Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : पछिल्लो अपडेटका लागि पढ्नै पर्ने प्रमुख ५ खबरहरु

नेपाल अपडेट : पछिल्लो अपडेटका लागि पढ्नै पर्ने प्रमुख ५ खबरहरु


काठमाडौं । एमसीसीको किचलोसँगै नेपालमा सुरु भएको राजनीतिक कित्ताकाटको नयाँ कसरत, संसद बैठकमार्फत एमसीसीमाथी हुन लागेको छलफल, मधेश प्रदेसमा मिलेमतोमा भैरहेको तस्करी बारेको उजुरी, सशस्त्र प्रहरी बलका महानिरीक्षकविरुद्ध अख्तियारमा परेको उजुरी र चिटिक्क बन्दै गरेको नारायणहिटी दरबार संग्रहालय बारेका प्रमुख खबरहरु यस्ता छन् ।

एमसीसीको राजनीतिक किचलो, नयाँ गठबन्धनको कसरत
अमेरिकी सहयोग परियोजना (एमसीसी) पास गर्न सत्ता गठबन्धनबाटै असहयोग भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिपक्ष दल एमालेसँग सहकार्यको कसरतमा जुट्नुभएको छ । सत्ता गठबन्धनमा आबद्ध नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमसीसीको विपक्षमा उभिने निर्णय गरेसँगै एमसीसी पारित गर्न प्रधानमन्त्री देउवाले एमाले साथ खोज्दै भेटवार्तालाई तिब्रता दिनुभएको हो । प्रधानमन्त्री देउवाले एमालेसँग पटक–पटक वार्ता गर्दै आएपनि सहमति भने जुट्न सकेको छैन । एमसीसी परियोजनाले यही फागुन १६ गतेभित्र एमसीसी अनुमोदन गर्न दबाब दिँदै आएको छ । उक्त दबाबसँगै प्रधानमन्त्री देउवा सत्ता गठबन्धन टुटाएर भए पनि अनुमोदन गराउने आन्तरिक गृहकार्यमा जुट्दा सत्ता गठबन्धन टुट्ने देखिएको छ । कांग्रेस जसरी पनि एमसीसी संसदबाट पारित गर्ने अडानमा रहँदा सत्तारुढ दल माओवादी केन्द्र र नेकपा एस एमसीसीको विपक्षमा छन । जसपामा पनि एमसीसीबारे विवाद चरम उत्कर्षमा पुगेको छ । एमालेका नेताहरुले एमसीसीको विषयमा संसद्मा संवाद हुने वातावरण सिर्जना गर्न सभामुख अग्नि सापकोटाविरुद्ध महाअभियोग प्रस्ताव लगाउनुपर्ने आफूले कारबाही गरेका १४ सांसदलाई हटाउनुपर्ने सर्त राख्दैआएको छ ।

संसद बैठक आज, पारित होला त एमसीसी ?
अमेरिकी सहयोग परियोजना (एमसीसी)बारे छलफलका लागि आज दिउँसो १ बजे संसद बैठक बस्दैछ । दलहरुबीच एमसीसीको विषयमा सहमति नभएपछि बिहिबार बोलाइएको बैठक सरकारको आग्रहमा आज दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो । संसदमा छलफलको प्रक्रियामा रहेको एमसीसीमाथी मतविभाजनको माग गरेर सरकारलाई अल्पमतमा पार्नेगरि एमसीसी फेल गराउने रणनीतिमा माओवादी केन्द्र लागेको आँकलन गर्दै प्रधानमन्त्री देउवा संसद रोकेर थप रणनीतिमा जुटेका कारण बैठक स्थगित गरिएको थियो । एमसीसी संसदमा टेबल भएर छलफलको प्रक्रियामा रहँदा एमसीसी बिरुद्धको आन्दोलन भने सडकमा उग्र बन्दैछ ।

