Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : यी हुन बुधबारका प्रमुख ५ खबर

नेपाल अपडेट : यी हुन बुधबारका प्रमुख ५ खबर


काठमाडौं । राजनीतिक दाउपेच चलिरहेको नेपालमा प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । कोरोना विमाको रोकिएको भुक्तानी,युट्युबर पक्राउ लगायत बुधबारका प्रमुख ५ खबरहरु यस्ता छन् ।

माधवकुमार नेपाल अस्पताल भर्ना
ज्वरो र खोकीको समस्या देखिएपछि नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई बुधबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको छ । अध्यक्ष नेपालको स्वास्थ्य अवस्था सामान्य रहेको र केही दिन आरामसहित उपचार गर्नुपर्ने सल्लाह चिकित्सकहरुले दिएको उनको निजी सचिवालयले जानकारी दिएको छ । नेपालको उपचारमा त्रिवि शिक्षण अस्पतालका वरिष्ठ छाति रोग विशेषज्ञ डा.सन्तकुमार दाससहितको टोली संलग्न भएको बताइएको छ ।

प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक
प्रधानमन्त्री शेरबहादुर देउवाले संसदको गतिरोध अन्त्यको पहल गर्न सर्वदलीय बैठक बोलाउनुभएको छ । संघीय संसदमा जारी अवरोध अन्त्यको प्रयासमा प्रधानमन्त्री देउवाले बिहीबार १० बजे संसदमा भएका सबै दलको बैठक बोलाउनुभएको हो । संसदमा भएका दलहरुमध्ये कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सत्तारुढ गठबन्धनमै छन् । एमाले, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी र राप्रपा प्रतिपक्षीको भुमिकामा छन् । बिहीबारको सर्वदलीय बैठकमा संसदको अवरोध अन्त्य गर्ने विषयमा छलफल हुने आँकलन गरिएको छ । २३ भदौमा शुरु भएको संसदको चालु अधिवेशनमा प्रमुख विपक्षी नेकपा एमालेले नाराबाजी गर्दै आएको छ । आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेर सभामुखले दल विभाजनमा सहयोगी भूमिका खेलेको आरोप एमालेले लगाउँदैआएको छ । एमालेकै अवरोधका बीच सरकारले बजेट भने पास गराएको छ । प्रधानमन्त्री देउवाले बोलाएको बैठकमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली जाने नजाने निश्चित भएको छैन ।

कोरोना बिमा भुक्तानीको विकल्प खोज्न अर्थमन्त्री शर्माको आग्रह
कोरोना बिमा भुक्तानीमा देखिएको समस्या समाधानको पहल थर्न बिमा समितिलाई अर्थमन्त्री जनार्दन शर्माले निर्देशन दिनुभएको छ । अर्थमन्त्री शर्माले बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाललाई मन्त्रालय बोलाएर कोरोना बिमा भुक्तानी के–कसरी गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गर्न निर्देशन दिनुभएको हो । कोरोना बिमा भुक्तानीका लागि सरकारले समेत दायित्व वहन गर्नेगरि तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सहमति दिएको थियो । दायित्व बहन गर्दा ११ अर्ब रकम भुक्तानी दिनु पर्ने भन्दै अहिलेको सरकारले दायित्व बहन नगर्ने अडान लिदा बिमितहरुको भुक्तानी रोकिएको छ । बिमा कम्पनीहरुले भुक्तानी गर्न बाँकी कोरोना बिमाको सम्बन्धमा थप अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउन बिमा समितिलाई अर्थमन्त्रीले निर्देशन दिएसँगै समस्या समाधान हुने विश्वास गरिएको छ । सरकारले भुक्तानी नदिने अडान लिँदा बिमा कम्पनीहरुले १ लाख कोरोना संक्रमितको भुक्तानी रोकेका छन् ।

चार जना युट्युबर पक्राउ
युट्युब च्यानलमा महिलाको चरित्रहत्या गर्ने भिडियो तथा अन्तर्वार्ता प्रसारण गरेको आरोपमा प्रहरीले चार जना युट्युबरलाई पक्राउ गरेर अनुसन्धान प्रक्रिया अघि बढाएको छ । प्रहरीको साइबर ब्युरोको टोलीले दैनिक खबर युट्युब च्यानलका सञ्चालक, हरेक पलको खबर युट्युब च्यानलका र सराइचुली मिडिया युट्युब च्यानल, मोडर्न अनलाइन टीभी युट्युब च्यानलका सञ्चालकलाई पक्राउ गरेको हो । युट्युब च्यानलमार्फत पीडित महिलाको तस्वीरसहित चरित्रहत्या हुने गरी सामग्री प्रसारण गरेको उजुरी परेपछि पक्राउ गरिएको ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले बताउनुभयो । पक्राउ परेका चारै जनामाथि जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको ब्युरोले जानकारी दिएको छ ।

विमानमा देखिएको समस्याबारे अध्ययन छानबिन समिति बनाईयो
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न एअरलायन्सका विमानमा देखिएको समस्याबारे अध्ययन गर्न पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । मन्त्रालयले बुधवार विज्ञप्ति निकालेर नेपालको आकाशमा उड्ने दर्ता भएका राष्ट्रिय तथा अन्तराष्ट्रिय विमान र हेलिकप्टरको अवस्था परीक्षण गरी तीन महिनाभित्र प्रतिवेदन पेस गर्न छानबिन समितिलाई निर्देशन दिइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा गठित समितिमा क्यानका पूर्वनिर्देशक भेषराज सुवेदी, वरिष्ठ क्याप्टेन कृष्णबहादुर पौडेल क्षेत्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सि.ए.टि.सि.अ प्रमोद नेपाल, क्यानका प्रबन्धक लक्ष्मण देवकोटा रहनुभएको छ । यही असोज ११ गते काठमाडौंबाट ७७ यात्रु लिएर उडेको बुद्ध एअरको विमानमा खराबी देखिएको लगायत पछिल्लो समय विभिन्न कम्पनीका विमान र हेलिकप्टरमा प्राविधिक समस्या देखिएपछि समस्या समाधानमा सहयोग पुगोस् भन्ने उदेश्यले छानबिन समिति बनाएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले बताउनुभयो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6