Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsराष्ट्रपतिको बिवादले दुई महिनामै टुट्यो एमाले–माओवादी गठबन्धन, राष्ट्रपतिमा पौडेल कि नेम्वाङ ?

राष्ट्रपतिको बिवादले दुई महिनामै टुट्यो एमाले–माओवादी गठबन्धन, राष्ट्रपतिमा पौडेल कि नेम्वाङ ?


काठमाडौं । राज्यको अभिभावकिय जिम्मेवारी बहन गर्ने संस्था राष्ट्रपति पदको विषयलाई मुख्य मुद्दा बनाएर दलहरूले सत्ता सहकार्यको नयाँ समीकरण गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालकोटको बार्दलीबाट हात हल्लाउँदै सुरू गरेको गठबन्धन यात्रा दुई महिनामै टुंगिएर नयाँ समीकरण बनेको हो ।

एमाले, राप्रपा र रास्वपासहितको सात दलीय गठबन्धनमार्फत प्रधानमन्त्री बनेका प्रचण्ड र सत्ताको मुख्य साझेदार दल एमालेबीच राष्ट्रपति पदमा कुरा नमिल्दा सरकार र प्रतिपक्षी दलहरूको समिकरणमै फेरबदल आएको छ । आगामी पाँच वर्षका लागि बनाइने राष्ट्रपति कुनै दल विशेषको मात्र नभई दलगत स्वार्थभन्दा माथि उठेर निर्णय लिनसक्ने व्यक्तिलाई साझा सहमतिमा बनाउने कुरामा एमाले बाधक भएको आरोप लगाउँदै माओवादी केन्द्रले नयाँ सिराबाट राजनीतिक कोर्स करेक्सन गरेको बताएको छ । ‘हामी यही गठबन्धनलाई कायम गर्दै बाहिर रहेका दलहरूलाई समेत समर्थनमा ल्याएर साझा सहमतिको राष्ट्रपति बनाउने पक्षमा थियौं, तर एमालेले त्यसलाई इन्कार गरेर आफ्नै उम्मेदवार अघि सार्नुपर्ने अडान नछाडेपछि नयाँ समीकरण बनाउन पुग्यौं ।’ नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले भने ।

आठ दलको समर्थन जुटेको र बाँकी दलहरूसँग समेत छलफल गरेर अधिकतम सहमतिका साथ राष्ट्रपति पदमा कांग्रेस उम्मेदवार रामचन्द्र पौडललाई जिताउने गरि नयाँ गठबन्धन बनेको छ । गत पुस १० मा कांग्रेससँगको पाँच दलीय चुनावी गठबन्धनबाट बाहिरिएर एक्कासि बालकोटको बार्दलीमा एमाले अध्यक्ष ओलीसँग हात मिलाउन पुगेका प्रचण्डले दुई महिनामै एमालेलाई धोका दिएका छन् । प्रधानमन्त्री पाउनकै लागि चुनावी गठबन्धन तोडेर एमालेसँग गठबन्धन गरेको माओवादी केन्द्र सुरूदेखि नै एमालेसँग सशंकित थियो ।

राष्ट्रपतिमा दुई पूर्व सभामुखको भिडन्त
गत मङ्सिर ४ गतेको प्रतिनिधि सभा सदस्य चुनावमा नेम्वाङ इलाम–२ र पौडेल निर्वाचन क्षेत्र तनहुँ–२ बाट निर्वाचित भएका थिए । पौडेलसँग उपप्रधानमन्त्रीसहित शान्ति तथा पुनःनिर्माण, गृह, कृषि, सूचना तथा सञ्चारमन्त्रीलगायतको जिम्मेवारी सम्हालेको अनुभव छ भने नेम्वाङले कानुन, न्याय तथा संसदीय, सामान्य प्रशासन मन्त्रालयलगायतमा नेतृत्व गर्ने अवसर यसअघि नै प्राप्त गरेका छन् । पौडेल र नेम्वाङ दुवै पूर्व सभामुखसमेत हुन् ।

आफ्नो पक्षमा समर्थन जुटाउन पौडेल र नेम्वाङको दौडधुप
राष्ट्रपतिका दुवै उम्मेदवार रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङले आफ्नो पक्षमा समर्थन जुटाउन राजनीतिक दौडधुप गरिरहेका छन् । कांग्रेस, माओवादीसहित आठ दलको समर्थनमा उम्मेदवारी दिएका पौडेलले मोर्चाबाहिरका दलसँग समर्थन माग्दै भेटवार्ता गरिरहनुभएको छ । शनिबार नै पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसँग भेट गरेर सहयोग मागेपनि रास्वपाले कसलाई समर्थन गर्ने भन्ने निर्णय लिएको छैन ।

यता, एमालेले राष्ट्रपतिको चुनावमा आफ्ना उम्मेदवार नेम्वाङलाई सहयोग गर्न नेपाली कांग्रेसबाहेक संसदमा सहभागी रहेका सबै राजनीतिक दललाई औपचारिक पत्र पठाएको छ । अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायत पार्टीका अध्यक्षसहित स्वतन्त्र सांसदलाई सम्बोधन गर्दै राष्ट्रपतिको चुनावमा नेम्वाङलाई सहयोग गर्न पत्र लेख्नुभएको हो । कांग्रेससहित आठ दलका तर्फबाट उम्मेदवार बनेका पौडेललाई सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादीसँगै एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाको साथ छ । एमाले उम्मेदवार नेम्वाङको समर्थनमा अहिले कुनै पनि दल खुलेका छैनन् ।

राष्ट्रपतिको लागि आउँदो २५ गते मतदान हुँदै छ । अहिले पनि एमाले नेताहरू पुस १० को सहमतिअनुसार नै राष्ट्रपति चुनावमा माओवादीसहित दलहरुको साथ पाउने दाबी गरिरहेका छन् । राष्ट्रपतिमा निर्वाचित हुन कुल मतभार ५२ हजार ६ सय २८ को बहुमत २६ हजार ३ सय १५ आवश्यक पर्छ । पौडेलको पक्षमा रहेका दलहरुको मतभार ३१ हजारभन्दा धेरै छ भने नेम्वाङको पक्षमा एमालेको १५ हजार ३ सय १२ मत मात्रै छ । यो हिसाबले राष्ट्रपतिमा पौडेलको जित निश्चितजस्तै देखिए पनि एमालेका नेताहरुले मत क्रस हुने र नेम्वाङको पक्षमा बहुमत पुग्ने दाबी गरिरहेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6