Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsतीन वर्षमा ११ लाखभन्दा धेरै युवाहरू नेपाल छाड्न बाध्य, यस्तो छ स्वदेश छाड्नुपर्ने कारण !

तीन वर्षमा ११ लाखभन्दा धेरै युवाहरू नेपाल छाड्न बाध्य, यस्तो छ स्वदेश छाड्नुपर्ने कारण !


काठमाडौं । तीन वर्षमा ११ लाखभन्दा धेरै युवाहरू नयाँ तथा पुनः श्रम स्वीकृति लिएर नेपालबाट विदेशिएको पाइएको छ। सरकारले सार्वजनिक गरेको नेपाल श्रम, आप्रवासन प्रतिवेदन २०२२ अनुसार तीन वर्षमा ११ लाख ६५ हजार १५१ जना वैदेशिक रोजगारमा पुगेका हुन्।

सरकारी प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७६/७७ मा तीन लाख ३९ हजार ९४४ जना पुरुष र २८ हजार ४२९ महिला गरी कुल तीन लाख ६८ हजार ३७३ जनाले नयाँ तथा पुनः श्रम स्वीकृति लिएका छन् । यस्तै, आर्थिक वर्ष २०७७/७८ मा एक लाख ५५ हजार २३३ पुरुष र ११ हजार ४५६ महिलाले श्रम स्वीकृति लिएका छन् । आर्थिक वर्ष २०७८/७९ मा पाँच लाख ८० हजार ९६१ पुरूष र ४९ हजार १२८ महिला विदेशिएको पाइएको छ । यसरी बाहिरिनेमा नयाँ श्रम स्वीकृति लिएर मात्रै ६ लाख ११ हजार ३३२ जना विदेशिएका छन् ।

नयाँ श्रम स्वीकृति लिएर विदेशिनेमा सबैभन्दा धेरै मधेश प्रदेशका रहेका छन्। प्रतिवेदन अनुसार मधेश प्रदेशबाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या समग्रमा २८ दशमलब ६८ प्रतिशत छन्। यस्तै प्रदेश १ बाट २० दशमलब २४ प्रतिशत, लुम्बिनी प्रदेशबाट १६ दशमलब ८२ प्रतिशत, बागमती प्रदेशबाट १५ दशमलब ४८ प्रतिशतले श्रम स्वीकृति लिएका छन्। यस्तै, गण्डकी प्रदेशबाट १२ दशमलब १९ प्रतिशत, कर्णाली प्रदेशबाट ३ दशमलब ८५ प्रतिशतले श्रम स्वीकृति लिएका छन्। सबैभन्दा कम सूदुरपश्चिम प्रदेशबाट २ दशमलब ७३ प्रतिशतले श्रम स्वीकृति लिएका छन्। जिल्लागत रूपमा हेर्दा धनुषा, सिराहा, झापा, मोरङ, सुनसरीबाट युवाहरू विदेशिने गरेको सरकारी तथ्यांकले देखाएको छ । पछिल्लो ३ वर्षको अवधिमा सबैभन्दा धेरै ४० प्रतिशत हाराहारी युवाहरू कतार पुगेका छन् । दोस्रो गन्तव्य मुलुक मलेसिया बनेको छ। यसपछि साउदी, युएई, र कुवेत पुगेका छन् । जापान, अफगानिस्तान, जोर्डन, माल्टा, टर्की लगायत मुलुकमा पुग्ने नेपालीको संख्या पनि बढ्दो क्रममा देखिएको छ ।

पछिल्लो समय मध्य र पूर्वी युरोपेली क्षेत्रका मुलुकहरू रोमनिया, क्रोएसिया, अल्बेनिया, पोल्याण्ड जस्ता मुलुकहरूमा जाने नेपालीहरुको संख्या समेत बढेको छ । पश्चिम एशियाली मुलुकहरूमा साइप्रस, टर्की पनि नयाँ गन्तव्यका रुपमा देखा परेका छन् । वैदेशिक रोजगारमा जाने सबैभन्दा ठूलो संख्या अदक्ष श्रमिकहरूको छ। पछिल्ला तीन आर्थिक वर्षको तथ्यांक हेर्दा पनि सबैभन्दा ५४ प्रतिशतभन्दा धेरै अदक्ष श्रमिकहरू नै विदेशिएका छन्।

श्रमशक्ति पलायन बारे के भन्छ त नेपाल सरकार ?
श्रम, रोजगार तथा सामजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले आप्रवासी श्रमिकहरूका सम्बन्धमा स–साना समस्या पनि केलाएर उनीहरूको हक अधिकार सुनिश्चित गर्नका लागि सरकार प्रयासरत रहेको बताउनुभयो । “हाम्रा युवाहरूले परदेशमा बगाएको पसिनाबाटै देश चलिरहको छ। उनीहरूको पीडामा मलम बन्न सरकार जिम्मेबार र गम्भिर बन्नुपर्छ ।” मन्त्री कुँबरले भन्नुभयो ।

ठूला दलका नेता र सरकारका कतिपय मन्त्रीहरुले स्वदेशमै रोजगारी सिर्जना गरेर श्रमशक्ति पलायन रोक्ने, आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने दाबी गरेपनि बैदेशिक रोजगारी नेपालीको रहर नभई बाध्यता बनिरहेको छ । नेपालबाट करिब ६० प्रतिशतको हाराहारिमा अदक्ष श्रमिक बाहिरिने गरेका कारण बैदेशिक रोजगारी क्षेत्रमा जोखिम समेत बढिरहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6