुवै खोला प्रायः दुुर्गन्धित भएपनि सेतीको तुलनामा विजयपुर खोला बढी फोहोर देखिने गरेको छ । मरेका गाइवस्तु, कुकुर, बिरालो, कुखुरा काटेपछि निस्केको फोहोर, बंगुरको फोहोर खोलामै फालिएका कारण दुर्गन्ध त छ सिनोमा चरा झुम्मिदा चरा विमानस्थलका लागि ‘चुनौती’ बन्दै गएको छ । विमानस्थलका प्रमुख विक्रम गौतमले चराका कारण दिनमा र स्यालका कारण रातीको समयमा विमानस्थलबाट हुने हवाई उडान र अवतरणमा चुनौँती थपिएको बताउनुभयो । केही दिनअघि अवतरणका क्रममा रहेको जहाजसँग चरा ठोक्किएर यो चुनौँती उजार भएको थियो । विमानस्थलको नजिक रहेको ल्यान्डफिल्ड साइट हटेपनि खोलामा जथाभावी बगेर आउने सिनोले हवाई उडानमा चुनौती बढाएको र यसलाई हटाउन सबै मिलेर भुमिका खेल्नुपर्ने गौतमले बताउनुभएको छ ।

आज अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सरविरुद्धको दिवस
आज अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सरविरुद्धको दिवस ‘जीवन रक्षा : तपाईको हातमा’ नारासहित मनाइदैछ । हरेक वर्षको फेब्रुअरी १५ मा बाल्यकालमा हुने क्यान्सरका विरुद्ध जनचेतना बढाउनका लागि यो दिवस मनाउने गरिन्छ । हरेक ३ मिनेटमा विश्वभर एक बालबालिकाको क्यान्सरले ज्यान जाने गरेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांकले हरेक वर्ष विश्वभर झन्डै दुई लाख ८० हजार बालबालिका र १९ वर्षमुनिका जनसङ्ख्याहरूमा क्यान्सर हुने गरेको देखाएको छ । उच्च आय भएका देशहरूमा ८० प्रतिशत क्यान्सरबाट बाँच्ने धेरै सम्भावना रहेपनि कम र मध्यम आय भएका देशहरूमा २० प्रतिशत मात्र बाँच्ने सम्भावना रहेकोले क्यान्सरको स्वास्थ्य चुनौँती बढ्दो क्रममा छ ।

सत्ता गठबन्धन भत्किनेमा एमाले अध्यक्ष ओलीकै आशंका
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ गठबन्धन भत्किनेप्रति आशङ्का व्यक्त गर्नुभएको छ । अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको संसद्को बनावट अस्थिरताको कारक हुने खालको रहेको भन्दै गठबन्धन भत्किनेप्रति शङ्का व्यक्त गर्नुभएको हो । देशभित्रका र बाहिरका शक्तिहरू देशलाई बरबाद पार्न लागेका ओलीको जिकिर थियो । एमाले देशलाई बरबाद पार्नबाट रोक्ने गेटपाले भएको दाबी गरेका अध्यक्ष ओलीले सबैभन्दा पहिले एमालेलाई प्रहार हुनसक्ने अनेक प्रकारका षड्यन्त्रहरू भइरहेको दाबी गर्नुभयो ।

आज संसद बैठक, यस्ता छन एजेण्डा
संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बिहान ११ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ध्रुवबहादुर प्रधानले ‘सम्पत्ति शुद्धिकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण पवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’ पेस गर्ने कार्यसूची रहेको छ । यस्तै, नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ‘सम्पत्ति शुद्धिकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने, कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त भएको ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७८ लाई प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

सरकार र धर्नामा बसेका महिलाहरुबीच तीन बुँदे सहमति
सरकार र माइतीघरमा धर्ना बसिरहेका महिलाहरूबीच तीन बुँदे सहमति भएसँगै आन्दोलन रोकिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा गृह मन्त्रालयमा भएको छलफलबाट तीन बुँदे सहमति भएको हो । बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान गर्न गृह मन्त्रालयले विशेष अनुसन्धान टोली खटाउन, अनुसन्धान प्रक्रिया समीक्षा गर्न धर्नारत महिलाहरूले राखेको न्यायिक आयोग गठनको मागलाई तत्काल थाती राखेर धर्ना स्थगित गर्ने र धर्नामा रहेका महिलाहरूको सुरक्षाका लागि सरकारले समन्वय गर्ने तीनबुँदे सहमति भएको छ । महिला अधिकारकर्मी रुबी खानसहित बाँकेबाट आएर ४८ दिनदेखि काठमाडौंको माइतीघरमा धर्ना बसिरहेकाहरु घर फर्किएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6