Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालका सात प्रदेशले ल्याए एकैदिन बजेट, यस्ता छन प्राथमिकता

नेपालका सात प्रदेशले ल्याए एकैदिन बजेट, यस्ता छन प्राथमिकता


काठमाडौं । संबिधानको बाध्यकारी व्यवस्था अनुसार सातवटै प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७८\०७९ को अनुमानित आय विवरण (बजेट) सार्वजनिक गरेका छन । ६ प्रदेशका आर्थिक मामिला मन्त्रीहरुले र गण्डकी प्रदेशका मुख्यमन्त्री आफैले प्रदेश सभा बैठकमा बजेट पेश गरेका हुन् ।

प्रत्येक बर्षको असार १ गते आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक वाध्यता छ । बजेट आउनु अगाडि ५ वटा प्रदेशले आफ्नो नीति तथा कार्यक्रममा कोरोना महामारी नियन्त्रण, स्वास्थ्य पुर्वाधारको निर्माण र कृषि लगायतलाई प्राथमिकतामा राखेर पारित गरेका थिए भने बजेट पेश हुने दिन अर्थात मंगलबार नै कर्णाली र गण्डकी प्रदेशले निती तथा कार्यक्रम पारित् गरेर बजेट पेश गरेका थिए। ७ वटा प्रदेशले ल्याएको समग्र बजेट करिब ३ खर्ब रुपैयाँ हाराहारिको रहेको छ । सबैभन्दा ठूलो आकारको बजेट वाग्मती प्रदेशले ल्याएको छ । केन्द्रबाट जाने विभिन्न चार प्रकारका अनुदान, राजस्व बाँडफाँटको रकम र प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँटको रकम प्रदेश सरकारको बजेटको मुख्य स्रोत हुन्। यसबाहेक प्रदेश सरकारले आन्तरिक आयका रुपमा राजस्व र अपुग रकम ऋणबाट परिपूर्ति गर्ने गरी बजेट ल्याउने गरेका छन् । आगामी आर्थिक वर्षका लागि संघीय सरकारले वित्तीय हस्तान्तरणको माध्यमबाट सात प्रदेशमा गरी कुल १ खर्ब ३ अर्ब ७० करोड रुपैयाँ छुट्याएको छ । यो रकम समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदान शीर्षकमा विनियोजन गरिएको छ ।

वित्तीय हस्तान्तरण सबैभन्दा धेरै प्रदेश १ ले १६ अर्ब २९ करोड रुपैयाँ पाउनेछ । सबैभन्दा कम वाग्मती प्रदेशले १३ अर्ब २ करोड रुपैयाँ पाउनेछ । राजस्व बाँडफाँटका माध्यमबाट भने सात प्रदेशमा कुल ६४ अर्ब रुपैयाँ पुग्नेछ । चालु आव २०७७\०७८ मा सात वटै प्रदेशमा कुल २ खर्ब ६४ अर्ब २० करोड रुपैयाँको बजेट कार्यान्वयन भइरहेको छ । आर्थिक वर्ष २०७६\०७७ मा भने २ खर्ब ५९ अर्ब ६० करोडको बजेट ल्याइएको थियो । आगामी आर्थिक वर्षको लागि ल्याइने बजेटमा बिशेष गरी कोरोना महामारी नियन्त्रण र पूर्वाधार विकासलाई जोड दिईएको छ ।
प्रदेशगत बजेट र प्राथमिकता यस्तो छ

प्रदेश १
प्रदेश १ सरकारले ३२ अर्ब ४६ करोड ९२ लाख बजेट ल्याएको छ। आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङ्बुहाङले मंगलबार प्रदेशसभामा पेश गरेको बजेटमा चालु खर्च १४ अर्ब १६ करोड १५ लाख, पूँजीगत खर्च १५ अर्ब ५ करोड ३५ लाख छुटाइएको छ । यो वर्ष अघिल्लो आर्थिक वर्षको भन्दा करिब ७ अर्ब कम बजेट हो । स्थानीय तहतर्फ सरकारले ३ अर्ब २२ करोड ४२ लाख बजेट बिनियोजन गरेको छ भने वित्तिय व्यवस्थापन तर्फ ३ करोड विनियोजन भएको छ । प्रदेश सरकारले ४ अर्ब ९ करोड ७७ लाख आन्तरिक राजश्व संकलनको लक्ष्य राखेको छ ।

