Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसाउन २६ देखी ९६ हजार सैनिक संगठनको बागडोर बलाधिकृत रथी शर्माको काँधमा

साउन २६ देखी ९६ हजार सैनिक संगठनको बागडोर बलाधिकृत रथी शर्माको काँधमा


काठमाडौं । अब नेपाली सेनाको बागडोर बलाधिकृत रथी प्रभुराम शर्माको काँधमा आइपुग्दैछ । पहिलो एक महिना कायममुकायम सेनाप्रमुख र त्यसपछि प्रधानसेनापतिका रुपमा जंगी अड्डाको नेतृत्व शर्माले गर्न लागेका हुन् ।

बलाधिकृत रथी शर्मालाई साउन १२ गते सरकारले सैनिक ऐन, २०६३ को दफा ८ को उपदफा ३ अनुसार साउन २६ गतेदेखि लागू हुनेगरी नेपाली सेनाको कायम मुकायम प्रधान सेनापति सिफारिस गरेकोमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गनुृभएको हो । प्रधान सेनापति पूर्णचन्द्र थापाको तीन वर्षे कार्यकाल भदौ २४ बाट समाप्त हुने भएपनि उनी साउन २५ गतेबाट घर बिदामा बस्ने भएकाले कायम मुकायम प्रधानसेनापती तोकिएको हो । यसको एक महिनापछि शर्मा नै प्रधान सेनापति बन्नेछन् ।

क्रमभंग हुँदैछ सैनिक नेतृत्वको इतिहास
नेपाली सेनाको ४४औं प्रधानसेनापति बन्न लागेका प्रभुराम शर्मा सैनिक नेतृत्वमा पुगेपछि एउटा क्रमभंग हुँदैछ। उनी प्रधानसेनापति हुने ब्राह्मण समुदायका पहिलो व्यक्ति बन्नेछन् । सेना भन्नासाथ स्वाभाविक रुपमा ‘लडाकु जाति’ बुझिन्छ, जसअनुसार क्षेत्री, ठकुरी, राणा तथा जनजाति (मगर, गुरुङ आदि) नै नेतृत्वमा पुग्ने प्रचलन थियो । अब भने पहिलो पटक करिब ९६ हजार सैनिक संगठनको नेतृत्व शर्माले गर्दैछन् ।

को हुन प्रभुराम शर्मा ?
काठमाडौं सीतापाइला निवासी शर्माको मदर युनिट पुरानो गोरखगण हो । उनी २० बेसिकका अधिकृत हुन् । भारतको नेसनल डिफेन्स कलेजबाट उपरथीका लागि आवश्यक नेसनल डिफेन्स कोर्स गरेका शर्माले कम्पनी कमान्ड एन्ड स्टाफ कोर्स नेपाली सैनिक बार कलेजबाट गरेका छन् । यस्तै, शिवपुरीस्थित नेपाली कमान्ड एन्ड स्टाफ कलेजबाट स्टाफ अफिसर्स कोर्स गरेका शर्माले सेनाका बाहिनीपति हुँदै मध्यपृतनापतिको जिम्मेवारीसमेत निर्वाह गरेका छन् । उनीसँग बंगलादेशका सैन्य सहचारीसमेत भएको अनुभव छ । शर्मालाई सेनाभित्र म्यान इन एक्सनका रुपमा हेर्ने गरिन्छ । प्रधानसेनापति थापाजस्तो पब्लिक फिगरका रूपमा स्थापित नभइ शर्मा सेनाभन्दा बाहिर खासै चर्चा नभएका जर्नेलका रुपमा परिचित छन् । यद्यपी सेनाभित्र भने नेतृत्वमा पुग्नका लागि उनी सम्भवतः सबभन्दा धेरै ‘ग्रुमिङ’ पाएका सैन्य अधिकृत मानिन्छन् । नेपाली सेनाको सबैभन्दा जेठो पल्टन मानिने पुरानो गोरख गणमा भएका कारण करिब सात वर्ष पहिलेदेखि नै सेनापति बन्नेगरी उनले ‘ग्रुमिङ’ पाएका थिए । उनलाई ग्रुमिङ गर्ने तत्कालीन प्रधानसेतापति गौरवशमशेर जबरा पनि पुरानो गोरख गणकै पल्टने थिए।

