Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा कस्तो बन्ला सरकार ? यी हुन प्रधानमन्त्री र राष्ट्रपति बन्ने सम्भावित अनुहारहरु !

नेपालमा कस्तो बन्ला सरकार ? यी हुन प्रधानमन्त्री र राष्ट्रपति बन्ने सम्भावित अनुहारहरु !


काठमाडौं । निर्वाचन आयोगले निर्वाचन सम्पन्न भएको अन्तिम चुनावी प्रतिवेदन राष्ट्रपतिलाई बुझाएसँगै नेपालमा नयाँ सरकार गठन र शक्तिशाली पद बाँडफाँटको गृहकार्यमा दलहरु जुटेका छन् । निर्वाचन आयोगले चुनावको अन्तिम प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएसँगै नयाँ सरकार गठनको बाटो खुलेको हो ।

राष्ट्रपति भण्डारी निर्वाचन प्रतिवेदन अध्ययन गरेर आउँदो सोमवारसम्ममा संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि दलहरूलाई आह्वान गर्ने तयारीमा जुट्नुभएको छ । संविधानको धारा ७६ (१) मा कुनै एक दलले बहुमत पाएको हकमा बहुमतप्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री बनाउने व्यवस्था छ । तर चुनावबाट एउटै दलले बहुमत प्राप्त गर्न नसकेको हुँदा सिधै धारा ७६ (२) को प्रक्रिया अनुसार दुईभन्दा बढी दलको समर्थनमा नयाँ सरकार गठनको लागि राष्ट्रपतिबाट आह्वान हुनेछ । सत्ता गठबन्धनका नेताहरु यही गठबन्धनले निरन्तरता पाउने दाबी सहित आन्तरिक र गठबन्धन भित्रको छलफलमा जुटेका छन् ।

सत्ता गठबन्धनमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उप सभामुख, मुख्यमन्त्री, प्रदेशका सभामुख र उप सभामुखमा भागबण्डा मिलाउन नै हम्मेहम्मे परिरहेको छ । प्रतिनिधि सभाको कुल २ सय ७५ जनामा प्रत्यक्षबाट १ सय ६५ र समानुपातिक निर्वाचन प्रणालीबाट १ सय १० जना सांसद निर्वाचित भएका छन् । ८९ सिट ल्याएर सबैभन्दा ठूलो दल बनेको कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवैमा दाबी गरेको छ । यस्तै, माओवादी केन्द्रले पनि राष्ट्रपति र प्रधानमन्त्री पदमा दाबी गरिरहेको छ । एकीकृत समाजवादीले राष्ट्रपति वा सभामुखमा दाबी गरेको छ । चुनावबाट दोस्रो ठूलो दल बनेको नेकपा एमाले पर्ख र हेरको अवस्थामा छ । यद्यपी सत्ता गठबन्धनबाट माओवादी केन्द्रलाई बाहिर ल्याएर सरकार गठनमा भुमिका खेल्ने रणनीतिमा समेत एमाले देखिएको छ । सत्ता गठबन्धनमा पद बाँडफाँडको बिवादले फाटो आएमा सत्ता सहकार्यमा अग्रसर हुने एमाले रणनीतिमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डको ढुलमुले व्यवहारले थप चासो बढाइदिएको छ ।

यस पटकको संसदमा कांग्रेससहित १२ वटा राजनीतिक दलहरुको प्रतिनिधित्व छ । यीमध्ये ७ वटा दलले राष्ट्रिय दलको मान्यता पाएका छन् । प्रतिनिधि सभामा कांग्रेसका ८९, एमालेका ७८, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपाका १२, एकीकृत समाजवादीका १०, जनमतका ६, लोसपाका ४, नागरिक उन्मुक्तिका ३, जनमोर्चाका १, नेमकिपाका १ र स्वतन्त्र ५ सांसदको प्रतिनिधित्व छ । संविधानको धारा ७६ (२) अनुसार प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा धेरै दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने गरी कोही प्रधानमन्त्री नियुक्त हुन नसके धारा ७६ (३) अनुसार राष्ट्रपतिले प्रतिनिधि सभामा सबैभन्दा बढी सदस्य भएको दलको संसदीय दलका नेतालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्नेछ । यो व्यवस्था अनुसार सम्पूर्ण प्रक्रिया चुनावको अन्तिम परिणाम घोषणा भएको ३५ दिनभित्र पूरा गरिसक्नुपर्ने संबैधानिक बाध्यता रहेको छ ।

चुनावी प्रक्रिया सबै पुरा भएसँगै नेपालमा कांग्रेस सभापति शेरबहादुर देउवा वा अरु कुनै बैकल्पिक पात्र, माओवादी केन्द्रबाट पुष्पकमल दाहाल प्रचण्ड वा एमाले अध्यक्ष केपी शर्मा ओली मध्ये को प्रधानमन्त्री बन्लान ? भन्ने प्रतिक्षा सुरु भएको छ । यता, राष्ट्रपतिका रुपमा चर्चामा आएका डा. बाबुराम भट्टराई, माओवादी केन्द्रबाट अग्नीप्रसाद सापकोटा, वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन, कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल, झलनाथ खनाल वा अरु कोही पात्र निर्वाचित हुन्छन ? चासोका साथ प्रतिक्षा भैरहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6