अस्ट्रेलियामा पाँच वर्षमा ३८ प्रतिशतले बढ्यो गाडी चोरी
अस्ट्रेलियामा पछिल्लो पाँच वर्षमा सवारीसाधन चोरी हुने संख्या झन्डै ३८ प्रतिशतले बढेको छ।
अस्ट्रेलियन ब्युरो अफ स्टाटिस्टिक्सका अनुसार सन् २०२० मा देशभर करिब ४८ हजार सवारीसाधन चोरी भएका थिए। सन् २०२५ मा यो संख्या बढेर ६६ हजार ६२५ पुगेको छ।
राज्यगत रूपमा सबैभन्दा धेरै सवारी चोरी भिक्टोरियामा भएको छ। त्यहाँ करिब २५ हजार सवारी चोरी भएका छन्। न्यु साउथ वेल्समा १२ हजार ६ सयभन्दा बढी र क्विन्सल्यान्डमा १७ हजारभन्दा बढी सवारी चोरी भएका छन्।
सवारी चोरी रोक्न भिक्टोरिया प्रहरीले गाडीको सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेको छ। विशेषगरी आधुनिक गाडीमा प्रयोग हुने इलेक्ट्रोनिक चाबीको प्रणालीलाई चोरहरूले दुरूपयोग गर्न सक्ने भएकाले अतिरिक्त सुरक्षा उपकरण प्रयोग गर्न प्रहरीले सुझाव दिएको छ।
प्रहरीका अनुसार चोरहरूले इलेक्ट्रोनिक उपकरण प्रयोग गरी गाडीको ढोका खोल्ने र इन्जिन स्टार्ट गर्ने गरेका छन्। भिक्टोरियामा मात्रै एक वर्षमा १० हजारभन्दा बढी सवारी चोरीमा इलेक्ट्रोनिक उपकरण प्रयोग भएको पाइएको छ।
गाडी चोरी भइरहेको अवस्थामा चोरसँग प्रत्यक्ष भिड्न भने प्रहरीले चेतावनी दिएको छ। आफूलाई जोखिममा नराखी तत्काल प्रहरीलाई खबर गर्न आग्रह गरिएको छ।
त्यस्तै, गाडी चोरी भएमा तत्काल प्रहरी र आफ्नो बीमा कम्पनीलाई जानकारी दिन तथा गाडीभित्र महत्वपूर्ण सामान भए त्यसबारे पनि प्रहरीलाई बताउन प्रहरीले सुझाव दिएको छ।













तपाईको प्रतिक्रिया