Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalविदेशबाट ४० हजारभन्दा धेरै सामाजिक सुरक्षा कोषमा आबद्ध, ५ करोड बढी योगदान

विदेशबाट ४० हजारभन्दा धेरै सामाजिक सुरक्षा कोषमा आबद्ध, ५ करोड बढी योगदान


काठमाडौं । वैदेशिक रोजगारीमा र विदेशमै स्वरोजगार रहेका ४० हजारभन्दा धेरै जना सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन् । कोषका सह प्रवक्ता रोहित रेग्मीका अनुसार वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको सामाजिक सुरक्षा कोषमा आबद्धता सुरु भएको २० दिनमा ४० हजार ६ सय ८८ जनाले सामाजिक सुरक्षा नम्बर लिएका हुन ।

सामाजिक सुरक्षा कोषमा भएको यो आवद्धताबाट पाँच करोडभन्दा बढी योगदान रकम कोषमा जम्मा भएको छ। अहिले कोषमा आबद्ध हुने धेरैजसो वैदेशिक रोजगारीमा गएका नयाँ व्यक्ति र थोरै सङ्ख्यामा विदेशमा काम गरिरहेका नेपालीहरू रहेको बताइएको छ । सामाजिक सुरक्षा नम्बर लिएका कतिपयले भने कोषमा योगदान रकम जम्मा गर्न बाँकी रहेको सहप्रवक्त रेग्मीले जानकारि दिनुभयो । ‘अहिले विदेशका सबै देशबाट अनलाइनमार्फत आबद्ध हुने पहुँच खुला भइसकेको छैन, कोषले क्रमबद्ध रूपमा पहुँच दिइरहेको छ’ सह प्रवक्ता रेग्मीले भन्नुभयो ‘सुरुवाती चरण भएकाले कोषले परीक्षण गर्दै क्रमबद्ध रूपमा आबद्ध गर्दै लगिरहेको छ, छिट्टै सबै देशबाट कोषको अनलाइन सिस्टमको पहुँच हुनेछ ।’ अहिलेसम्म कोषले सात वटा देश यूएई, कतार, कुवेत, साउदी, मलेसिया, जापान र दक्षिण कोरियामा कार्यरत नेपालीहरूले अनलाइन सिस्टमबाट आबद्ध हुनका लागि आवेदन दिन सक्नेछन् । अन्य देशबाट तत्काललाई अनलाइन सिस्टमको पहुँच दिइएको छैन । क्रमबद्ध रूपमा अन्य देशमा रहेका नेपालीलाई पनि अनलाइन सिस्टमको पहुँच खुला गर्दै कोषमा आबद्ध गराईने योजना अघि सारिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत ८ गते वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सामाजिक सुरक्षाको औपचारिक सुरुवात गर्नुभएको थियो । यहि दिनबाटै वैदेशिक रोजगारीमा रहेका, विदेशमा स्वरोजगार रहेका र वैदेशिक रोजगारीमा जाने नेपालीहरू सामाजिक सुरक्षा कोषमा आबद्ध भइरहेका छन् ।

यी हुन् पाइने सुविधा
वैदेशिक रोजगारीमा रहेका र विदेशमा स्वरोजगार नेपालीहरुले तीन किसिमका योजनाहरू मार्फत सुविधा पाउनेछन् । कोषमा आबद्ध भएका श्रमिकले दुर्घटना र अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजना अन्तर्गत सुविधाहरू पाउनेछन् । कोषमा आबद्ध भइसकेपछि कम्तीमा न्यूनतम आधारभूत पारिश्रमिकको २१.३३ प्रतिशत र बढीमा यसको तीन गुणासम्म रकम कोषमा जम्मा गर्न सकिन्छ । अर्थात् सामान्यतया महिनाको २ हजार २ रुपैयाँ कोषमा जम्मा गर्नुपर्नेछ । कोषमा अग्रिम रूपमा पनि पैसा जम्मा गर्न सकिन्छ भने न्यूनतम बाहेक अतिरिक्त पैसा जम्मा गरिएको रकम अवकाश बचत योजनामा जम्मा हुने छ । कोषमा जम्मा गरेको रकमको ७.४८ प्रतिशत दुर्घटना तथा अशक्तता र आश्रित परिवार सुविधा योजनामा जान्छ भने वृद्ध अवस्था सुविधा योजनामा पेन्सन सुविधाका लागि १३. ८५ प्रतिशत रकम जम्मा गरिन्छ पहिलो योजना अर्थात् दुर्घटना तथा अशक्तता सुरक्षा योजना सुविधा पाउनका लागि पछिल्लो १२ महिनामा कम्तीमा ९ महिना कोषमा पैसा जम्मा गरेको हुनुपर्छ । यस्तो अवस्थाका व्यक्ति अस्पताल गर्न भएर औषधी उपचार गर्नका लागि वार्षिक एक लाख रुपैयाँसम्म शोधभर्ना पाउँछन् ।

