Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeHealth-lifestyleनेपालका धरोहर संस्कृतिविद् सत्यमोहन जोशीको निधन, यस्तो छ उहाँको जिवनी !

नेपालका धरोहर संस्कृतिविद् सत्यमोहन जोशीको निधन, यस्तो छ उहाँको जिवनी !


काठमाडौं । संस्कृतिविद् एवम् शताब्दी पुरुष सत्यमोहन जोशीको १ सय ३ वर्षको उमेरमा निधन भएको छ । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारका क्रममा जोशीको बिहान निधन भएको हो ।

मुटु र प्रोष्टेटको समस्या भएका जोशीमा कमजोरी बढेपछि यही असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो । रगत परीक्षणको क्रममा जोशीमा डेंगु संक्रमण पुष्टि भएको थियो । अस्पताल बसाइको सुरुका दिनमा केही सुधार भएजस्तो देखिए पनि पछि स्वास्थ्य अवस्था गम्भीर बन्दै मृत्युको मुखमा पुग्नुभएको चिकित्सकहरुले बताएका छन् ।

वि.सं. १९७७ वैशाख ३० गते जन्मिएका उनी पाटन दरबार क्षेत्र नजिक बखुम्बहालमा बस्दै आउनुभएको थियो । संस्कृतिविद् जोशी २०१२ सालमा स्थापित मदन पुरस्कार २०१३ सालमा पहिलोपटक र तीनपटकसम्म पाउने एक मात्र व्यक्ति हुनुहुन्छ । जोशीका कृतिहरू ‘हाम्रो लोक संस्कृति’ ले २०१३ सालमा, ‘नेपाली राष्ट्रिय मुद्रा’ ले २०१७ सालमा र ‘कर्णाली लोक संस्कृति’ ले २०२८ सालमा मदन पुरस्कार प्राप्त गरेका थिए । उहाँको जन्म शताब्दीको अवसरमा नेपाल सरकारले एक हजार रुपैयाँको चाँदीको सिक्का र १० रुपैयाँको हुलाक टिकटसमेत प्रकाशित गरेको छ।

जोशी १०० वर्ष पुग्दा ललितपुर महानगरपालिकाले सार्वजनिक विदासमेत दिएको थियो । ललितपुर महानगरपालिकाको दोस्रो नगरसभाले जोशीलाई निःशुल्क गाडी र सुरक्षा उपलब्ध गराउने निर्णय गरेको थियो । २०७१ सालमा त्रिमूर्ति निकेतनले सत्यमोहन जोशीलाई ‘शताब्दी पुरुष’ सम्मान दिएको थियो । तत्कालीन उपप्रधानमन्त्री वामदेव गौतम र कानुनमन्त्री नरहरि आचार्यले संयुक्त रुपमा जोशीकै उचाइ बराबर पाँच फिट अग्लो सप्तनागजडित ताम्रपत्र र पाँच लाख नगदसहित शताब्दी पुरुष उपाधि प्रदान गर्नुभएको थियो । २०७० सालमा पद्मश्री साधनाबाट सम्मानित हुनुभएका जोशीलाई नेपाल सरकारले २०७९ को संविधान दिवसको अवसरमा ‘राष्ट्र गौरव’ मानपदवी प्रदान गर्ने निर्णय समेत गरेको थियो । जोशीले विगतमा राष्ट्रिय समाचार समिति र चिनियाँ रेडियोमा समेत आबद्ध भएर काम गर्नुभएको थियो ।