मधेस प्रदेशमा प्रहरीसँगको मिलेमतोमै तस्करी भएको उजुरी
प्रधानमन्त्री कार्यालयमा रहेको ‘हेलो सरकार’मा प्रहरीसँगकै मिलोमतोमा मधेस प्रदेशमा तस्करी भइरहेको किटानी गर्दै उजुरीको चाङ लागेको छ । प्रधानमन्त्री कार्यालय मातहत रहेको ‘हेलो सरकार’ १ महिनाभित्रमा दर्जनभन्दा बढी उजुरी परेका छन्, जसमा तस्करी हुने नाका र तस्करका नाम नै किटान गरिएका छन् । ‘हेलो सरकार’मा परेका उजुरीमा लेखिएको छ– ‘वीरगंजको मुख्य नाका इनर्वादेखि लिएर पर्साका ग्रामिण भेगमा रहेका नाकाहरू भिस्वा, अमरपट्टि, प्रसौनी भाठ्ठा, खेस्राहाबाट तस्करी भइरहेको छ । यो सबै प्रदेश प्रहरी, जिल्ला प्रहरी र स्थानीय प्रहरीको मिलोमतोमा भइरहेको छ । यसमाथि छानबिन होस् !’ बाराको मटिअर्वा, जोतपुर, बसतपुर, तिलकुवा, कचोरवा, गोलागंज, खजानी, पथलवाघाट, सिम्रौनगढ र क्वहीगोठबाट भएको तस्करी समेत उजुरीमा छ । हेलो सरकारमा मधेस प्रदेशका ८ वटै जिल्लामा भारतबाट खुलेआम तस्करी भइरहेको बताइएको छ । पर्सा, बारा, सर्लाही, धनुषा र महोत्तरीलाई तस्करीको हब भनिएको छ ।

सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालविरुद्धमा अनियमितताको उजुरी
सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालमाथी भ्रष्टाचार र चरम अनियमितताको उजुरी परेको छ । १६ वर्षमा इन्स्पेक्टरबाट डीएसपीमा बढुवा हुन लागेकाहरूलाई नियमित बढुवा नगरेर आईजीपी निकट मानिसहरुले आर्थिक चलखेल गरेको, पोशाख शीर्षकमा विनियोजित बजेट रकमान्तर गरेर र इन्धनको झुटो बिल बनाएर अनियमितता गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो । बढुवामा आर्थिक चलखेल गर्न संगठन भित्रबाट इन्स्पेक्टर नवराज गुरुङ र गणेश मल्ल तथा बाहिर नरेश भट्ट र सुमन अधिकारीलाई आईजीपीले नै प्रयोग गरेको उजुरकर्ताले दावी गरेका छन् । २०७८ चैत २७ मा अवकाशमा जान लागेका खनालले आर्थिक वर्ष २०७५–०७६ मा पोशाक शीर्षकमा विनियोजित रकम आर्थिक वर्षको अन्त्यमा विभिन्न शीर्षकमा रकमान्तर गरी दुरुपयोग गरेको, इन्धनको झुटो बिल बनाएर प्रत्येक आर्थिक वर्षमा ६ करोड भन्दा बढी इन्धन बापतको रकम हिनामिना गरी आर्थिक अनियमितता गरिएको, अन्य खरिदमा समेत अनियमितता गरिएको आरोप उजूरीमार्फत लगाइएको छ ।

चिटिक्क बनाइदै नारायणहिटी दरबार संग्रहालय
संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आलेले नारायणहिटी दरबार संग्रहालयलाई चिटिक्क पार्न निर्देशन दिएसँगै कर्मचारीहरु रङ रोगनदेखि चुहिएको मर्मत, लाइटिङ सिस्टम र बगैंचा सफाइको काममा जुटेका छन् । नारायणहिटी दरबार संग्रहालय गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका कार्यकारी निर्देशक डा. सुरेशसुरस श्रेष्ठले नारायणहिटी दरबार संग्रहालयको सरसफाइमा लगायत रोकिएका सबै काम शुरू भएको जानकारि दिनुभएको हो । बतास समूहलाई रेस्टुरेन्ट भाडामा दिँदा विवादमा मुछिएका तत्कालीन कार्यकारी निर्देशक दाहालको राजीनामापछि सरकारले अर्को व्यवस्था नभएसम्मको लागि जिम्मेवारी लिएका सहसचिव डा. श्रेष्ठले संग्रहालयलाई पूर्णरूपमा सफाइ गरी पर्यटकको आगमनलाई वृद्धि गर्ने लक्ष्य लिएको बताउनुभयो । भेषनारायण दाहालले राजीनामा दिएपछि समितिको जिम्मेवारी मन्त्रालयका सहसचिव डा. श्रेष्ठलाई दिइएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6