जबराअघिका प्रधानसेनापति छत्रमानसिंह गुरुङको पालामा नै महासेनानी रतीन्द्र खत्रीको म्याद थप नभएपछि उनकै ब्याची शर्मा भावी प्रधानसेनापति बन्ने निश्चित बनेको थियो । गौरवशमशेरपछि प्रधानसेनापति बनेका राजेन्द्र क्षेत्रीका पालामा पनि शर्माले सैनिक नेतृत्वमा पुग्नेगरी ग्रुमिङ पाए। वर्तमान सेनापति पूर्णचन्द्र थापाको तीन वर्षे कार्यकालमा त उनी ‘कन्फर्म उत्तराधिकारी’ का रुपमा चर्चामा आए । सेनामा युद्धकार्य महानिर्देशनालय (डीजीएमओ)लाई प्रधानसेनापति बन्ने सबभन्दा महत्वपूर्ण खुड्किलो मानिन्छ। सैन्य अपरेसन र सैनिक गुप्तचर संयन्त्र यही महानिर्देशनालय अन्तर्गत रहन्छन्। अहिले भने सेनाभित्र सैनिक गुप्तचर महानिर्देशनालय नै स्थापना भएको छ। सामान्यतः प्रधानसेनापतिको लाइनमा रहेकाबाहेक अन्य जर्नेलले डीजीएमओ नेतृत्व गर्ने अवसर पाउँदैनन्। कतिपय त प्रधानसेनापति बन्नेले नै पनि यो अवसर पाउँदैनन्। छत्रमानसिंह गुरुङ, राजेन्द्र क्षेत्री र पूर्णचन्द्र थापाले प्रधानसेनापति बन्नुअघि यो महानिर्देशनालयको नेतृत्व गर्न पाएनन्। तर, शर्मा पूरा अवधि डीजीएमओ प्रमुख (महानिर्देशक) भएका छन् । शर्मा यस्ता ‘भाग्यमानी’ सैनिक अधिकृत हुन् जसले बलाधिकृत रथीमात्र होइन, बलाध्यक्ष रथीको समेत जिम्मेवारी सम्हालेका छन् ।

शर्माले सामना गर्नुपर्ने चुनौँती
प्रधानसेनापति थापाले आफ्नो कार्यकालमा भिजन २०३०, सेनाको सांगठनिक पुनर्संरचना, शान्ति सेनामा नेपाली सेनाको संख्या वृद्धि, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, काठमाडौं तराई दु्रत मार्ग अघि बढाएर बिदा लिँदै छन् । ‘सेनामा १ साउनदेखि लागू भएको तीन जोड एक कमान्डसहितको पुनर्संरचना कार्यान्वयन गर्ने तथा परिवर्तित अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा वातावरणमा राष्ट्रिय सुरक्षा मजबुत पार्न सरकारसँग समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने जिम्मेवारी अब शर्माको काँधमा आउनेछ । यति धेरै ग्रुमिङ पाएर, यति धेरै देखेर र काम गरेर आएको मान्छे सेनामा यसअघि चिफ बनेको छैन भनिदैगर्दा गुल्म र बटालियनसँगै बाहिनीपति, सैनिक सचिव, पृतनापति र डीजीएमओ महानिर्देशक हुँदा देखाएको क्षमता अब नेतृत्वमा बसेर देखाउने अवशर र चुनौती थपिएको छ ।

गौरवशमशेर जबरा प्रधानसेनापति हुँदा उनीसँग धेरै अपेक्षा गरिएको थियो। तर, उनले नै सेनामा नातावाद, कृपावाद र प्रतिशोधको भावनालाई बढाइदिए। आर्थिक उपार्जनको मोह थपिदिए। धेरैको बुझाइ छ, जबराले त्यो अपेक्षामा आफूलाई खरो उतार्नै सकेनन्। ‘गौरवकै चेला’ भनेर चिनिने शर्मासँग यसलाई पन्छाउनुपर्ने चुनौती पनि थपिएको छ । सेना भर्खरै नयाँ कमाण्ड संरचनामा गएकाले पनि उनलाई धेरै चुनौती छन्। जाँदाजाँदै प्रधानसेनापति थापाले सेनाको पृतना हेडक्वार्टरमा आधारित कमाण्ड संरचना खारेज गरेर ‘तीन जोर एक’ कमाण्ड संरचना लागू गराएका छन्। आठवटा पृतनाले हेर्ने जिम्मेवारी अब फरक खालका चारवटा कमाण्डले हेर्नेछन्। आफ्ना सिनियरको ‘भिजन’लाई लागू गरेर जान सहज छैन, त्यसलाई बदल्न त झन् तत्काल सम्भव देखिदैन ।

सेनाप्रमुख हुनासाथ निहित स्वार्थका निम्ति राजनीतिक नेतृत्वसँग साँठगाँठ गर्ने अभ्यास तोड्ने आँट, तत्परता र प्रयत्न भावी सेनापतिको अर्को चुनौती बन्नसक्छ । नयाँ सेनापतिको सबभन्दा ठूलो चुनौती भने सैन्य संगठनमा चुलिएको व्यापार र पैसाको मोह पन्छाउनु हो। त्यहीकारण पनि शर्माले सेनाको यस्तो छवि कसरी बदल्लान् भन्ने प्रश्न कायममुकायम प्रधानसेनापति हुँदादेखी नै खरो रुपमा उठ्नेछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6