सत्यमोहनको जीवनी
बाबु शंकरराज जोशी र आमा राजकुमारीका सुपुत्रका रूपमा वि.सं. १९७७ साल वैशाखमा बखुम्बहाल, ललितपुरमा जन्मनुभएका सत्यमोहन जोशीले हाम्रो लोक संस्कृतिका लागि पहिलोपटक वि. सं.२०१३ सालमा, नेपाली राष्ट्रिय मुद्रा नामक ग्रन्थका लागि दोस्रोपटक वि.सं. २०१७ सालमा, र कर्णाली लोक संस्कृति नामक ग्रन्थको लागि उनले संयुक्त रूपमा तेस्रोपटक वि. सं. २०२८ सालमा मदन पुरस्कार प्राप्त गर्नुभएको छ । डा. सत्यमोहन जोशी नेपालका संस्कृतिविद हुनुहुन्छ । पिता शंकर जोशी र माता राजकुमारीको जोशीका जेठा छोरा जोशी साहित्यकार पनि हुन् । उहाँले त्रिचन्द्र कलेजबाट बि.ए.सम्म अध्ययन गर्नुभएको छ ।

वि. सं. २०१३ सालमा लोकसंस्कृतिमा मदन पुरस्कार प्राप्त गर्नुभएका जोशी वि. सं. २०१५ मा पुरातत्व र संस्कृति विभागका पहिलो निर्देशक बन्नुभएको थियो । २०१६ सालमा पाँचौँ शताब्दीदेखि बिसौँ शताब्दीसम्मको मुद्राको विस्तृत विवरण सहितको नेपाली मुद्रा नामक पुस्तक प्रकाशित गर्नुभएका जोशीले दोस्रोपटक मदन पुरस्कार हात पार्नुभयो। नेपाली भाषा, कला, संस्कृतिको संरक्षण, संस्कृतिको संरक्षण, सम्बर्धन र विकासमा लागि परेका हुनाले उहाँको योगदानको कदर स्वरूप जोशीलाई सुप्रबल गोर्खा दक्षिणबाहु विख्यात त्रिशक्ति पट्ट, आदिकवि भानुभक्त पुरस्कार, काठमाडौँ विश्व विद्यालयले विद्यावारिधीको मानार्थ उपाधी प्रदान गरेको छ।

नेपाल सरकारले पनि उज्ज्वल कीर्तिमान राष्ट्रदीपले सम्मानित गरेको छ । तीन पटकसम्म मदन पुरस्कार जित्न सफल हुनुभएका जोशीका प्रबन्ध तथा अनुसन्धानात्मक कृति नेपालीमा १०, नाटक पाँच, काव्य दुई र कथा सङ्ग्रह पाँच तथा नेवारी भाषामा गरी करिब ५० कृति प्रकाशित भइसकेका छन् । शताब्दी पुरुष सत्यमोहन जोशीले जीवनभर साहित्य, कलासंस्कृति र रङ्गमञ्चमा गरेका योगदानका विविध आयाम समेटेर कवि तथा लेखक अनिल पौडेलद्वारा लिखित ‘जुरेली दर्शन’ पुस्तक प्रकाशित छ । यस कृतिमा उहाँको जीवनी, भाषा, साहित्य, लोकसंस्कृति अन्वेषणलगायतका विषयहरू समेटिएका छन्।

नेपालका विभिन्न गाउँगाउँ गएर विरही गीत सङ्कलन गर्दै जाँदा उहाँले ‘लोक संस्कृति’ नामक पुस्तक लेख्नुभएको थियो । पछि गएर यही पुस्तकले २०१३ सालमा मदन पुरस्कार पायो। मदन पुरस्कार गुठीको स्थापनाकालमा नै उहाँले उक्त पुरस्कार प्राप्त गर्नुभयो । नेपालमा लिच्छवीकालदेखि आधुनिक नेपालसम्म प्रयोग भएका मुद्राहरूको खोज तलास गर्नुभयो र यही सेरोफेरोमा लेखिएको ‘नेपाल राष्ट्रिय मुद्रा’ नामक पुस्तकका लागि २०१७ मा उहाँले दोस्रोपटक मदन पुरस्कार पाउनुभयो । तेस्रोपटक २०२८ सालमा उनले ‘कर्णाली लोक संस्कृति’ पुस्तकका लागि मदन पुरस्कार पाउनुभयो । हालसम्म तीनपल्ट मदन पुरस्कार पाउने सत्यमोहन जोशी एक्ला व्यक्ति हुनुहुन्छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6