Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो, अझै ३५ हजार सक्रिय संक्रमित

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो, अझै ३५ हजार सक्रिय संक्रमित


काठमाडौं । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । शुक्रबार थप २५ कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार १९ पुगेको हो ।

पछिल्लो २४ घण्टामा ३ हजार ७२९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या सात लाख ७७ हजार पाँच सय ८९ पुगेको छ । शुक्रबार एक हजार आठ सय ८५ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ६५ हजार पाँच सय ४८ पुगेको छ । नेपालमा अहिले ३४ हजार नौ सय ४२ जना कोरोनाका सक्रिय सङ्क्रमित छन् ।

नेपालमा मृत्युदर भारतमा भन्दा उच्च
चीनको वुहानबाट सुरु भएको कोभिड–१९ को संक्रमण नेपालमा पहिलोपटक २०७६ माघ १० (जनवरी २४) मा पुष्टि भएको थियो । २०७७ जेठ ३ मा सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया सुत्केरीको धुलिखेल अस्पतालमा पहिलो पटक कोरोना संक्रमणबाट मृत्यु भएको थियो । कोरोनाबाट एकै दिन सबैभन्दा धेरै जेठ ५ गते २ सय ४६ जनाको मृत्यु भएको सरकारी रेकर्ड छ ।

कोरोनाको पहिलो लहरका क्रममा २०७७ चैत १ सम्ममा ३ हजार १४ जनाले ज्यान गुमाएका थिए । त्यसयताको दोश्रो लहरमा ६ हजार ९ सय ८० जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ । अक्सिजनको हाहाकार, आईसियू बेडको अभावले पनि दोस्रो लहरमा धेरै जनाले ज्यान गुमाउन पुगेका छन् । पहिलो लहरबाट ३८ जना बालबालिकाको मृत्यु भएको छ भने दोस्रो लहरबाट ४३ जना बालबालिकाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोनाको मृत्युदर १.५ प्रतिशत रहेको छ । नेपालमा कोरोनाबाट मृत्यु हुने दर भुटान, भारत, माल्दिभ्स र श्रीलंकाको भन्दा बढी हो । भारतमा मृत्युदर १.३, भुटानमा ०.१, माल्दिभ्समा ०.३, श्रीलंकामा १.४ रहेको छ । त्यसैगरी अफगानिस्तानमा ४.६, बंगलादेशमा १.७ र पाकिस्तानमा १.४ रहेको छ ।

भूकम्पभन्दा कोरोना महामारिले बढीको मृत्यु
कोरोना संक्रमणबाट नेपालमा १४ महिनामा १० हजारको मृत्यु भइरहँदा यो संख्या २०७२ सालको भूकम्पले ज्यान गुमाउने भन्दापनि बढी हो । उक्त विनाशकारी भूकम्पबाट नेपालमा ८ हजार ५६७ जनाको मृत्यु भएको थियो । ६० वर्ष माथिका ज्यान गुमाउने ५ हजार ३८७ रहेका छन् । ०–९ वर्ष सम्मका ४५ जना, १० देखि १९ वर्षका ५० जना, २० देखि २९ उमेर समूहका ३०४ जना, ३० देखि ३९ का ८२८ जना, ४० देखि ४९ का १४३७ जना , ५० देखि ५९ का १९६१ जना र अज्ञात ७ जना रहेका स्वास्थ्य मन्त्रालयको तथ्यांक रहेको छ ।

संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी हालको तथ्यांकभन्दा मृत्यु हुनेको संख्या बढी हुन सक्ने बताउँछन् । अक्सिजन र औषधि दिँदा दिँदै पनि निश्चित प्रतिशतको मृत्यु हुन्छ त्यो घटाउन गाह्रो हुने दाबी गर्ने डा. अनुप यस्तो मृत्युबाट जोगाउन सजिलो उपाय संक्रमण नै हुन नदिने रहेको बताउँछन् । संक्रमितहरुको जति सक्दो पत्ता लगाउने, ट्रेसिङ तथा आइसोलेट र क्वारेन्टाइन गर्ने कुरामा बढी केन्द्रित हुनुपर्ने उनको जोड छ । भीडभाड कम गर्ने, सबैले उच्च गुणस्तरको मास्क लगाउने, जनस्वास्थ्यका मापदण्ड सबैले पालना गरुन् भनेर प्रोत्साहित गर्ने र खोप अभियानमा ध्यान दिए महामारी नियन्त्रणसँगै मृत्यु हुने जोखिम घटाउन सकिने जनस्वास्थ्यविद्हरुले बताउने गरेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6