Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : पढ्न छुटाउनुभयो कि यी प्रमुख ५ खबर

नेपाल अपडेट : पढ्न छुटाउनुभयो कि यी प्रमुख ५ खबर


काठमाडौं । मृत्यु भएका व्यक्तिमाथी जन्मकैदको फैशला, नेपालमा स्थानीय तहको निर्वाचनका लागी भैरहेको राजनीतिक दौडधुप, विद्यालयमा चलिरहेको कोरोनाविरुद्धको खोप अभियान, भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उडान तयारीसँगै श्रम क्षेत्रलाई व्यवस्थित गर्न मन्त्रीले थालेको पहल लगायतका नेपालमा चर्चा र महत्व पाएका प्रमुख ५ खबर यस्ता छन् ।

मृत्युपछि जन्मकैदकोे फैशला
भनिन्छ ढिला न्याय पाउनु न्याय नै नपाए जस्तै हो । हो, यस्तै भएको छ जिल्ला अदालत दैलेखमा, अदालतले मृत्यु भइसकेका व्यक्तिलाई जन्मकैदको फैसला सुनाएको छ । डुंगेश्वर गाउँपालिका–२ की २५ वर्षीया डिलकुमारी बिकको हत्या गरेको अभियोगमा कर्तव्य ज्यान मुद्दामा फरार रहेका डुंगेश्वर गाउँपालिका–१ बेलपाटाका शेरबहादुर बिष्टलाई अदालतले जन्मकैदको फैसला सुनाएको हो । अदालतले विष्टलाई जीवित छँदा गरेको अपराधको भागिदार ठहर गरेको भन्दै फैशला गरेको छ, अनि फैशलामै मृत्युसँगै अपराध मर्छ भन्ने फौजदारी न्यायको सर्वमान्य सिद्धान्तअनुसार सजाय असुल गर्न नपर्ने ठहर गरिएको छ । सजाय सुनाइएका विष्टमाथी २१ वर्षअघि २०५७ फागुन २६ गते बलात्कारपछि हत्या गरेको अभियोग लागेको थियो । २०७७ पुस ३ मा जिल्ला अदालतमा दर्ता भएको अभियोगमा मुद्दाको अनुसन्धान चलिरहेकै अवस्थामा विष्टको ७५ वर्षको उमेरमा गत जेठ २८ गते मृत्यु भएको थियो । अभियोग परेको भोलिपल्टदेखि नै फरार भएका विष्ट सिकिस्त बिरामी अवस्थामा ०७७ असोजदेखि सुर्खेतमा बस्दै आएका थिए ।

स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनबीच सहमति
सत्तारुढ दलबीच जेठ मशान्तभित्र स्थानीय तहको निर्वाचन गर्नेगरि सहमति जुटेको छ । शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले जेठ मशान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सुझाव दिने निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अब निर्वाचन आयोगसँगको परामर्शमा सरकारले स्थानीय तहको निर्वाचनको मिति तोक्ने जाकारि दिए । बैठकले स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गर्नुपर्ने भए त्यसको प्रक्रिया अघि बढाउन पनि सरकारलाई सुझाव दिएको छ । गठबन्धन दलभित्र स्थानीय तह निर्वाचनका विषयमा मत बाझिएपछि मिति तोक्ने बारे अन्यौलत देखिएको थियो । निर्वाचन आयोगले भने बैशाखमा निर्वाचन गर्नेगरि मिति तोक्न सुझाब दिदै आएको छ ।

शनिबारदेखी पाँच दिनसम्म विद्यार्थीलाई विद्यालयबाटै खोप
देशभरका विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन बन्द रहे पनि अहिले कोरोनाविरुद्धको खोप अभियान चलिरहेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले खोप लगाउन छुटेका १२ देखि १७ वर्ष उमेरका विद्यार्थीलाई १५ माघदेखि २० सम्म विद्यालयमै खोपको व्यवस्था गरेसँगै शनिबारबाट विद्यालयमा खोप अभियान जारि रहेको छ । काठमाडौँ महानगरपालिकासँगै देशभरका स्थानीय तहले विद्यालय खोप अभियान सञ्चालन भइरहेकाले खोप लगाउन छुटेका विद्यार्थीको विवरण अद्यावधि गरेर विद्यालय वा नजिकैको खोप केन्द्रमा खोप लगाउन आह्वान गरेका छन् । विद्यालयको पठनपाठन भने माघ मसान्तसम्म बन्द गरिएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारीमा
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आउँदो फागुन ९ गते ‘क्यालिब्रेशन फ्लाइट’ गर्ने गरी तयारी थालिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले शनिबार भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षणपश्चात मौसमले साथ दिएमा फागुन ९ गते क्यालिब्रेशन फ्लाइट र बुद्ध जयन्तीबाट अन्तर्राष्ट्रिय उडान सुचारु गरिने जानकारि दिनुभएको हो । हुस्सु, कुहिरो र भिजिबिलिटी कम लागेको बेला भने फ्लाइट गर्न नमिल्ने प्राविधिकले बताएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले एरोथाइको टिम काम सकेर मात्रै फर्किन्छ, त्यसपछि परीक्षण उडान नेपाल एयरलाइन्सको ३३० ले गर्ने बताउनुभयो । एरोथाइका नेपाल प्रतिनिधि विजेन्द्र श्रेष्ठले क्यालिब्रेशन फ्लाइटका लागि सफा मौसम अर्थात कम्तीमा पाँच किमी भिजिबिलिटी चाहिने भन्दै फ्रेबुअरी २१ मा भैरहवामा जहाज ल्याण्डिङ हुनेगरि तयारी गरिएको जानकारि दिनुभयो । भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा अहिलेसम्म आईसीपी वान र टु गरेर साढे सात अर्ब रुपैयाँ लगानी भएको छ ।

रोजगारिका समस्या समाधानका लागि श्रम आयोग गठनको तयारी
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले राष्ट्रिय श्रम आयोग गठन गरेर श्रम क्षेत्रको व्यवस्थापन गर्नुपर्ने बताउनुभएको छ । मन्त्री श्रेष्ठले रोजगारदाता र श्रमिकहरुबीचको सम्बन्धलाई सुमधुर बनाउन विद्यमान कानुन संशोधनका साथै राष्ट्रिय श्रम आयोग गठन गर्नेतर्फ आफू लागिपरेको बताउनुभएको हो । मन्त्री श्रेष्ठले अस्थायी, ज्यालादारी र करारमा रहेका कर्मचारीहरुको समस्या समाधान हुनेगरी उनीहरुको सामाजिक सुरक्षा कोषमा आबद्धताका लागि पनि आफूले काम गरिरहेको बताउनु भयो । ‘श्रम कानुनलाई समयानुकूल सुधार गरी सरकार, रोजगारदाता र ट्रेड युनियन श्रमिक बीचको सम्बन्ध सुमधुर बनाउने गरी मन्त्रीको रुपमा नियुक्त भएदेखि नै लागि परेको छु । राष्ट्रिय श्रम आयोग गठन गरी श्रम क्षेत्रको व्यवस्थापनलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर गम्भीर भएर लागेको छु ।’ मन्त्री श्रेष्ठले बताउनुभयो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6