बजेटका बाँकी स्रोतमा केन्द्र सरकारबाट आउने राजस्व बाँडफाँड तर्फ ९ अर्ब ८१ करोड ६६ लाख,समानीकरण अनुदान तर्फ ८ अर्ब ५६ करोड,सर्सत अनुदान तर्फ ५ अर्ब ९६ करोड ७७ लाख,समपूरक अनुदानतर्फ १ अर्ब १६ करोड ४८ लाख र बिशेष अनुदान ५९ करोड ३३ लाख गरी कुल राजस्व र वित्तिय हस्तान्तरण तर्फबाट ३० अर्ब २० करोड ७९ लाख प्राप्त हुने रहेको छ । त्यसमा प्रदेश सरकारको बचत २ अर्ब रुपैया रहेको छ । बैदेशिक अनुदान २६ करोड १३ लाख व्यहोर्ने आर्थिक मामिलामन्त्री आङ्बुहाङले बताए । बजेट वक्तव्यमा क्षेत्रगत कार्यक्रमहरूका लागि छुट्याइएको कुल रकम उल्लेख छ । तर, कार्यक्रमगत बजेट तोकिएको छैन ।

प्रदेश २
प्रदेश २ सरकारले आगामी आर्थिक वर्ष ०७८र७९ का लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट घोषणा गरेको छ । मंगलबार प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले प्रस्तुत गर्नुभएको बजेटमा चालूखर्च तर्फ १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार, पुँजीगत तर्फ १८ अर्ब ५ करोड ८० लाख ८३ हजार र वित्तीय व्यवस्थापनतर्फ १० करोेड बजेट विनियोजन गरिएको छ । बजेटमा स्वास्थ्य क्षेत्र तर्फ कोभिड नियन्त्रण, रोकथाम तथा उपचारका लागि प्रदेश सरकारले २० करोड बजेट छुट्याएको छ ।

यस्तै कोरोनाको रोकथाम, औषधी र खोपका लागि बजेट अभाव नहुने पनि उनले बताए । सबै अस्पतालमा उपचारको व्यवस्था गरिने उल्लेख गर्दै मन्त्री यादवले अक्सिजन प्लान्ट र सिलिन्डर खरिदका लागि समेत बजेट व्यवस्था गरेको जनाए । यस्तै मन्त्री यादवले मझौला सिँचाइ आयोजनाका लागि ४१ करोड रुपैयाँ बजेट विनियोजन गरिएको पनि जानकारी दिए । यस्तै प्रदेशका अस्पतालहरूमा मृगौला बिरामीहरूको बढ्दो चापलाई दृष्टिगत गर्दै ३५ वटा डायलासिस मेसिन खरिद गर्नका लागि १२ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

बागमती प्रदेश
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८र०७९ का लागि कुल ५७ अर्व ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । बागमती प्रदेशसभाको आज ४ बजे आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले आगामी आर्थिक वर्षको कुल ५७ अर्व ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बजेट प्रस्तुत गरेका हुन् । कोरोना नियन्त्रण तथा रोकथाम र उपचारलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट तयार पारेको जनाएको छ ।

प्रदेश सरकरले आगामी आर्थिक वर्षका लागि पूँजीगत तर्फ २९ अर्व १ करोड ७७ लाख ४३ हजार रुपैयाँ र चालुतर्फ २६ अर्व १ करोड ४६ लाख २३ हजार रुपैयाँ र वित्तीय तर्फ २ अर्व रुपैयाँ बजेट विनियोजन गरेको छ । बागमती प्रदेश सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले २ अर्ब बजेट व्यवस्था गरेको छ । आगामी आर्थिक वर्षमै अस्पतालमा स्वास्थ्य सम्बन्धी यन्त्रहरुको जडान, दक्ष कर्मचारीको व्यवस्थापन लगायतका काम प्रभावकारी बनाउने मन्त्री ढुंगेलले बजेट भाषणमा घोषणा गर्नुभएको छ ।

गण्डकी प्रदेश
गण्डकी प्रदेश सरकारले आगामी वर्षका लागि ३० अर्ब ३ करोड ९४ लाखको बजेट सार्वजनिक गरेको छ । मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलले आव २०७८÷०७९ का लागि प्रदेशसभामा प्रस्तुत गरेको बजेटमध्ये चालू तर्फ १३ अर्व ६ करोड ४७ लाख, पुँजीगत तर्फ १६ अर्व ७३ करोड ४६ लाख र वित्तिय व्यवस्थापन तर्फ २४ करोड बजेट विनियोजन गरिएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि सरकारले आगामी वर्षका लागि विनियोजन गरेको ३० अर्व ३ करोड ९४ लाखको बजेट मध्ये नेपाल सरकारबाट वित्तिय समानीकरण अनुदान ७ अर्व ४२ करोड पाएको छ ।