दुर्घटनाबाट अस्थायी वा पूर्ण असक्षम भएमा काममा नर्फकदासम्म सरकारले तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको ६० प्रतिशत बराबरको रकम पाइन्छ । अशक्त भएमा अशक्तताको अनुपातको आधारमा सरकारले तोकेको न्यूनतम पारिश्रमिकको ६० प्रतिशतसम्म रकम बाँचुन्जेल पेन्सनका रूपमा पाइन्छ ।दोस्रो अर्थात् आश्रित परिवार सुरक्षा योजना अन्तर्गत कोषमा रकम योगदान गर्ने व्यक्तिको जुनसुकै कारणले ज्यान गएपनि वृद्धावस्था सुरक्षा योजनामा जम्मा भएको रकम प्रतिफलसहित फिर्ता पाइन्छ । आश्रित परिवारलाई सरकारले तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको ४० प्रतिशत रकम मासिक रूपमा पेन्सन उपलब्ध गराउँछ । २१ वर्ष ननाघेका बालबच्चालाई आधारभूत पारिश्रमिकको ४० प्रतिशतसम्म पढाई खर्च र २५ हजार अन्तिम संस्कार खर्च कोषले उपलब्ध गराउँछ । तर यो सुविधा प्राप्त गर्नका लागि एक वर्षमा ९ महिना कम्तीमा कोषमा रकम योगदान गरेको हुनुपर्छ भने आश्रित परिवारले पेन्सन पाउनका लागि उसको रोजगारी नभएको वा दोस्रो विवाह नगरेको हुनुपर्छ । तेस्रो योजना अन्तर्गत कोषले वृद्धावस्था सुरक्षा योजनामा अवकाश सुविधा योजना र निवृतभरण सुविधा योजना गरी दुई योजना रहेका छन् । अवकाश योजना अन्तर्गत आफूले जम्मा गरेको रकम रोजगारीको अन्त्य हुने बित्तिकै निकाल्न सकिने, तोकिएको ब्याज र लगानीबाट प्राप्त हुने थप प्रतिफलसमेत पाइने छ भने ३६ महिना योगदान पुगेपछि जम्मा भएको रकमको ८० प्रतिशतसम्म सापटीको रूपमा निकाल्न पाइन्छ । निवृत्तभरण योजना अन्तर्गत भने ६० वर्ष उमेर पुगेपछि आफ्नो योगदानका आधारमा आजीवन निवृत्तभरण पाउने व्यवस्था छ । निवृत्तभरणमा जम्मा भएको रकममा प्रतिफलसहितको रकमलाई १६० ले भाग गरी महिनै पिच्छे निवृत्तभरणको रूपमा पाइन्छ । मुद्रास्फीति समायोजन हुँदा पेन्सन रकम बढ्दै जाने बताइएको छ । ६० वर्ष उमेर पुग्दै गर्दा १८० महिनाभन्दा कमको योगदान भएमा पैसा एकमुष्ट निकाल्न पनि पाइने छ । कोषबाट निवृत्तभरण पाइरहेको व्यक्तिको मृत्यु भएमा उसको पति वा पत्नीलाई निवृत्तभरणको ५० प्रतिशत आजीवन मासिक रूपमा कोषले उपलब्ध गराउने छ ।

कोषमा योगदान गर्नु पर्ने रकम ६ महिनाभन्दा बढी अवधिको अग्रिम रूपमा कोषमा जम्मा गरेमा कोषमा जम्मा गर्नु पर्ने रकममा १० प्रतिशतसम्म छुट पाइन्छ । नियमित योगदान गरेर तीन वर्षसम्म पनि कुनै सुविधाहरू उपयोग नगर्ने योगदानकर्ताले निवृत्तभरण योजनामा सहभागी हुने गरी निवेदन दिएमा त्यो योजनामा जम्मा भएको रकमको २० प्रतिशतसम्म वृद्धावस्था सुरक्षा योजनामा कोषले जम्मा गरिदिने छ । आफूले विदेशमा कमाएको रकमबाट व्यक्तिगत खर्च कटाएर ७० प्रतिशतसम्म रकम बैङ्किङ माध्यममार्फत नेपाल पठाएको प्रमाण पेस गरेमा वृद्ध अवस्था बाहेकका सुरक्षा योजनाहरूमा जम्मा गर्नु पर्ने रकममा २० प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ ।

थप जानकारी चाहिएमा www.ssf.gov.np वा सामाजिक सुरक्षा कोषले सञ्चालन गरेको कल सेन्टरमा १११६ नम्बरमा सम्पर्क गर्न सकिन्छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6