सशर्त अनुदान ४ अर्व १८ करोड, समपूरक अनुदान ८७ करोड, विशेष अनुदान ५४ करोड, राजश्व बाँडफाँट ७ अर्व ६२ करोड र रोयल्टीबाट ३० करोड पाउने अनुमान गरिएको छ । त्यसमा प्रदेशले ४ अर्व ९७ करोड आन्तरिक आम्दानीबाट व्यहोर्ने छ । यस वर्ष खर्च नहुने २ अर्व १० करोड पनि बजेटमा समावेश गरिएको छ । अपुग २ अर्व मध्ये आन्तरिक ऋण १ अर्व र नेपाल सरकारबाट १ अर्व ऋणबाट पूर्ति गरिने कृष्णचन्द्र नेपाली पोखरेलले बताए । बजेटमा सरकारले स्वास्थ्य कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकतामा राखेर बजेट ल्याएको छ ।

लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेश सरकारले ४० अर्ब ९५ करोड ९७ लाख बजेट सार्वजनिक गरेको छ । प्रदेश सरकारले मंगलबार प्रस्तुत गरेको बजेट अनुसार चालूतर्फ १४ अर्ब ९३ करोड ७३ लाख र पूँजीगततर्फ २१ अर्ब १७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पताललाई उच्च विशिष्टिकृत सुविधासहितको अस्पतालमा स्तरोन्नती गर्न २५ करोड रकम विनियोजन गरेको छ । आगामी वर्षको बजेट सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले लुम्बिनी प्रदेशका चार कोभिड उपचार अस्पताललाई प्रयाप्त बजेट विनियोजन गरिएको बताउनभयो ।

बजेट सार्वजनिक गर्दै मन्त्री चौधरीले डीपीआर सम्पन्न भएका अस्पतालालाई आगामी आर्थिक वर्षमा निर्माण सुरु गर्न आवश्यक बजेट विनियोजन गरेको बताउनुभयो । यस्तै, जिल्ला स्तरका सरकारी अस्पतालमा अक्सिजन प्लान्ट बनाउने, कोभिड बिरामीको निःशुल्क उपचार गर्ने र स्तरीकरणका लागि बजेट विनियोजन गरिएको मन्त्री चौधरीले जानकारी दिनुभयो । आर्थिक मामिला मन्त्री चौधरीले कोभिड–१९ को उपचारमा खटिने स्वास्थ्यकर्मीलाई सुरुको तलब स्केलमा ५० प्रतिशत प्रोत्साहन भत्ता दिने व्यवस्था मिलाएको पनि जानकारी दिनुभयो ।

कर्णाली प्रदेश
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि साढे ३६ अर्ब बराबरको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार बराबरको बजेट प्रदेश सभामा प्रस्तुत गरेका छन । पुँजीगततर्फ २१ अर्ब ६५ करोड ३९ लाख १३ हजार विनियोजन गरिएको छ भने चालुतर्फ ११ अर्ब ४९ करोड २७ लाख ७० हजार छुट्याइएको छ ।

यसैगरी वित्तीय हस्तान्तरणतर्फ तीन अर्ब ३९ करोड ९९ लाख ५३ हजार विनियोजन गरिएको छ । सरकारले आगामी वर्षका लागि चालु आर्थिक वर्षको भन्दा बढाएर बजेट ल्याएको हो ।

सुदुरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७८र७९ का लागि ३० अर्ब ३३ करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ । प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाशबहादुर शाहले मंगलबार प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्षका लागि ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजार रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो । चालुतर्फ १० अर्ब ६६ करोड ९० लाख तीन हजार रुपैयाँ र पुँजीगततर्फ १७ अर्ब ६५ करोड ४० लाख ५२ हजार रुपैयाँ विनियोजन गरिएको मन्त्री शाहले बताउनुभयो ।

भैपरी आउने खर्चका लागि एक अर्ब ७२ करोड ४५ लाख र वित्तीय व्यवस्थामा ३० करोड विनियोजन गरिएको छ । प्रदेश सरकारले आन्तरिक राजश्व परिचालनतर्फ एक अर्ब २२ करोड, नेपाल सरकारबाट वित्तीय हस्तान्तरणतर्फ सात अर्ब ९९ करोड ९१ लाख, रोयल्टी बाँडफाँडतर्फ तीन करोड ९२ लाख ६३ हजार र समानीकरण अनुदानतर्फ आठ अर्ब ५४ करोड ८० लाख ४० हजार विनियोजन गरेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6